सामाजिक पहिचान र विविधता

भुवन पोख्रेल

नेपाली समाज बहुलतामा आधारित छ । बहुजाति, बहुभाषि, बहु संस्कृति नेपाली समाजको पहिचान हो । सामाजिक विविधता, अनेकतामा एकता नेपाली समाजका विशेषता हुन् । समाजमा बसोबास गर्ने प्रत्येक मानिसहरु एकअर्कोभन्दा फरक छन् । मानिसहरु शारीरिक, मानसिक, मनोवैज्ञानिक विशेषता पनि फरक हुन्छन् । यस्ता विविधतालाई वैयक्तिक भिन्नता भनिन्छ ।

मानिस सामाजिक प्राणी हो । सामाजिक जीवनयापन गर्ने क्रममा मानिसमा देखिने विभिन्न किसिमका भिन्नतालाई सामाजिक भिन्नता भनिन्छ । हाम्रो समाजमा जाति, धर्म, वर्ण, भाषा, सामाजिक मूल्यमान्यता, आर्थिक अवस्था, लैंगिक दृष्टिले मानिसहरु बिच भिन्नता छ । हाम्रो मुलुक नै विविधताको उदाहरण हो र यही विविधता नै नेपाली पहिचान हो । यो विविधता सिकाइको अवसर पनि हो । जाति, भाषा, धर्म आदि फरक–फरक भएर पनि एकअर्काप्रति सम्मान र आदर गर्दै मेलमिलापपूर्ण जीवनयापन गर्नु नेपाली समाजको विशेषता हो ।

वर्ण व्यवस्था प्राचिन हिन्दु समाजबाट विकास भएको हो । वेद, उपनिषद् तथा भागवत गीता नामक ग्रन्थमा वर्ण व्यवस्थासम्बन्धी विषय उल्लेख भएको पाइन्छ । त्यही शास्त्रहरुले उल्लेख गरेअनुसार समाजमा चार वर्ण हुन्छन् । ती हुन् ब्राहमण, क्षेत्रीय, वैश्य शुद्र । यी वर्णको समाजमा आ–आफ्नै भूमिका र दायित्व हुन्छन् । जस्तै शिक्षा दिने कर्मकाण्ड गराउने, राज्यलाई सही मार्ग निर्देशन गर्ने ब्राहमणको काम हो । राज्यको शासन सम्हाल्ने, युद्द गर्ने, न्याय दिने आदि क्षेत्रीय कर्म हुन् ।

कृषि, पशुपालन, व्यापार वैश्यका काम हुन् भने शारीरिक श्रम तथा माथिका तीन वर्णको सेवा गर्ने शुद्रको काम हो । शास्त्रहरुलदे वर्ण ातिका आधारमा निर्धारण हुने कुरा होइन, कर्मका आधारमा निर्धारण हुने कुरा हो भनेका छन् । वेद, उपनिषद्, भागवत गीता जस्ता शास्त्रले कुनै वर्णलाई ठुलो सानो भनेर विभाजित गरेका छैनन् तर मनुस्कृति भन्ने ग्रन्थले चाहीँ शुद्र वर्णलाई सानो भनेकाले हाम्रो समाजमा ठुलो सानो, छुत, अछुत परम्परा विकास भयो । यो एकदमै गलत परम्परा हो । उपनिषद्ले कुनै जात सानो या ठुलो हुँदैन भनेको छ । अतः सबै वर्णहरु उत्तिकै सम्मानित र महत्वपूर्ण छन् कसैप्रति विभेद गर्नु समाजिक अन्याय हुनेछ ।

समाजमा परापूर्वकालदेखि बस्दै आएका र आफ्नो छुट्टै किसिमको भाषा, संस्कृति र मूल्य मान्यता अवलम्बन गर्दै आएका समूह । समुदायलाई जाति भनिन्छ । जस्तै लिम्वु, मगर, तामाङ, गुरुङ, नेवार आदि । यस्ता जातिहरुको आफ्नो छुट्टै सांस्कृतिक पहिचान हुन्छ, आफ्नै परम्परागत भाषा, धर्म, संस्कृति वा रितिरिवाज हुन्छ, आफ्नै किसिमको सामाजिक संरचना हुन्छ, परापूर्वकालदेखि खास भौगोलिक भू–क्षेत्रमा बसोबास गरेका हुन्छन् । नेपालमा ५८ वटा यस्ता जातिहरु बसोबास गर्दछन् ।

जातीयता एक छाता अवधारणा हो । एउटै जातीयताभित्र अनेकौ जात हुनसक्छन् । लिम्वु एक जातीयता हो, यसभित्र अनेक थरीका लिम्वु जातहरु हुन्छन् । नेवार एक जातीयता हो, यसभित्र अनेकथरी जति हुन सक्छन् । यसरी बाहुन, क्षेत्री जातीयताभित्र पनि अनेक जात हुन सक्छन् । नेपालको इतिहासमा जयस्थितिमल्लले समाजलाई ६४ जातमा वर्गीकरण गरेका थिए । पृथ्वीनारायण शाहले चार वर्ण ३६ जातको फूलबारीको उपमा दिएर नेपाली समाजको चित्रण गरेका थिए ।

२०६८ सालको राष्ट्रिय जनगणनामा नेपालमा जम्मा १२५ वटा जातहरु पाइएको थियो । हाम्रो देशमा जातहरु धेरै छन् । यी अनगिन्ती जातहरुरुपी फूलको एउटै माला नेपालको पहिचान र सुन्दरता पनि हो । नेपालमाा पाइने कतिपय जातहरु राष्ट्रिय विकासको मूलधारमा समेनि पाएका छैनन् । कतिपयको राष्ट्रद्वारा उपलब्ध सेवासुविधामा पहुँच पुग्न सकेको छैन । कानुनले निषेध गरेको भए तापनि कतिपय जातिहरु अझै पनि जातीय विभेदको उत्पीडनमा छन् । यसले सामाजिक न्याय स्थापना गर्न आवाज उठाउनु पर्ने देखिन्छ ।

धर्म मानिसको आस्था हो । धर्म अध्यात्मिक मूल्यमान्यताको आधार हो । धर्म मानिसको पहिचानको विषय पनि हो । धर्मले मानिसलाई सत्मार्गको अवलम्बवन गर्न सहयोग गर्दछ । हाम्रो देश बहुधार्मिक देश हो । हिन्दु धर्मका प्रणेताहरुले तपस्या गरेको देश । बुद्ध जन्मिएको देश र किरात धर्मको सृष्टि र अभ्यास भएको देश । अतः हाम्रो देशमा हिन्दु, बौद्ध र किरात धर्म मान्ने मानिसहरको बाहुल्यता छ । यस बाहेयक इस्लाम, क्रिश्चियन, जैन जस्ता धर्महरुमा आस्था राख्ने जनसंख्या पनि उल्लेख छ ।

धर्म आफैमा खराब कुरा होइन तर धर्मभित्रका नराम्रा प्रथाहरु चलेका हुन सक्छन् । जस्तै बलिप्रथा, ईश्वरका नाममा शाहदत्त प्राप्त गर्ने कुरा, जातीय विभेदका कुरा आदि । यस बाहेयक कतिपय धार्मिक रितिरिवाजहरु अन्ध विश्वासमा आधारित हुन सक्छन् । एक धर्म र अर्को धर्म मान्ने मानिसहरुबिच वैमनस्यता सिर्जना गर्ने गतिविधि हुन सक्छन् । यस्ता कुराहरुले समाजलाई अद्योगगति तिर लैजान सक्छ ।

त्यसैले सचेत नागरिकले अन्धविश्वास र सामाजिक देश सिर्जना गर्ने क्रियाकलाप विरुद्ध आवाज उठाई शान्तिपूर्ण तरिकाले सामाजिक न्याय स्थापनामा सहयोग गर्नु आवश्यक छ । संसारका कुनै पनि यस्ता देश छैनन् जहाँ सबै मानिसको आर्थिक हैसियत एकै किसिमको होस् । हाम्रो मुलुकमा पनि आर्थिक सक्षमता या विविधता छ । हाम्रो देशमा आर्थिक दृष्टिले सामान्यता छ वर्गहरु छन् भनिन्छ । ती हुन् सम्रान्त वर्ग, उच्च वर्ग, मध्यम वर्ग, निम्न मध्यम वर्ग, विपन्न वर्ग र अति विपन्न वर्ग । अन्य किसिमको विविधताभन्दा शैक्षिक दृष्टिले आर्थिक विविधता महत्वपूर्ण छ ।

सम्म्रान्त वर्गहरुले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अवसर पाउँछन् । उच्च वर्गले देशभित्र वा बाहिरको राम्रो गुणस्तरको शिक्षाको अवसर पाउँछन् । विपन्न वर्गले कम गुणस्तरको शिक्षाको मात्र अवसर पाउँछन् भने अति विपन्न वर्गको त्यही कम गुणस्तरको शिक्षामा पनि पहुँच नपुग्न सक्छ । यस प्रकार जोसँग शिक्षामा लगानी गर्ने सामथ्र्यता छ । उसले उच्चकोटीको शिक्षाको अवसर पाउँछ भने लगानीको क्षमता कम भएकाले कम गुणस्तरको शिक्षाको अवसर पाउँछ ।

शक्तिमा विविधता देखिन्छ । समाजमा मानिसले आर्जन गरेको शक्तिका आधारमा पनि विविधता रहेको देखिन्छ । शक्ति आर्जन गर्ने स्रोत विविध हुनसक्छन् । कसैले राजनीतिद्वारा कसैले सामाजिक प्रतिष्ठाद्वारा, कसैले आफ्नो कुल परम्पराद्वारा, कसैले शिक्षाद्वारा, कसैले आफूमा निहित विशेष क्षमताद्वारा, कसैले कानुनद्वारा शक्ति आर्जन गरेका हुन्छन् । समाजमा ती शक्तिशालीहरुले शक्तिहिन माथि शासन गर्दछन् । जस्तै समानस्तरका साथीहरुमध्ये कुनै एक साथी निर्वाचनमा विजय प्राप्त गरी प्रधानमन्त्री वा मन्त्री भयो भने उसले शक्ति आर्जन गरी शासन गर्दछ । शक्तिमा पुग्नेले राज्यद्वारा प्रदत्त सेवा सुविधा सहजै प्राप्त गर्न सक्छ । शक्तिशालीले विभिन्न रुपमा कम शक्तिशाली माथि शासन गर्छ र त्यहाँ शासक शासित वर्ग निर्माण हुन्छ । यस्तो शक्ति आर्जन गर्ने मुख्य कडी नै शिक्षा हो ।

विविधताको अर्को स्वरुप लैंगिक आधारमा हुने विविधता हो । हाम्रो समाजमा लैंगिक भिन्नता छ । जुन भिन्नता प्राकृतिक होइन । समाजले सिर्जना गरेको हो । समाजले सिर्जना गरेका विभेद नै लैंगिक विभेद हो । हाम्रो समाजमा परापूर्वकालदेखि नै लैंगिक विभेदको अवस्था थियो । पुरुषलाई उच्च मान्ने, नारीलाई नीच मान्ने परम्पराले नारीहरुको सामाजिक प्रतिष्ठा कम हुँदै गयो । हुनत कतिपय हिन्दु धर्म ग्रन्थहरुले नारीलाई उच्च सम्मान प्रदान गरेका छन् । नारी शक्तिको सहयोगद्वारा मात्र ठुला–ठुला साहसिक कार्य (युद्ध) सम्पन्न भएका छन्

नारी पुजनीय र सम्मानित छन् भनिएको छ तर हाम्रो समाजमा चाही नारीहरुलाई हिन मान्ने परम्परा विकास भयो । लैंगिक विभेदका कारण महिला तथा तेस्रो लिंगिहरु सामाजिक अन्यायमा परेका छन् । महिलाहरु घरेलु हिंसा र सामाजिक हिंसाको सिकार भइरहेका छन् । तेस्रो लिंगीहरु उपहासको पात्र भएका छन् । वास्तवमा प्राकृतिक लिंग भेद स्वभाविक छ तर सामाजिक लैंगिक भेद अस्वभाविक छ । अतः लैंगिक विभेदले समाजलाई गलत मार्गतर्फ लगिरहेको छ । यसको न्यूनीकरणका लागि शिक्षा नै सबैभन्दा बढी प्रभावकारी उपाय हो ।

पेसागत विविधता पनि अर्को सामाजिक विविधताभित्र पर्दछ । जुनसुकै समाजमा पनि विभिन्न पेसाको अवलम्वन गर्ने मानिसहरु हुन्छन् । त्यो विविधताद्वारा नै समाज सञ्चालन भएको हुन्छ । जस्तै कृषि कार्य गर्ने, पशुपालन गर्ने, व्यापार गर्ने, शिक्षण गर्ने, औषधी उपचार गर्ने, निर्माण सम्बन्धी काम गर्ने आदि । हाम्रा पुराना शास्त्रहरुले कुनै पेसालाई उत्तम र कुनै पेसालाई नीच भनेका थिएनन् तर हाम्रो समाज र सांस्कृति परम्परामा कुनै पेसालाई अति उत्तम र कुनैलाई निकृष्ट मान्न थालियो । हाल कृषि पेसालाई उपेक्षित ठानिएकाले हाम्रो परनिर्भरता बढेको छ । यसले केवल अर्थतन्त्रमा मात्र होइन शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि प्रभाव पारेको हुन्छ । शिक्षा प्रणालीले कृषि पेसालाई सम्मानित पेसाको रुपमा परिवर्तन गरी राष्ट्रिय विकासमा मद्दत गर्नसक्छ ।

नेपालमा भौगोलिक विविधता छ । हाम्रो देश संसारको यस्तो देश हो, जहाँ संसारका सबै महादेशका भौगोलिक र वातावरणीय विशेषताहरु छन् । हाम्रो देशको प्राकृति बनोट, हिमाल, पहाड, चुरे र तराईका भू–भागहरु मिलेर बनेको छ । यी अलग–अलग, भू–क्षेत्रको वातावरणमा भिन्नता छ । कुनै खास क्षेत्रमा कुनै आस जात जातिहरुको बाहुल्यता छ । प्राकृतिक स्रोत साधनमा विविधता छ । ती फरक–फरक क्षेत्रमा बसोबास गर्ने मानिसका आवश्यकताहरुको स्वरुप पनि फरक छ । सांस्कृतिक परम्पराहरु फरक छन् । यी फरकपनालाई शिक्षाले सम्बोधन गर्न सक्यो भने मात्र सामाजिक न्यायको प्रवद्र्धन हुने देखिन्छ । सहरमा बस्ने जनसंख्याभन्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसंख्याको प्रतिशत धेरै छ तर सुविधा भने सहरमा केन्द्रित छन् । यसरी आवासीय विविधताले पनि सामाजिक न्यायमा असर परेको देखिन्छ ।

भाषिक विविधता पनि विविधताको अर्को स्वरुप हो । प्रायः सबै जातजातिका आ–आफ्नै भाषाहरु छन् । केही भाषाहरु लोप हुने खतरमा पनि छन् । सामाजिक न्यायका दृष्टिले आफ्नै मातृभाषामा आधारभूत शिक्षा लिन पाउनु अधिकार हो । राज्यले लोप हुन लागेका भाषाहरुको संरक्षणमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । सामाजिक न्यायको विषयमा प्राचिनकालदेखि नै चासो राखेको पाइन्छ । अन्याय नगर्नु, न्याय गर्नु, धर्म गर्नु, असल कर्म गर्नु जस्ता उपदेशात्मक वाक्य आज निर्माण भएका होइनन् तर पनि यी उपदेशात्मक शिक्षा आज पनि उत्तिकै सान्दर्भिक देखिन्छन् ।

सामाजिक न्याय प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरु भएका छन् । मानव अधिकार, बाल अधिकार, श्रमिक अधिकार, महिला अधिकार सम्बन्धी अन्तर्रासष्ट्रय रुपमा सन्धी तथा सम्मेलनहरु भएका छन् । हाम्रो राष्ट्रले ती सन्धिहरुको अनुमोदन गरी त्यसै अनुसारको नियम कानुन निर्माण गरी कार्यान्वयन गरेको छ । विविधता नेपाली पहिचान हो । अनेकतामा एकता सांस्कृतिक विविधता नेपाली समाजको विशेषता हो । विविधताभित्र आर्थिक विविधता, भाषिक विविधता, शक्तिमा विविधता, जातीय विविधता, पेसागत विविधता, लैंगिक विविधता, धर्ममा विविधता नेपाली समाजको पहिचान हो ।

सामन्ती, निरकुंश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै वर्गीय, क्षेत्रीय, भाषिका धार्मिक र लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागीतामूलक सिद्धान्तका आधारमा समातामूलक समाजको निर्माण गर्ने । उल्लिखित सबै कथनले सामाजिक न्यायको वकालत गरेको देखिन्छ ।

नेपालको संविधान २०७२ को धारा ४२ मा सामाजिक न्यायको हक उल्लेख गरिएको छ । आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिबासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सिमान्तकृत अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई निकायमा सहभागिताको हक हुनेछ भनी उल्लेख गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा ४३ मा सामाजिक सुरक्षाको हक निम्न छ । आर्थिक रुपले विपन्न अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिक सामाजिक सुरक्षाको हक हुनेछ । समाजमा बसोबास गर्ने प्रत्येक मानिसहरु एकअर्कोभन्दा फरक छन् । मानिसहरु शारीरिक, मानसिक, दृष्टिले फरक हुन्छन् । सामाजिक विविधता राष्ट्रिय पहिचान हो र सिकाइको अवसर पनि हो ।

धार्मिक सहिष्णुता नेपालमा अद्धितीय छ । हिन्दु, बौद्ध, इस्लाम, किरता र अन्य विभिन्न धर्मका मानिसहरुले आपसी सद्भावमा मिलेर चाडपर्व मनाउँछन् । पशुपतिनाथको मन्दिरदेखि स्वयम्भू स्तूप र लुम्बिनीको माया गर्ने हृदयमा हामी सबैको आस्था र विश्वास सँगसँगै चल्छ । सांस्कृतिक विविधता हाम्रो जीवनको अभिन्न अंग हो । हामी दशैँमा टिका लगाउँछौ, तिहारमा देउसी भैलो खेल्छौ, ल्होसारमा नाँच, गान गर्छौँ, छठमा सूर्यदेवताको पूजा गर्दछौँ । यी सबै पर्वहरुले हामीलाई एकताको डोरीमा बाँधेको छ । भौगोलिक विविधता पनि विशिष्ट विशेषता हो, हिमालको काखमा विश्वको सर्वोच्च शिखर सगरमाथा छ भने तराईका फाटहरुले मुलुकमा खाद्य सुरक्षा प्रदान गरेका छन् । विविधतालाई सम्मान गरौ, यो समाजको एकता, समृद्धि र विकासको बलियो आधार हो ।