Goraksha

National Daily

खुमबहादुर स्मृति भलिबललाई राष्ट्रिय स्तरको प्रतियोगितामा लैजाने तयारीमा छौँ : संयोजक आचार्य[अन्तर्वार्ता]

मङ्गलवारदेखि खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । यस अघिसम्म जिल्लास्तरमै सीमित रहेको यो प्रतियोगिता यो वर्षदेखि प्रदेशस्तरीय भइरहेको छ । प्रतियोगितामा दाङ लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका क्लवको पनि सहभागिता रहेको छ ।

विकासप्रेमी एवम् सामाजिक अभियन्ता समेत रहेका नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा हुन थालेको प्रतियोगिताको आकर्षण हरेक वर्ष बढ्दै गएपछि आयोजकले यो प्रतियोगितालाई प्रदेशस्तरीय बनाएको छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत सहभागि हुन पाउने छन् ।

उनीहरुको आवद्धता विभिन्न क्लवमार्फत् हुने छ । प्रतियोगिताको उद्देश्य र औचित्यका विषयमा केन्द्रित रहेर खुमबहादुर स्मृति समाज विकास समितिका संयोजक तथा प्रतियोगिता संयोजक नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्यसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

 तपार्ईलार्ई स्वागत छ गोरक्ष सातावार्तामा ।

 फेरि पनि धन्यवाद तपाई अनि तपाईको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलार्ई । खेलकुद क्षेत्रलार्ई महत्व दिएर यो प्रतियोगिताका विषयमा केही कुरा राख्न आमन्त्रण गर्नुभएकोमा ।

 सुरुवातीमा यो प्रतियोगिता दाङ जिल्लाका पालिकास्तरमा मात्र सीमिति थियो, यो वर्ष प्रदेशस्तरीय बनाउनु भएको छ । किन पालिका प्रतियोगितामा उत्साहित बनेनन् ?

 होइन, त्यसो होइन । हामीले त प्रतियोगितालार्ई राष्ट्रियस्तरसम्मै लैजाने प्रयासमा छाँै । यो पटक पनि हामीले जिल्लाका सबै पालिकाहरूलार्ई आमन्त्रण गरेका थियौँ तर प्रतियोगिताको नर्मस अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलेका खेलाडी पनि हायर गर्न सकिने प्राब्धान भएकाले सबै पालिका त्यसमा सहभागि हुन तयार भएनन्, त्यसैले पनि हामीले लुम्बिनी प्रदेशभरका क्लवसँग समन्वय गरेर यो प्रतियोगिता यो वर्ष फरक ढंगले सम्पन्न गर्दै पनि छौँ । यो प्रतियोगिता गत वर्षभन्दा थप रोचक र थप उल्लासमय हुने पनि हामीले अपेक्षा गरेका छौँ । हामीलार्ई लाग्छ, यो उत्साहले हामीलार्ई आगामी दिनमा यो प्रतियोगितालार्ई राष्ट्रियस्तरकै प्रतियोगिता आयोजना गर्न हौस्याएको पनि छ ।

 प्रतियोगितामा सहभागिता र पुरस्कारका विषयमा पनि केही जानकारी गराइदिनुस् न ?

 जिल्लामा खेलकुद क्षेत्रको विकास, सामाजिक विकाससँगै नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट ८ वटा टिमको सहभागिता भइसकेको छ ।

प्रतियोगितामा राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिकासँगै, मनिमुकुन्द भलिबल क्लव रूपन्देही, होराइजन स्पोट्र्स क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लव घोराही र रोयल मुर्कुटी युवा क्लव बंगलाचुलीको टिम सहभागी हुने छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रूपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरी दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । खेलकुद क्षेत्रको विकाससँगै सामाजिक कार्य सञ्चालन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङले विगत चार वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको पनि मैले यहाँहरूलार्ई जानकारी गराउन चाहन्छु । यतिबेला घोराहीस्थित जिल्ला समन्वय समिति परिसरको सहिद मञ्च खेल क्षेत्रको रंगमञ्च जस्तै छ ।

 पार्टीले त राजनीति गर्ने हो, तर अहिले प्रदेशस्तरीय भलिबल प्रतियोगिता नै आयोजना गर्नुको उद्देश्य के हो नि ?

 राजनीतिमा हरेक क्षेत्र जोडिएका हुन्छन् । राजनीतिमा शिक्षा जोडिएको हुन्छ, स्वास्थ्य जोडिएको हुन्छ, खेलकुद पनि जोडिएको हुन्छ, समाजसेवा जोडिएको हुन्छ । अर्थात् सबै क्षेत्रको गाइडलाईन राजनीति हो । अर्को कुरा हामीले आदरणीय स्वर्गीय नेता खुमबहादुर खड्काको स्मृतिमा एउटा संस्था समेत गठन गरेर यी सामाजिक अभियान सञ्चालन गरिरहेका छौँ ।

स्वर्गीय नेता खड्काको खेलप्रेम पनि त्यसको उपज हो । खासगरी खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा राज्यको ध्यानाकर्षण हुन नसकेको हामीले पायौँ । यसमा मुलुकको लिडिङ राजनीतिक दलका हिसाबले नेपाली कांग्रेस पार्टीले पनि यो क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने जिल्ला पार्टी कमिटीको निर्णय भयो । यसै अनुरूप जिल्लाका विकासप्रेमी नेता मात्र नभएर एउटा सामाजिक अभियन्ता र खेल क्षेत्रलार्र्र्ई माया गर्ने हाम्रा आदरणीय नेता खुमबहादुर खड्काको स्मृतिमा यो प्रतियोगिता सुरुवात गर्ने निधो भएसँगै हामीले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दे आएका छौँ ।

किनकि खेल क्षेत्र एउटा राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्र हो । खेल अनुशासनसँग जोडिएको विषय हो, अनि खेल मानव स्वस्थ्यसँग पनि जोडिएको विषय भएकाले हामीले यो प्रतियोगितालार्र्ई निरन्तरता दिँदै आएका छौँ । खासमा प्रतियोगिता नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको भए पनि यो समस्त खेलप्रेमीको प्रतियोगिता हो । यो प्रतियोगिता सम्पूर्ण पार्टी शुभचिन्तकको साझा प्रतियोगिता पनि हो भन्ने कुरा पनि मैले यसै पत्रिकामार्फत् आम पाठकलार्र्ई जानकारी गराउन चाहन्छु ।

 यो प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताको सम्पूर्ण आर्थिक व्यावस्थापनका विषयमा पनि केही बताइदिनुस् न ?

 यो सम्भवतः लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो धनराशी भएको भलिबल प्रतियोगिता पनि हो । यो प्रतियोगिता सम्पन्न गर्नका लागि कम्तिमा दश लाख रूपैयाँ खर्च हुने गरी हामीले आर्थिक व्यवस्थापन गरेका छौँ । प्रतियोगिताको आयोजनाका लागि पार्टीका नेतृत्व, पार्टी शुभचिन्तक, विभिन्न संघसंस्था, खेलप्रेमी नागरिकले सहयोग गर्दै आउनुभएको छ । त्यसैगरी सहभागि टिमबाट पनि केही प्रवेश शुल्क लिने गरिएको छ । हामी प्रतियोगिताको चौथो संस्करणमा आइरहँदा यो जिल्ला स्तरीय प्रतियोगितामा सहभागि खेलाडीले प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएर पुरस्कृत पनि भएका छन् ।

जिल्लाले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनु भनेको एउटा कांग्रेस पार्टीको गौरवको विषय मात्र नभएर समग्र दाङ जिल्लाका खेलप्रेमीको गौरवको विषय पनि हो । प्रतियोगितामा जित हार एउटा पक्ष हो भने अर्को महत्वपूर्ण पक्ष त सिकाई नै हो । यो अर्थमा खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता एउटा खेलकुद प्रशिक्षण पनि हो । यो प्रतियोगिताले मुलुकका तीनै तहका सरकारलार्र्ई खेल क्षेत्रमा अर्थपूर्ण लगानी गर्न सकोस् भनेर पनि यो प्रतियोगिता आयोजना गरिएको हो ।

 प्रतियोगिता अहिले चौथो संस्करणका रूपमा चल्दैछ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

 प्रतियोगिताका बारेमा उत्साहजनक प्रतिक्रिया आइरहेका छन् । हामीले सुरु गर्दा लुम्बिनी प्रदेशकै सबैभन्दा धेरै राशीको भलिबल प्रतियोगिता थियो । अहिले अन्य जिल्लामा राष्ट्रिय भलिवलका प्रतियोगिता हुन थालेका छन् । त्यही भएर हामीले अहिले लुम्बिनी प्रदेशस्तरीय सबैभन्दा ठुलो राशीको प्रतियोगिता भनेका छौँ । प्रतियोगिताले राष्ट्रिय खेलाडीलाई दाङ झारेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीसँग दाङका नयाँ प्रतिभावान खेलाडी खेल्न पाउँदा उत्साहित छन् ।

प्रतियोगितामा राष्ट्रिय टिमसँगै नेपाल आर्मी, पुलिसलगायतका विभागीय टिमसँगै विभिन्न प्रदेशबाट खेल्ने खेलाडी आउँदा पक्कै पनि खेलको ओज बढाउने काम गरेको छ । खेल हेर्ने दर्शकमा पनि उत्साह थपिएको छ, खेलले जिल्लामा उत्साह थप्ने काम गरेको छ । पालिकास्तरमा भइरहेको प्रतियोगितालाई लुम्बिनी प्रदेशस्तरीय मात्र होइन, राष्ट्रिय प्रतियोगिताका रूपमा विकास गर्नुपर्छ । प्रतियोगिताको राशी बढाएर धेरैभन्दा धेरै टिम सहभागी बनाउनेदेखि प्रतियोगितालाई राष्ट्रव्यापी बनाउनुपर्छ भन्ने सुभेच्छा प्रकट गर्नुभएको छ । खेलाडीको उत्साह र आर्थिक स्रोतको व्यवस्थापन गर्न सकेको खण्डमा हामीले पनि प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउने सोचेका छौँ ।

 अन्त्यमा आम पाठक एवम् खेलप्रेमीलार्ई केही भन्न चाहनुहुन्छ कि ?

 खेल क्षेत्र एउटा राष्ट्रिय पहिचानको विषय हो । राष्ट्रिय गौरवको विषय पनि हो । खेल मानव स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । त्यसैले खेल क्षेत्रको विकासमा राज्यका हरेक निकाय समाहित हुनुपर्दछ भन्न पनि चाहन्छु । अर्को कुरा पनि थप्न चाहन्छु कि दाङ जिल्ला खेलकुद क्षेत्रकै उर्वरभूमि पनि हो ।

दाङ जिल्लाको खेलकुद क्षेत्रमा बेग्लै इतिहास छ । भलिबल प्रतियोगिता मात्र नभएर यहाँ क्रिकेटका खेलाडी पनि उत्कृष्ठ छन् । तोक्वान्दो र करातेका खेलाडी छन् । बाह्रौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकै कारण हामीले बेलझुण्डीमा अन्तर्राष्ट्रिय स्तरको सेन्थेटिक ट्र¥याकसहितको खेलमैदान पाएका छौँ । लमहीमा त्यस्तै स्तरको क्रिकेट मैदान पनि पाएका छौँ । यी खेल पूर्वाधारको भरपुर सदुपयोग गर्दै त्यहाँ नियमित खेल अभ्यासको व्यवस्थापनमा पनि जिल्ला खेलकुद विकास समिति लाग्नुपर्छ भन्न चाहन्छु । खेलकुद विकास समितिमा विभिन्न विधाका खेल प्रशिक्षक हुनु हुन्छ ।

उहाँहरूले पनि नियमित रूपमा खेल प्रशिक्षण चलाएर जिल्लाबाट हरेक विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन सक्ने खेलाडी उत्पादन गर्नतर्फ अग्रसर हुनु आवश्यक छ भन्न चाहन्छु । साथै यो चौथो खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगितालार्ई सभ्य एवम् भव्य रूपमा सम्पन्न गर्न सबैमा हार्दिक आग्रह पनि गर्न चाहन्छु ।