कर वृद्धिको विरोधमा धर्ना
गोरक्ष समाचारदाता
दाङ, २१ फागुन । घोराही उपमहानगरपालिकाले वृद्धि गरेको करको विरोधमा शान्तिपूर्ण रूपमा उपमहानगरपालिकामा धर्ना दिएका छन् । मङ्गलवार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना दिइएको हो । उपमहानगरपालिकाले गरेको कर वृद्धि तथा फोहर व्यवस्थापनको निजीकरण विरुद्ध ‘हाम्रो दाङ हाम्रो जिम्मेवारी अभियान’ ले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेको हो ।
अभियानले ‘समृद्ध दाङ, हाम्रो अभियान’ नाराका साथ मङ्गलवार बिहान ११ बजेदेखि उपमहानगरपालिकाको परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रमको आयोजना गरेको हो । घोराही उपमहानगरपालिकाको अन्यायपूर्ण कर वृद्धि र फोहर व्यवस्थापनको निजीकरणविरुद्ध शान्तिपूर्ण खबरदारी थालिएको अभियानका संयोजक प्रदीप मजगैयाँले बताए । उपमहानगरपालिकाले गरेको गलत कार्यविरुद्ध नागरिक स्तरबाट आवाज उठाउने काम गरिएको उनको भनाइ छ ।
‘विकट क्षेत्रहरूमा एक सय ३७ प्रतिशतसम्म जग्गाको पोत तथा कर वृद्धि, व्यावसायिक करमा अस्वाभाविक वृद्धि, फोहर व्यवस्थापनलाई निजीकरण गर्ने निर्णय नागरिकको हितमा छैनन्, हामी शान्तिपूर्ण रूपमा आवाज उठाएका हौँ’, संयोजक मजगैयाँले भने । उनीसँगै धर्नामा इन्जिनियर अनन्तराज घिमिरे बसेका थिए ।
धर्ना कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था तथा पार्टीका नेता कार्यकर्ताले पनि ऐक्यबद्धता जनाएका थिए । धर्ना कार्यक्रमलाई सहयोग तथा ऐक्यबद्धता जनाउने सरोकारवाला सबैलाई एक विज्ञप्ति जारी गर्दै संयोजक मजगैयाँले धन्यवाद दिएका छन् ।
