‘टिमवर्क’ र अनुशासन खेलबाट सिकौँ : नेता चौधरी
खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु
गोरक्ष समाचारदाता
दाङ, २१ फागुन । घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समितिको मञ्चमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने बताएका छन् ।
खेल क्षेत्रमा भएको अनुशासनसँगै टिमवर्कको भावना सबैले सिक्न सके सफलता प्राप्त गर्न सकिने बताए । खेलकुदमा जस्तै अनुशासन र टिमवर्कको भावना नेपाली राजनीतिमा आवश्यक रहेको भन्दै राजनीतिमा लाग्ने हरेक नेता तथा कार्यकर्ताले अनुशासन र सामूहिकताको भावना सिक्नुपर्ने बताएका थिए । राजनीतिक परिवर्तनसँगै विकास निर्माणमा स्वर्गीय खुमबहादुर खड्काको महत्वपूर्ण योगदान रहेको भन्दै उनको योगदानलाई नयाँ पुस्तासम्म फैलाउन प्रतियोगिताले सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका दाङका सभापति शंकरप्रसाद डाँगीले जिल्लामा नयाँ खेलाडी उत्पादनसँगै खेलकुद क्षेत्रको विकासमा प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताए । खेलका माध्यमबाट युवालाई जोड्दै नेता एवम् पूर्वमन्त्री स्व. खुमबहादुर खड्काको योगदानलाई जीवन्त राख्न सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काले नयाँ खेलाडी उत्पादनसँगै राष्ट्रियस्तरका खलाडीसँग खेलेर आफ्नो क्षमता विकासमा सहयोग पु¥याउने काम गरेको बताए । कार्यक्रममा बोल्ने वक्ताले राजनीति गर्ने पार्टीले खेलकुद प्रतियोगिताको आयोजना गरेर जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै क्षमता अभिवृद्धिका लागि अवसर सिर्जना गरेको बताएका थिए । वक्ताले प्रतियोगितासँगै सुविधासम्पन्न खेल खेल्ने ठाउँको विकास हुन आवश्यक रहेको बताएका थिए ।
नेपाली कांग्रेस दाङका सहसचिव एवम् खुमबहादुर खड्का समाज विकास समितिका संयोजक राजु आचार्यको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भुपबहादुर डाँगी, नेपाली कांग्रेसका क्षेत्र नं ३ का सचिव पूर्ण केसी, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका सभापति तिलक रावत, बंगालचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिकी सदस्य सुशीला गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सदस्य रेखबहादुर वलीले गरेका थिए ।
फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १० वटा टिमको सहभागिता रहेको छ । जसमा राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, मनिमुकुन्द भलिबल क्लब रुपन्देही, होराइजन स्पोट्र्स क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंशावली समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लब र रोयल मुर्कुटी युवा क्लब बंगलाचुली प्रतियोगितामा सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
दाङ सोसाइटी क्लब र ओली बंशावली विजयी
चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा दाङ सोसाइटी क्लब र ओली वंशावली समन्वय समिति दाङको टिमले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा रोयल बंगलाचुली युवा क्लबलाई २–१ को सेटमा र दोस्रो खेलमा ओली वंशावली समन्वय समितिले सोझो २–० सेटमा विजयी निकाल्न सफल भएका हुन् । विभागीय नेपाल आर्मीको भलिबल टिमका खेलाडी धनबहादुर भट्टलगायतका खेलाडी सहभागी दाङ सोसाइटी क्लबले पहिलो सेट हारे पनि त्यसपछि लगातार दुई सेट जित्दै विजयी भएको थियो ।
