टेकबहादुर पुन
लमही, २१ फागुन । महिलालाई उद्यमी बनाउन लमही नगरपालिका–७ ले तालिमको आयोजना गरेको छ । सिप सिकाएर आत्मनिर्भर बनाउन वडा कार्यालयले सिलाइ कटाई तालिम सुरु गरेको हो । तालिमको लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले शुभारम्भ गरेकी हुन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख योगीले तालिमलाई अवसरका रूपमा लिएर ध्यानपूर्वक सिप सिक्न महिलालाई आग्रह गरेकी थिइन् । जीवनमा सिप भएको मानिसले जुनसुकै ठाउँमा केही गरेर जीवन निर्वाहसँगै आयआर्जनमा सहयोग मिल्ने बताइन् । उनले राम्रो सिप सिके घरमै बसेर राम्रो आयआर्जन गर्नसक्ने भएकाले तालिमलाई अवसरका रूपमा लिन आग्रह गरेकी थिइन् ।
कार्यक्रममा लमही नगरपालिकाका प्रवक्ता तथा ७ नम्बर वडाध्यक्ष मोहन गिरीले महिलालाई सिपका माध्यमबाट रोजगारमा जोड्दै उद्यमी बनाउन तालिमको आयोजना गरेको बताए । तीनमहिने सिलाइ कटाईसम्बन्धी तालिमबाट महिलाले धेरै ज्ञान लिनसक्ने भन्दै वडाध्यक्ष गिरीले महिलालाई ध्यान दिएर तालिममा लाग्न आग्रह गरेका थिए । सिपले आर्थिक रूपमा आयआर्जनमा जोड्ने र त्यसले महिलाको आयआर्जनमा वृद्धि गर्ने बताएका थिए ।
सिप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउन गार्मेन्ट उद्योग सञ्चालन गर्ने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको वडाध्यक्ष गिरीले बताए । वडाध्यक्ष गिरीले कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास गरी रोजगारीको सिर्जना गर्ने गरी वडा कर्यालय लागेको बताएका थिए । तालिममा ३० जना महिला सहभागी छन् । तालिमको प्रशिक्षिकामा शोभा श्रेष्ठ र दिलकुमारी घर्ती रहेका छन् । प्रशिक्षक शोभा श्रेष्ठको स्वागतबाट सुरु भएको कमर्यक्रमको सहजीकरण वडा सचिव शेरबहादुर चौधरीले गरेका थिए ।