मेरो खुशी : कर्मले आर्जेको कमाइ ….
खुसी न खोजेर पाइन्छ, न रोजेर नै, यो त आफ्नो चिन्तन र कर्मले आर्जेको कमाइ हो । खुसी न धेरै देखाउन सकिन्छ न धेरै लुकाउन नै, न खास परिभाषामा कैद गर्न सकिन्छ, न पछि पर्यन्तका लागि साँच्न नै सकिन्छ । खुसीको खोलुवा खै कस्तो कस्तो ?’ खुसी बारेको पोयो फुकाउँदै गर्दा निकै तरङ्गित हुन्छन् वरिष्ठ साहित्यकार एवम् शिक्षासेवि डा गोपिन्द्र पौडेल ।
खुसी त थिएँ नै, रमाउनु रमाएँ लुङ बाहानेका वनकुञ्जमा । बाआमाको काख, दाजुको असिम प्यार, भाइबहिनीको आदर सत्कार अनि साथीसङ्गीको साथले खुसीको बहार आएकै थियो । बाल्यकाल र किशोरावस्थामा होस् वा घाँसदाउरा गर्दा, मेलापात गर्दा होस् वा कुटनपिसन गर्दा म खुसी मै लुटपुटिएको थिएँ तर गोपिन्द्र पौडेल अझ भावुक बन्छन् । वास्तवमा उनी त्यस्तो खुसी चाहन्थे जसले उज्यालो भविष्य पछ्याउन सकोस् र आफ्नो जीवनमा नयाँ मोड ल्याउन सकोस् अनि त उनी जीवनको सबैभन्दा खुसीको क्षणलाई यसरी सम्झन थाल्छन् ।
‘जेठो दाजु मधुसुदन पौडेल आई.एस.सी. पास गरेर जनता मावि बाग्दुलामा विज्ञान तथा गणित विषयको शिक्षक हुँदै गर्दा र माहिलो दाजु केशवराज शर्मा मीनभवन क्याम्पसमा आई.कम. पढ्दै गर्दा म लगायत सबै भाइबहिनी निरक्षर थियौँ । सबै छोराछोरीलाई पढाउनुपर्छ भन्ने प्रवल चेतना भए पनि बुबाको औकात सीमित थियो । बुबाको उदात्त चेतना अनि जेठो दाजु मधुसुदन पौडेलको त्याग तथा उदारभावका कारण २०२७ पुसमा म र भाइ दामोदार जनता माथि बाग्दुलामा कक्षा ६ मा भर्ना भयौँ । यो जीवनको सर्वाधिक खुसीको क्षण थियो ।
पहिलो पटक स्कुलको प्राङ्गणमा प्रवेश गर्न पाउनुको मजा नै बेग्लै । कुहिराको काग जस्तो बनेको मेरो दिनचर्यामार्फत् सपनाको उत्खनन् हुन थाल्यो । खुसी देखिने गरी नै छताछुल्ल भो ।’ पौडेल प्रशन्न चित्तले विगततिर विचरण गर्दै भन्छन्– ‘यतिबेला म सपनाको अन्वेषण गर्दै थिएँ । बुबाको सपना पूरा भएको थियो । मेरो सपना बुनिँदै थियो ।’ एकैचोटी कक्षा ६ मा भर्ना, यस्तो उदेकलाग्दो घटनाका बारेमा पौडेल भन्छन्– ‘त्यतिबेला विद्यार्थीको सामान्य क्षमता हेरि जुनसुकै कक्षामा भर्ना हुन पाउने सुविधा थियो ।
त्यो भनेको हामी जस्ता सपना विहीनलाई सपना देख्न लगाउने खाइलाग्दो विधि थियो ।’ टाङफटाङ गरेर कक्षा ६ मा भर्ना हुँदा पौडेल खुसी नै खुसीले छताछुल्ल भएको अनुभव गर्छन् । घरमा साँझबिहान दाजुसँग बसेर सग्ला अक्षर चिनेका भरमा उनी कक्षा ६ मा भर्ना भएका रहेछन् ।दजीवनका कठोरतम अनुभूतिसँग खेल्दै पौडेल भन्छन् । ‘जीवन त्यति सहज थिएन । हामी दुई भाइ स्कुल भर्ना भएको छ महिना नपुग्दै २०२८ जेठामा बुबाको निधन, भाइ दामोदरको पढाइमा व्यवधान, आमाको कष्टकर जीवन भोगाइ ।
यसबिच म खर्चपर्च बोकेर तीन घण्टाको पैदल यात्रा गरी स्कुल जान्थेँ । धन्न कुनै कक्षामा अनुत्तीर्ण नभई २०३२ सालमा फलामे बार मानिने एस.एल.सी. परीक्षा तृतीय श्रेणीमा पास गरेँ । मेरा लागि पास नै ठुलो कुरा थियो, पास भएँ । खुसीको अर्को खुट्किलो चुम्न पाइयो ।’ एस.एल.सी. पास गरेपछि उनको पढ्ने चाहनामा झनै बढोत्तरी भयो । उनी यत्तिमै सीमित नभई उच्च शिक्षा अध्ययनको प्यास मेट्ने ध्याउन्नमा लागे । हुन त उनी एस.एल.सी. दिएर गाउँकै प्राविमा मास्टर हुँदा कम्ती खुसी थिएनन् तर त्यसले उनको प्यास मेटिएन । आई.ए. र वी.ए. पढ्न दाङ आउँदाका क्षणलाई उनी यसरी सम्झन्छन् ।
‘२०३६ सालमा आई.ए. पास गरेपछि म मास्टरी जागिरमा दायाँबायाँ भौँतारिएँ । वी.ए. मा भर्ना हुनु पनि कम्ती खुसीको कुरा थिएन । वी.ए.मा पढ्दै गर्दा २०३९ मङ्सिर २२ गते दाङ चौघेरास्थित माधवप्रसाद रेग्मीकी छोरी उर्मिला रेग्मीसँग मागी बिहे भयो । उर्मिलाजी पनि दाङ क्याम्पसमा आई.ए. मा पढ्ने, म वी.ए. मा । त्यसो हुँदा सबैले प्रेम विवाह भन्ने गर्थे तर त्यो मागी बिहे नै थियो । त्यसो भएपछि मेरो जीवनमा नयाँ मोड आयो । खुसीको आयाम पनि फराकियो । जीवनसाथी निकै बुझकी हुनाले म अध्ययनमा थप उत्प्रेरित भएँ । साथी उर्मिलाले मलाई एम.ए. पढ्नका लागि निकै प्रोत्साहित गर्नुभो । आफू दुई–दुईवटा बच्चाका साथमा रोल्पा जस्तो विकट जिल्लामा तात्कालीन गाउँ पञ्चायतको सचिव भई मलाई काठमाडौंमा खर्चपर्च पठाउने साथी उर्मिलाप्रति म सदा ऋणी छु । त्यति मात्र होइन मलाई विद्यावारिधि गर्नका लागि थप हौसला पनि साथी उर्मिलाबाट प्राप्त भयो ।’
तेह्र वर्षको उमेरसम्म गाइभैँसीको पुच्छर समाएर पक्का गोठालो बनेका गोपिन्द्रले २०६२ सालमा विद्यावारिधि तहको अध्ययन अनुसन्धान पूरा गरे । उनी पछिल्तिर फर्केर निकै भावुक एवम् गम्भीर बन्छन् । जीवनमा गोपिन्द्रले प्रेरणादायी तीन थप्पड पनि खाएका रहेछन् । थप्पड खाँदा धेरै मान्छे आतङ्कित हुन्छन् तर उनी अहिलेसम्म पनि ती थप्पड सम्झेर आनन्दविभोर छन् । पौडेल भन्छन्– ‘म बाँदर लाग्ने छेउको बारीमा मकै हेर्न गएको मान्छे छिमेकिका घरमा मकै पोलेर खान थालेँ, बाँदरको बथान आएर मकै स्वाहा पारेछ । बुबाले पिठ्यूँमा एक थप्पड जमाएर दिनुभयो । त्यस दिनदेखि म आफ्नो जिम्मेवारी र कर्तव्यविमुख भएको छैन ।
त्यस्तै कक्षा सातमा पढ्दा कक्षा कोठामै मैले अशिष्ट शब्द प्रयोग गरेँ (तर अश्लील भने होइन), भूगोल विषय पढाइनुु भएका गुरु गेहराज शर्मा पण्डितले एक चड्कन दायाँ गालामा दिनुभयो । त्यसपछि मैले सार्वजनिक स्थलमा अशिष्ट प्रकृतिका शब्द कहिल्यै प्रयोग गरिन । तेस्रो, म कक्षा आठको अन्तिम परीक्षा दिइरहेको थिएँ, अग्रजको सिको गरेर विज्ञान विषयको परीक्षामा चीटचोर्ने दुस्साहस गरेँ, त्यो पनि डेक्समाथि खुलेआम चीट राखेर ।
सामुन्नेमा रहनुभएका गुरु खेम गिरीले पनि दायाँ गालामै एक चड्न लगाइदिनु भयो । मैले तोरीका फूल देखेँ । त्यस दिनदेखि मैले चीट चोरिन बरु यसलाई अनैतिक कर्म ठानी निरुत्साहित गर्न जीवनभर लागि परेँ । ती तीन थप्पडको दुखाई अहिलेसम्म पनि कायम छ । यो दुखाई पीडाको नभई प्रेरणाको थियो, म खुसी हुनुको अनुपम दृष्टान्त थियो । म मेरा श्रद्धेय बुबा र गुरुहरूप्रति आभारी छु, हार्दिक नमन गर्छु ।
पेसाले विद्यालय र विश्वविद्यालय तहको अध्यापनमा सक्रिय रहेका गोपिन्द्रले चीट चोर्ने प्रकृत्तिलाई धुलिसात् बनाउन थाले । यसो गर्दा विद्यार्थीको कुटाइबाट बालबाल बचेको बताउँछन् उनी तर चोरीजस्तो भ्रष्ट एवम् अनैतिक कर्मको उछितो काढ्नुमा पनि उनी खुसी महसुस गर्छन् ।
गोपिन्द्र पौडेल मूलतः साहित्यकार हुन् र शैक्षिक अभियन्ता पनि हुन् । उनी दाङ प्युठानलगायत राप्ती क्षेत्रका साहित्यिक÷शैक्षिक गतिविधिमा सक्रिय छन् र यसलाई अझ तीव्र पार्ने प्रण पनि गरेका छन् । भारत, अमेरिका र युरोप भ्रमणका अनुभूतिलाई समेटेर यात्राको धुन नामक नियात्रा कृति पाठकसामु ल्याइसकेका पौडेलका सातओटा समालोचनात्मक ग्रन्थ प्रकाशित छन् । अबका दिनमा प्युठानका कोठीभिर, स्वर्गद्वारी तथा गौमुखीसमेतलाई समेटेर यात्रालेखन कर्ममा आफूलाई सक्रिय बनाउने बाचासमेत उनले गरेका छन् ।
२०२७ सालमा कक्षा ६ मा भर्ना हुनुदेखि उत्तरोत्तर साहित्य लेखनसिर्जनमा सक्रिय रहेका, २०६२ सालमा विद्यावारिधि सम्पन्न गरेका अनि आफ्ना आमाबुबा र विद्यालय तथा महाविद्यालयका गुरुको प्रेरणा तथा साहित्य सिर्जनामा उद्यत गराउने कवि केवलपुरे किसानका कविता खुसी नै खुसीका कोसेली ठान्ने पौडेल जीवनसाथी उर्मिलाको उत्प्रेरणलाई पनि भुल्न सक्दैनन् ।
प्रस्तुति : खेमराज रिजाल
