नारायणप्रसाद श्रेष्ठ
स्वावलम्बी र आत्मनिर्भरताले जीवन र जगतलार्ई हराभरा र समुन्नत दिशातर्फ उन्मुख गराउँछ । शारीरिक र मानसिक रुपले व्यक्तिको वैयक्तिक जीवन र व्यवहारमा सकारात्मक सोच र चिन्तन बढाउँछ । सोच, विचारमा शुद्धता र कर्ममा पवित्रता उजागर गर्न मद्दत गर्दछ । हेराइमा सम्भव जगाई इमान्दारिता र जिम्मेवारी गराउँछ । जसको फलस्वरुप विश्वास र समर्पण भाव बढाई आत्मविश्वास जगाउँछ ।
जब विश्वासको भाव जागृत हुन्छ तब मानवीय अन्तर निहित गुण सेवा भावमा परिणत भई समाज आदर्श गति उन्मुख हुने अवस्था देखा पर्न थाल्दछ । मानिसमा स्वावलम्बन बन्न प्रेरणा अभिवृद्धि हुनु भनेको सिंगो समाज आत्मनिर्भर भई निर्यातमुखी व्यवसायतर्फ उन्मुख हुनु हो । । यसले एक अर्कामा सहयोग र सद्भाव बढ्न गई सामाजिक संरचनामा नै नयाँ परिवेशको उद्घाटन भई शान्ती र समुन्नत समाज को निर्माण हुन पुग्दछ । तसर्थ स्वाबलम्बी भई आत्मनिर्भर रहने अभ्यासतर्फ सोच बढाउनु पर्दछ ।
प्रत्येक व्यक्ति, वर्ग, समुदाय जब आपसी सहयोग र सहयात्री भई व्यवसाय उन्मुख हुने परिवेशको पटाक्ष हुन्छ तब मानिसमा उल्लास र जागर अभिवृद्धि भई व्यवसाय स्वत फस्टाउने अवस्था हुन्छ । माग र आपूर्तिमा सन्तुलन कायम भई राष्ट्रिय अर्थतन्त्र सुधार उन्मुख हुन पुग्दछ । यसरी आत्मनिर्भरको वातावरण तयार हुनु भनेको समाज आदर्शगती उन्मुख हुनु हो । यसले विचारमा निखार आई आफूले आफैलार्ई जिम्मेवारी बोध गराउने अवस्था हुन्छ । त्यसैले यस्तो परिवेश निर्माणको लागि व्यक्ति, वर्ग, समुदाय सबैको भावनामा म, हामी स्वावलम्बी बन्नु पर्छ ।
यो हामी र हाम्रै लागि हो भन्ने भावना जगाई जीवनमा आउने अवसर र चुनौतिलार्ई यो हाम्रो परिश्रम र विश्वासको आधार हुनसक्छ भनी आफूलाई परिवर्तन गर्नुपर्दछ । आलस्यले ल्याउने परिणामको मूल्याङ्कन गरी सर्वजन हिताय सर्वजन सुखायको गतिलो माघ्यम स्वावलम्बी हुनु रहेछ भन्ने बुझी आफूलाई परिवर्तन गर्नुपर्दछ । समयको गतिसँगै आफ्ना दिन चर्यालार्ई स्फुर्त र भरोसा युक्त बनाई शारीरिक र मानसिक रुपमा आफूलाई सक्षम बनाउनु पर्दछ । उसले गरिरहेको छ ?
मैले किन गर्नुप¥यो ? र भन्नु भन्दा उसले आफ्नो जिम्मेवारी निर्वाह गर्दै छ, मैले मेरो जिम्मेवारी बहन गर्नुपर्छ, भनी आफूलाई परिमार्जित गर्नुपर्दछ । काम र व्यवहारबाट टाढा भाग्नु हुँदैन । जिम्मेवारी पन्छ्याउने होइन । जिम्मेवारी लिने गर्नुपर्दछ । पर चिन्तन राखी जिम्मेवारीबाट पन्छीनु भनेको आत्मनिर्भर होइन परनिर्भरतातर्फ धकेलिँदै जानु हो । परनिर्भरताले मानिसलार्ई विलासीतर्फ धकेल्दै जान्छ । जब मानव चिन्तन भौतिक युगको विलासीतर्फ आकर्षित हुन्छ । तब उसमा भएको थोरै मात्र विवेक पनि गुम्ने खतरा बढ्न थाल्दछ । उसमा कामचोरको प्रवृत्ति जागृत हुन पुग्दछ । उसले गरेर मलार्ई सबै पुगिहाल्छ भनेर मैले नगरे के हुन्छ भनि मानिस आलस्यको सिकार बन्न पुग्दछ ।
आलस्यले जीवन र जगतलार्ई अध्यारो गतितर्फ धकेल्छ । नगरी खाने, न मरी जाने, अवस्थामा पु¥याउँछ । यसले मानिस स्वावलम्बी हुनुको साटो अल्छी र विचार सुन्य हुन पुग्दछन । नयाँ चिन्तन र खोज त धेरै टाढाको विषय बन्न गई, कुवाको भ्यागुतो कुवामै, भनेझै मानिसको सोच र चिन्तन साँघुरो घेरा मा पुग्दछ । यसले उसभित्रको प्रतिभा लोप हुन गई नयाँ विचार प्रार्दुभाव हुन सक्दैन । उ मानसिक र शारीरिक रुपले कमजोर भई उसको दृष्टिकोणमै गलत आचरण विकसित हुन पुग्दछ ।
अनि विस्तारै मानिस स्वयम् अपांग हुन गई उ कमजोर र परजिवी भई बाच्न बाध्य र विवश हुन पुग्दछ । तसर्थ यो कुराको अध्ययन गरी प्रत्येक समस्याको समाधान म आफै हुँ र म आफैले बनाउनु पर्छ, भनी आफ्नो खुट्टामा आफै उभिने गर्नुपर्दछ । सकिन्छ अरुको सुखदुःखमा सेवा र सहयोगको भाव बढाउने नसके आफू र आफ्नो लागि पसिना बगाई आफू परिश्रमी बन्ने संकल्प गर्नुपर्छ । आफू पनि बन्ने अरुलाई पनि बनाउने हुनु पर्दछ ।
अहिले हाम्रो सामाजिक वातावरण एउटाले जे ग¥यो त्यसैको पछाडि दौड्ने प्रवृति बढेको छ । व्यवसायमा फरकपन ल्याई एकअर्काको सहयोगी बन्नुको साटो एउटै विषयमा बढी प्रतिस्पर्धा भइरहेको देखिन्छ । हो व्यवसायमा प्रतिस्पर्धा हुनु राम्रो पक्ष हो । यसले नयाँ विकल्पसहित नयाँ विचार फस्टाउने वातावरण बन्न पनि सक्छ तर एउटै कुरामा प्रतिस्पर्धा हुने अरु आवश्यकता जस्ताको त्यस्तै रहने हो भने यसले आत्मनिर्भर र निर्यात व्यवसाय कमजोर हुने अवस्था हुन्छ ।
कृषि शिक्षा उद्योग कलकारखानालगायत विविध पेसातर्फ एकताको सन्देश फिजाउन सकियो भने यसले एकातिर हाम्रो आवश्यकता पनि पूर्ति हुने र हामी स्वयम् आत्मनिर्भर भई अरुको बाँच्ने सहारा पनि बन्ने अवस्था आउँछ । यस्तो अवस्था ल्याउनु भनेको स्वावलम्बी भई आत्मनिर्भर बन्यतर्फ अग्रसर हुनु हो । जस्तो कृषि पेसा गर्नेले कृषिको लागि आवश्यक बिउ बिजनदेखि कृषि पशुपालनतर्फ एकले अर्काको सहयोगी बन्ने गरी एक उत्पादन एक गाउँ बन्ने किसिमले व्यवसाय गर्नु । दुग्ध व्यवसाय गर्ने व्यक्तिले राम्रो व्यवस्थापनको लागि विकल्प रोज्दै जानु । गाउँघरमा पाइने साधन र स्रोतलार्ई व्यवस्थित गर्दै पशुपालनसम्बन्धी अन्य व्यवसायतर्फ ध्यान दिनु ।
सानासाना कुटी उद्योग र कलकारखाना बनाउँदा पनि भिन्न–भिन्न किसिमले व्यवस्थापन गर्दै जानु, तथा अन्य विकल्प पनि खोज्दै जानु पर्ने हुन्छ एक अर्काबिच सहकार्य पनि गर्दै जाने, नयाँ विकल्प पनि खोज्दै जाने हो भने यसले अन्तरनिहित प्रतिभालार्ई उजागर गर्दछ भने मानिस स्वावलम्बी र व्यवसाय बन्न पुग्दछ । तदनुप्रान्त समाज आत्मनिर्भर भई निर्यातमुखी व्यापार व्यवसायतर्फ अग्रसर भएको मानिन्छ । हाम्रो देश नेपालको सन्दर्भलार्ई हेर्ने हो भने ४४÷४५ सालतिर हामीले चामलमा आत्मनिर्भर भई विदेशमा निर्यात गर्ने अवस्था थियो तर अहिले आएर खाद्यान्नमा परनिर्भर भएका छौँ ।
त्यसको खास कारण हामीले हाम्रो स्रोत र साधनलार्ई समुचित विकास नगर्नाले हो । विदेशी नक्कल भित्र्याउने, आफूसँग भएको स्रोतलार्ई विदेशी नीतिभित्र परिचालन गर्ने अनि विविध कुरा अगाडि सारी जनसंख्याको चाप बढ्यो, उब्जनी कम भयो भन्ने के यही हो हाम्रो स्वावलन्बी बन्ने अभियान ? के २०४५ साल अगाडि नेपालमा स्रोतको अभाव थिएन र ? के त्यसबेला जनसंख्याको चाप थिएन र ? हाम्रो सोचकति साँघुरो हुन पुगेको हो , संघीय संरचनाभित्र नेतृत्व गर्ने राजनीतिज्ञ लगायत विभिन्न प्रशासनिक क्षेत्रमा काम गर्ने प्रशासक स्वयम् विकसित कैयौँ राष्ट्रहरुको भ्रमण गरेको पाइन्छ ।
हाम्रो नेता कर्मचारी अरबौँ खर्चेर विदेश जान्छन् त्यहाँको अवस्था बुझ्छन्, तर फर्केपछि विचार सुन्ने भएर बस्दछन् खै आफूले अनुभव गरेका कुरालार्ई व्यवहारमा परिणत गरेको ? यस्तो प्रवृत्ति आफैमा घातक होला नहोला ? त्यसैले सुतेर खाने होइन परिश्रम र स्वावलम्बी बनेर आफूलार्ई चिनाउने हो । हाम्रो सुन्दर बगैँचालार्ई आफैले मलजलको व्यवस्था मिलाई आफैले हराभरा बनाई राष्ट्रलार्ई आत्मनिर्भर र स्वावलम्बी बनाउन हो । परजिवी होइन आत्मनिर्भर भई आफू र अरुलार्ई पनि व्यावसायिक बनाई राष्ट्रलार्ई सम्वृद्धितर्फ लैजाने हो । यो समयको माग हो । अस्तु ।