Goraksha

National Daily

राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको शिलान्यास

तुलसीपुर, २० फागुन । राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । नेपाल भारत विकास सहयोग अन्र्तगत राप्ती आँखा अस्पतालमा निर्माण हुने सुविधा सम्पन्न शल्यक्रिया भवनको शिलान्यास गरिएकोहो ।

राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय राजदुतावास, काठमाण्डौका प्रथम सचिव बशिष्ठ नन्दन र तुलसीपुर उप— महानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । भारतीय राजदुतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा ४ करोड २४ लाखमा ३८ हजार मा शल्यक्रिया भवन निर्माण हुने छ । भक्टोरिया जेभि काठमाण्डौले २०८३ बैशाखमा भवन निर्माण सम्पन्न गर्ने गरि निर्माणको जिम्मा पाएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले राप्ती आँखा अस्पतालको लुम्विनीका साथै कर्णाली प्रदेशका जनतालाई सर्वसुल्भ आँखा स्वास्थ्य सेवा दिएको भन्दै अत्याधुनिक शल्यक्रिया भवन निर्माण संगै शल्यक्रिया गर्नुपर्ने विरामीलाई सहज हुने बताए ।

‘यो भवन निर्माणका लागि बजेट विनियोजन गर्ने भारतिय राजदुतावास सवैलाई धन्यवाद दिन चाहान्छु – खड्काले भने ।’ उनले राप्ती आँखा अस्पतालको भुगोल क्षेत्र धेरै भएको भन्दै अस्पतालले गुणस्तरीय सेवा दिएको बताए । उनले यस्तो पवित्र क्षेत्रमा भारतिय सरकारले सहयोग गरेको भन्दै आभार व्यक्तगरे । उनले यो योजना सम्पन्न संगै अन्य साझेदारी कार्यक्रमलाई पनि स्थानीय सरकारले अगाडी बढाउने बताए । उनले भारत संग नेपालको विभिन्न सम्वन्ध रहेको भन्दै आगामी दिनमा पनि साझेदारी सहयोग आवश्यक पर्ने बताए ।

त्यस्तै भारतीय राजदुतावास, काठमाण्डौका प्रथम सचिव बशिष्ठ नन्दनले नेपाल भारत विकास सहयोग अन्र्तगत राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको लागि सहयोग गरेको भन्दै नयाँ शल्यक्रिया भवन निर्माण सम्पन्न संगै गुणस्तरीय सेवा जनताले पाउने बताए । उनले नेपालमा विभिन्न शिक्षा, स्वास्थ्य खानेपानी लगायत क्षेत्रमा सहयोग गरेको बताए । उनले दाङमा अन्य संस्थामा स्कुल बस, एम्वुलेन्स लगायत विभिन्न भौतिक सहयोग गरेको समेत बताए ।

उनले राप्ती आँखा अस्पताललाई एम्वुलेन्स सहयोग यस अघि गरेको भन्दै आगामी दिनमा पनि भौतिक देखि अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले भारत सरकारले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान अतुत्नीय भएको बताए । उनले यो भौतिक संरचनाको निर्माण कार्य मात्र नभई लाखौं नागरिकको दृष्टि जोगाउने महत्वपूर्ण अभियानको एउटा कोसेढुंगा भएको बताए ।

‘यो महत्वपूर्ण परियोजनाका लागि आवश्यक बजेट सहयोग प्रदान गर्नु हुने भारतीय सरकार तथा भारतीय राजदुताबासप्रति हामी ह्रदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौं , यो सहयोगले राप्ती आँखा अस्पताललाई अझ व्यवस्थित र आधुनिक प्रविधियुक्त सेवा प्रदान गर्न सक्षम बनाउनेछ – गिरीले भने । गिरीले परापुर्व कालदेखि नै नेपाल र भारत बीचमा मैत्रीपुर्ण सम्बन्ध कायम रहँदै आएको भन्दै आफुहरुले पनि तिनवटा आँखा अस्पतालहरुबाट नेपाली सेवाग्राहीहरुको अलावा भारतीय नागरिकहरुलाई पनि सेवा प्रवाह गदै आइरहेको बताए । गिरीले आगामी दिनहरुमा पनि आँखा स्वास्थ्य सेवा बिस्तारको लागि भारतीय राजदुताबास बाट यस्तै सहयोगको अपेक्षा समेत गरे ।
कार्यक्रममा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री,शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले राप्ती आँखा अस्पतालले विभिन्न वीपन्न तथा आर्थिक अभावका कारण उपचार सेवा नपाएकालाई सेवा प्रवाह गर्ने काम गरेको बताए । उनहरुले आफुहरुले पनि अस्पताल संग साझेदारी कार्यक्रम सञ्चालन गरि जनतालाई आँखा स्वास्थ्य सेवा प्रदान गरेको भन्दै शल्यक्रिया भवन निर्माण संगै सहज हुने बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाल काँग्रेस तुलसीपुर नगरसमितिका सभापति सुरेश हमाल, नेकपा एमाले तुलसीपुर नगरकमिटिका अध्यक्ष रुपबहादुर खत्रीले राप्ती आँखा अस्पतालले दिदै आएको सेवा प्रभावकारी भएको भन्दै शल्यक्रिया भवन निर्माण संगै सहज सेवा प्रवाह हुने विश्वास व्यक्तगरे ।
कार्यक्रममा बोल्दै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले भारतिय राजुदावासले आँखा स्वास्थ्य सेवाको विकासका लागि विभिन्न सहयोग गरेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

डा. थापाले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतका राप्ती आँखा अस्पताल, लमही र छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल र उपचार केन्द्रहरुले ३९ लाख ७७ हजार बढी विरामीलाई सेवा दिएको बताए । उनले त्यस मध्य विभिन्न स्थानमा निःशुल्क आँखा शिविर देखि अन्य सेवाहरु मार्फत साढे चार लाखलाई निःशुल्क सेवा दिएको बताए ।

कार्यक्रममा प्रमुख प्रशासक डा. थापाले २ लाख ४४ हजार मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरि उज्यालो प्रदान गर्नुका साथै ४७ हजारलाई निःशुल्क शल्यक्रिया सेवा दिएको बताए । नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशम बहादुर खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल नेत्रज्याेति संघका सचिव घनश्याम सुवेदीले गरेका थिए ।