Goraksha

National Daily

जनताको विश्वास जित्ने गरी काम गर्नुस् : सभापति डाँगी

’नेपाली कांग्रेस दंगीशरणको तेस्रो सम्मेलन
प्रमोद आचार्य
दंगीशरण, २० फागुन । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले पार्टीलाई बलियो र चलायमानसँगै जिल्लामा पहिलो संगठनका रूपमा आगामी निर्वाचनमा स्थापित गर्न नेताहरू जनतासँग नजिक हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस दंगीशरण गाउँपालिकाको सोमवार तेस्रो पालिका सम्मेलनको उद्घाटन गर्दै जिल्ला सभापति डाँगीले जनतासँग नजिक हुने र जनताको सुख–दुःखमा साथ दिनसके मात्र कांग्रेसलाई जनताले विश्वास गर्ने बताएका हुन् ।

नेपाली कांग्रेसले गरेका विकास निर्माणका कामहरू जनतालाई बुझाउन आवश्यक रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि सभापति डाँगीले त्यसका लागि पार्टीमा एकता आवश्यक रहेको बताए । पार्टीको विधानमा भएको व्यवस्था अनुसार नेता तथा कार्यकर्ता चल्न आवश्यक रहेको भन्दै जिल्ला सभापति डाँगीले भने, ‘पार्टी संगठन निर्माणका लागि विधान छ, विधान अनुसार हरेक नेता तथा कार्यकर्ता इमानदारीपूर्वक अघि बढ्नसके कांग्रेस बनाउन सकिन्छ ।’

नेता बन्ने तर जनता माझ जान नसक्ने हो भने अब जनताले नपत्याउने भन्दै सभापति डाँगीले जनताले पत्याउने गरी काम गर्न नेताहरूलाई निर्देशन दिए । उनले वडादेखि पालिका, जिल्लामा नियमित रूपमा भेटघाटसँगै छलफल गरेर पार्टीलाई कसरी मजबुत बनाउन सकिन्छ भनेर लाग्न आग्रह गरेका थिए । अहिले जिल्लामा पार्टीले वडा सम्मेलन हुँदै पालिका सम्मेलन गर्न थालेको भन्दै यसले पार्टीलाई सांगठनिक रूपमा एकताबद्ध, आर्थिक रूपमा पारदर्शी र पार्टीको योजना निर्माणमा सहयोग गर्ने बताए ।

सम्मेलनमा लुम्बिनी प्रदेश सभा निवर्तमान सदस्य तथा महाधिवेशन प्रतिनिधि शंकर गिरीले पार्टी निर्माणका लागि नेता तथा कार्यकताहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताएका थिए । पार्टीभित्र हुने अन्तरसङ्घर्ष भए पनि संगठन निर्माणमा त्यसलाई भुलेर सबै लाग्नुपर्ने बताए । उनले कांग्रेसका लागि त्याग गर्ने र सशस्त्र द्वन्द्वको समयमा मारिएका नेताका नाममा पार्टीले शालिक निर्माणसँगै सडकको नामाकरणका लागि आग्रह गरेका थिए ।

यसैगरी कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि केशव आचार्यले पार्टीको नीति सिद्धान्त अनुरूप अगाडि बढ्न सुझाव दिए । सम्मेलनको उद्घाटन सत्रमा बोल्ने अन्य वक्ताले पार्टीलाई एकताबद्ध बनाउँदै संगठन निर्माणका लागि आपसी मतभेद बिर्सिएर संगठन निर्माणमा लाग्नुपर्ने, विकास निर्माणका सवालमा पार्टी र जनप्रतिनिधिबिच समन्वय हुनुपर्ने कुरामा जोड दिएका थिए ।

नेपाली कांग्रेस दंगीशरणका सभापति एवम् गाउँपालिका अध्यक्ष शम्भु गिरीको शभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगी, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, पूर्व जिल्ला विकास समिति सभापति भरत केसी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, नेपाली कांग्रेस जिल्ला सदस्य शंकर शर्मा, शोभाकर न्यौपने, महाधिवेशन प्रतिनिधि घनश्याम शेर्पाइली, नेपाली कांग्रेस क्षेत्र नं ३ (ख) सभापति खिमबहादुर वलीले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. ३ का सचिव पूर्ण केसी, नेपाली कांग्रेस क्षेत्र नं. ३ का सहसचिव भीमकान्त भट्टराई, क्षेत्र नं ३ (ख) का सहसचिव रमेश भण्डारी, नेपाली कांग्रेस शान्तिनगरका सचिव दीपक लामिछाने, दंगीशरण गाउँ कार्यपालिका सदस्य सितरा नेपाली, टंकी भण्डारी, प्रदेश प्रतिनिधि मधु चौधरी, नेपाल विद्यार्थी संघका जिल्ला सदस्य अर्जुन भट्टराई, तरुण दलका नेता नविन योगी, जिल्ला सदस्य पद्मा चौधरी, दंगीशरण गाउँपालिका–७ का सभापति टेकबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । सम्मेलनमा सचिवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपसभापति गिरिराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव ओपेन्द्रराज शर्माले गरेका थिए ।