Goraksha

National Daily

खुमबहादुर खड्का स्मृति भलिबल आजदेखि

गोरक्ष समाचारदाता
दाङ, २० फागुन । आजदेखि खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ । घोराहीमा हुन थालेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ को तयारी पूरा भएको आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले जनाएको छ ।

जिल्लामा खेलकुद क्षेत्रको विकास, सामाजिक विकाससँगै नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नौ वटा टिमको सहभागिता हुन थालेको नेपाली कांग्रेस दाङका सहसचिव तथा खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

संयोजक आचार्यका अनुसार प्रतियोगितामा राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिकासँगै, मनिमुकुन्द भलिबल क्लव रुपन्देही, होराइजन स्पोट्र्स क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लब घोराही र रोयल मुर्कुटी युवा क्लब बंगलाचुलीको टिम सहभागी हुने भएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । खेलकुद क्षेत्रको विकाससँगै सामाजिक कार्य सञ्चालन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङले विगत चार वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको नेपाली कांग्रेस दाङका जिल्ला उपसभापति गिरिराज सुवेदीले जानकारी दिएका छन् ।

प्रतियोगिताको उद्घाटन मङ्गलवार दिउँसो १ बजे नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले गर्ने भएका छन् । प्रतियोगिताको उद्घाटन खेल दाङ सोसाइटी क्लब र रोयल मुर्कुटी युवा क्लबबिच हुने भएको छ । यसैगरी दोस्रो खेल दंगीशरण गाउँपालिका र ओली वंश समन्वय समिति दाङबिच हुने भएको छ ।

खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस दाङका पूर्वसभापति विरकेशरी गौतम, नेपाली कांग्रेस दाङका सभापतिद्वय कमानसिं भारती र गिरिराज सुवेदी, जिल्ला सचिव बालिका लम्साल, कोषाध्यक्ष प्रकाश सुवेदीलगायतका नेताको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण समितिका सदस्य रेखबहादुर वलीले गरेका थिए । प्रतियोगिता घोराही स्थित जिल्ला समन्वय समितिको मैदानमा हुने भएको छ ।