स्वास्थ्य संस्थालाई मापदण्ड पूरा गरेर सेवा प्रवाह गर्न निर्देशन
गोरक्ष समाचारदाता
तुलसीपुर, २० फागुन । राप्ती लाइफ केयर हस्पिटल प्रालि तुलसीपुरको १८औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन् ।
प्रमुख अतिथि मुख्यमन्त्री आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्ड पूर्णपालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिए । मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अतिसंवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्ड पालनामा जोड दिए ।
‘यो अस्पतालले नीति, नियम, मापदण्ड पालना गरेको यहाँ उल्लेख भयो, भविष्यमा पनि सरकारले बनाएको मापदण्ड अनुसार अघि बढ्नुहोला’, मुख्य मन्त्रीले भने । उनले जति पनि अन्य स्वास्थ्य संस्था छन् तिनले पनि मापदण्ड पूर्णपालना गर्न जरुरी रहेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्दै सर्वसुलभ र सबै नागरिकको पहुँचमा पु¥याउने नीति लिएका समेत बताए ।
उपचार सेवा मात्र नभई स्वास्थ्य र सन्तुलित जीवनशैलीका लागि सरकारको प्राथमिकतामा राखिएको उनको भनाइ थियो । ‘प्रदेश सरकारले निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिँदैन, बरू हातेमालो गर्दै अगाडि बढ्ने नीति अवलम्बन गर्नेछ’, उनले भने, ‘निजी क्षेत्रबाट हुने लगानीलाई सुरक्षित राख्दै, नियमनका माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार प्रतिबद्ध छ ।’
भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा गरेको ठुलो लगानीका कारण पश्चिम दाङका जनताले सहज स्वास्थ्य सेवा पाएको बताए । उनले सेवालाई अझै विस्तार गरी गुणस्तरी र विशेषज्ञ सेवा प्रवाह गर्नतर्फ लाग्न आग्रह गरे ।
कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेपाली कांग्रेस तुलसीपुर नगरसमितिका नगर सभापति सुरेश हमाल, वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी वर्षात, नेकपा माओवादी केन्द्रका नेता शेषुराम भण्डारी, नयाँ शक्तिका मोती रिजाल, सिटिइभिटीका लुम्बिनी प्रदेश प्रमुख यादव सुवेदी, खेलकुद परिषद्का किरण गौतम, निजी हस्पिटल एसोसिएसनका जिल्ला अध्यक्ष बालाराम शर्मालगायतले शुभकामना मन्तव्य गरेका थिए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष हरि रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अस्पतालका प्रबन्ध निर्देशक जीवन भण्डारीले गरेका थिए । सो अवसरमा अस्पतलामा अध्यनरत विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।
