Goraksha

National Daily

सम्पत्ति कर वृद्धिप्रति नागरिक समाजको ध्यानाकर्षण

गोरक्ष समाचारदाता
दाङ, २० फागुन । नागरिक समाज दाङले घोराही उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर मालपोतमा अत्यधिक वृद्धि गरेको तथा नागरिकको प्रत्यक्ष सरोकारको विषय फोहोरमैला व्यवस्थापन, विसर्जन गर्ने कार्य ठेक्कामा दिएर थप आर्थिक भार पर्ने काम गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका जिल्ला संयोजक निमबहादुर थापाको अध्यक्षतामा सोमवार घोराहीमा बसेको समाजको बैठकले घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को एकीकृत सम्पत्ति कर मालपोतमा अत्यधिक वृद्धि गर्नु असान्दर्भिक रहेको भन्दै पुनरावलोकन गर्न ध्यानाकर्षण गराएको छ ।

यसैगरी सार्वभौमसत्ता सम्पन्न नागरिकको प्रत्यक्ष सरोकारको विषय फोहोरमैला व्यवस्थापन, सङ्कलन विसर्जन गर्ने कार्य ठेक्कामा दिई नगरबासीलाई थप आर्थिक बोझ पर्ने कार्य भएको जनाउँदै साझा सरोकारको विषयमा गम्भीर बन्न ध्यानाकर्षण गराएकोे छ । नागरिकलाई उपलब्ध गराउने सेवा सुविधा स्थानीय सरकार स्वयम्ले उपलब्ध गराउनुका साथै अत्यधिक वृद्धि गरिएको कर पुनरावलोकन गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको हो ।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा तालाबन्दीका कारण विश्वविद्यालयको दैनिक प्रशासनिक तथा शैक्षिक कार्यक्रममा गतिरोध उत्पन्न भएको सन्दर्भमा जिल्ला स्थित क्रियाशील राजनीतिक दल, विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी संगठन, तालाबन्दी गर्ने पक्षको सहभागितामा सर्वदलीय सर्वपक्षीय भेला आयोजना गरी गतिरोध अन्त्य गर्न समाजका संयोजक थापाको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । जसको सदस्यमा चन्द्रराज पन्त, केबी मसाल, हरिप्रसाद पाण्डेय, लक्ष्मी आचार्य, सुशील गौतम रहेका छन् भने सदस्य सचिवमा समाजका सचिव नारायणप्रसाद श्रेष्ठ रहेका छन् ।