Goraksha

National Daily

सामुदायिक वन संरक्षणमा उपभोक्ताको महत्वपूर्ण भूमिका

गोरक्ष समाचारदाता
तुलसीपुर, १९ फागुन । ‘हरियो वन, नेपालको धन’ भन्ने आहान व्यवहारमा सार्थक हुन नसकेको सहभागीले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरको प्रथम नगर परिषद्का सहभागीले अहिलेको अवस्थामा वनको उपयोग र संरक्षण गर्ने उपभोक्ताले विभिन्न कारणले त्यसको प्रयोग गर्न नपाएको बताए ।

यसैगरी सहभागीले सामुदायिक वन उपभोक्ता समितिलहरूले वन संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महतराको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले सामुदायिक वन उपभोक्ता समितिले वातावरण संरक्षणदेखि प्राकृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले वनमा आधारित भई विभिन्न उद्यमशीलताको विकास हुनसक्ने भन्दै त्यसतर्फ लाग्न आग्रह गरे । उनले उभोक्ता समितिले वन विनाशलाई जोगाई पानीको स्रोत संरक्षणदेखि वातावरणीय अनुकूलता कायम राख्न सफल भएको बताए । उनले केही कानूनी समस्याका कारण आफैँले संरक्षण गरेको वन उपभोक्ताले आवश्यक पर्दा उपभोग गर्न नपाएको उनले बताए ।

सामुदायिक वनको अवधारणा आएपछि नाङ्गा र उजाड डाँडा अहिले हरियालीमय बनेको अवस्था रहेको उनको भनाइ थियो । खड्काले सामुदायिक वनहरूले पनि आफूहरूले दायित्व निभाउनपर्ने बताए । उनले समयममै लेखापरीक्षणदेखि सूचीकृत हुनुपर्ने बताए । उनले तुलसीपुरमा १०८ वटा सामुदायिक वनमध्य अहिले १० वटामात्र सूचीकृत भएको बताए । यसैगरी फेकोफनका निवर्तमान केन्द्रीय उपाध्यक्ष दाङका निवर्तमान उपाध्यक्ष भीमप्रकाश खड्काले सामुदायिक वनले वातावरण संरक्षणदेखि हराभरा गराएको भन्दै अहिले आफूहरूले संरक्षण गरेको वन आफैँले उपभोग गर्न पाउने अवस्था नभएको बताए ।

उनले विभिन्न कानू्नी जटिलताका कारण बर्सेनि करोडौँका काठ कुहिने र आगो लागेर खरानीमा परिणत हुने गरेको बताए । उनले जिल्लामा अहिले पाँच सय २८ वटा सामुदायिक वन भए पनि सबै राम्रोसँग सञ्चालन हुन नसकेको बताए । यसैगरी लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष डा .नहकुल केसीले वनलाई उद्यमसिशीलतासँग जोड्न सकिने बताए । उनले करको प्रणालीलाई सुधार गर्नुपर्ने भन्दै यसरी वन समूहहरू टिक्न नसक्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहन्द्रबहादुर डाँगी, तुलसीपुर रेन्जपोस्ट महासंघका अध्यक्ष सुरेन्द्रबहादुर खड्का, बरिष्ठ वन अधिकृत टेकन आचार्य, जिल्ला फेकोफन दाङका सहसचिव भुपबहादुर केसीलगायतले सामुदायिक वनका उपभोक्ताले विधान अनुसार सहज ढङ्गले काम गर्न पाउनुपर्ने भन्दै उपभोक्ताको अधिकारलाई राज्यलाई हतोत्साहित बनाउने काम गर्न नहुने बताएका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत हिरानन्द देवकोटा, बिजौरी सबडिभिजन वन कार्यालयका बरिष्ठ वन अधिकृत वीरजंग वली, स्थानीय सामुदायिक वन शान्तिनगरका अध्यक्ष भीमबहादुर खत्री, तुलसीपुर उपमहानगरपालिका वन वातावरण तथा हरियाली प्रवर्धन शाखाका प्रमुख टोपबहादुर डाँगी, ग्रीन फाउन्डेसन दाङका अध्यक्ष विष्णु केसी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतलगायतले वनलाई संरक्षण गर्न सामुदायिक वन समूहहरूले महत्वपूर्ण योगदान गरेको बताएका थिए ।

कार्यक्रममा बेस संस्थाका कार्यक्रम अधिकृत लक्ष्मण चौधरीले गुरस्तरीय विद्युतीय चुलो प्रवर्धन कार्यक्रमबारे जानकारी गराएका थिए । उपाध्यक्ष जितबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीले सामुदायिक वन उपभोक्ता समितिले तेहोरो कर तिर्न नसक्ने भन्दै यसको विरोध गरेका थिए । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव रक्षा काफ्लेले गरेकी थिइन् भने कोषाध्यक्ष रेखा रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरका सचिव रक्षा काफ्लेले गरेकी थिइन् ।