Goraksha

National Daily

‘पार्टीका लागि एकता आवश्यक’

प्रिया स्मृती गजमेर
देउखुरी १९ फागुन । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले एक सय दिने अभियानको समीक्षा गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले सय दिने अभियानका लागि खटाईएका जिल्ला प्रतिनिधिसंग छलफलसहितको समीक्षा गरेको हो ।

समीक्षा कार्यक्रममा अभियानका उपलब्धि, चुनौती र आगामी रणनीतिबारे छलफल गरेको छ । नेपाली कांग्रेसले अभियान अन्तर्गत पार्टी सुदृढीकरण, जनसम्पर्क अभिवृद्धि, संगठन विस्तार, तथा स्थानीय तहमा विकास निर्माणका कामहरूमा सक्रिय भूमिका खेल्ने उद्देश्य राखेको थियो । सहभागीले अभियान अवधिमा भएका गतिविधिहरूको समीक्षा गर्दै सुधारका पक्षमा आफ्ना सुझाव राखेका थिए ।

अभियानका क्रममा कांग्रेस दाङले जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूलाई तल्लो तहमा कांग्रेसको अवस्था के कस्तो छ, सदस्यता नविकरण, क्रियाशिल सदस्यताको अवस्था र पार्टीप्रति आम जनताको धारण बुझनका लागि प्रतिनिधि खटाएको थियो । जिल्ला प्रतिनिधिका रूपमा खटाइएका वडा प्रतिनिधिले वडा सभापति, जनप्रतिनिधि र त्यस क्षेत्रमा जिम्मेवारी पाएका नेतृत्व तहले पार्टीप्रति देखाएको अव्यावहारिक गतिविधिलाई आधार बनाएर कारबाही गर्नुपर्ने क्षेत्र र जिल्ला कार्यसमितिलाई सुझाव दिएका थिए ।

नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले पार्टीको संगठन सुदृढीकरण, एकताका लागि आवश्यक पहल, तथा आगामी योजनाहरूबारे महत्वपूर्ण धारणा राखेका थिए । उनले सय दिने अभियानको सफलतामा पार्टीका सबै कार्यकर्ताको मिहिनेत महत्वपूर्ण रहेको भन्दै भने, ‘अभियानमार्फत् हामीले संगठन सशक्तीकरण, जनसंपर्क अभिवृद्ध् िर स्थानीय तहमा पार्टीको उपस्थिति मजबुत बनाउन सफल भएका छौँ । यो अभियानले कांग्रेसलाई अझ गतिशील बनाउने काम गरेको छ ।’ उनले नेता तथा कार्यकर्तालाई निराशा हटाएर पार्टी संगठन निर्माणमा लाग्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेस दाङ–१ का सभापति भेषराज पाण्डेले अभियान सफल भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका थिए । पार्टीलाई बलियो बनाउन निरन्तर जनसम्पर्क र संगठन निर्माण आवश्यक रहेको बताए । बैठकले प्रदेश (क) का सभापति श्रीपद चौधरीलाई प्रशिक्षण विभागको प्रशिक्षण प्रमुखमा जिम्मेवारी दिइएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नं.१ का क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीको उपस्थितिमा भएको कार्यक्रमको सहजीकरण सचिव हरिहर शर्माले गरेका थिए ।