Goraksha

National Daily

पृथ्वीको जीवन र प्राकृतिक चुनौतीहरू

भुपेन्द्र सुवेदी

पृथ्वीमा जीवन अनगिन्ती प्राकृतिक चुनौतीहरुको सामना गर्दै अगाडि बढिरहेको छ । यी चुनौतीहरुले सिर्जना गर्ने संकटहरुको अगाडि सबै जीवहरु निरीह देखिन्छन् । पृथ्वीमा विगतमा भएका विभिन्न प्राकृतिक घटनाहरु तथा भविष्यमा जुनसुकै समयमा हुन सक्ने घटनाहरु जीवनका लागि सधैं चुनौती बनेर रहन्छन् । यसले पृथ्वीमा जीवन अत्यन्त संवेदनशील रहेको पुष्टि गर्छ । प्राकृतिक घटनाहरुले कहिलेकाहीँ पृथ्वीको भूगोलमा व्यापक परिवर्तन ल्याउने मात्र होइन, यहाँको जीवनसमेत समाप्त पार्न सक्ने अवस्था सिर्जना गर्छन् ।

विज्ञानका अनुसार, पृथ्वीको अस्तित्वलाई प्रभावित पार्ने प्राकृतिक घटनाहरु मुख्यतः बाह्य प्रभाव तथा आन्तरिक गतिविधिहरुबाट उत्पन्न हुने गर्छन् । अन्तरिक्षबाट पृथ्वीमा खस्ने उल्का पिण्डहरु, सौर्य आँधी तथा अन्य खगोलीय घटनाहरुले पृथ्वीको सन्तुलनमा असर पार्न सक्छन् । वैज्ञानिकहरुका अनुसार करिब ६ करोड ६० लाख वर्षअघि पृथ्वीमा एउटा विशाल उल्का खसेपछि त्यसको असरले डायनोसोरहरु लोप भएका थिए । त्यसैगरी, भविष्यमा पनि यस्ता घटनाहरु दोहोरिन सक्ने सम्भावना रहन्छ, जसले पृथ्वीको वातावरण तथा यहाँको जीवनलाई संकटमा पार्न सक्छ ।

बाह्य प्रभावहरुमध्ये उल्कापिण्ड खस्ने घटनाहरु उल्लेखनीय मानिन्छन् । अन्तरिक्षबाट साना–ठुला उल्कापिण्डहरु निरन्तर रुपमा पृथ्वीमा ठोक्किइरहेका हुन्छन् । केही विशाल आकारका उल्कापिण्डहरु पृथ्वीको गुरुत्वाकर्षणको प्रभावले सतहमा खस्न सक्छन् । वैज्ञानिकहरुका अनुसार सौर्यमण्डल वरिपरि करिब सात लाखभन्दा बढी उल्काहरु घुमिरहेका छन्, जसको कोर्स परिवर्तन भएमा ती पृथ्वीकै दिशामा आउन सक्छन् । यस्ता घटनाहरु बेलाबेलामा पृथ्वीमा असर पार्ने गर्छन् । उदाहरणका लागि, सन् २०२९ मा ‘एपोपिस’ नामक विशाल उल्का पृथ्वीको नजिक आउने वैज्ञानिकहरुले अनुमान गरेका छन् । यदि उक्त उल्काले आफ्नो परिभ्रमण पथ परिवर्तन ग¥यो भने पृथ्वीको सतहमा ठोक्किन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्था आयो भने पृथ्वीमा ठुलो विनाश हुन सक्छ ।

पृथ्वीको वातावरणमा सूर्यको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ । सूर्यको भौतिक अवस्था तथा यसको गतिविधि निरन्तर परिवर्तन भइरहेका हुन्छन् । सूर्यको तापक्रम वृद्धि तथा सूर्यमा हुने अन्य परिवर्तनहरुले पृथ्वीको तापक्रममा समेत असर पु¥याउने गर्छ । सूर्यबाट निस्किने ऊर्जाका कारण पृथ्वीको तापमान घटबढ भइरहन्छ । वैज्ञानिकहरुका अनुसार, आगामी एक अर्ब वर्षभित्र सूर्यको तापक्रम अहिलेको तुलनामा करिब १० प्रतिशतले वृद्धि हुने सम्भावना छ । यदि यस्तो भयो भने पृथ्वीको सतह अधिक तातो भई यहाँको पानी बाफ बनेर अन्तरिक्षमा विलीन हुन सक्छ । यस्तो अवस्थामा पृथ्वीमा कुनै पनि प्रकारको जीवन सम्भव नहुनेछ ।

सौर्यमण्डलको अन्य ग्रहहरुसमेत सूर्यको गतिविधिबाट प्रभावित भइरहेका छन् । पृथ्वीको भविष्य सूर्यको जीवनशैलीमा निर्भर रहन्छ । जबसम्म सूर्य बलिरहेको छ, तबसम्म पृथ्वी सुरक्षित रहनेछ । तर, वैज्ञानिकहरुको अनुमान अनुसार सूर्यको इन्धन आगामी ६ अर्ब ५० करोड वर्षभित्र समाप्त हुनेछ । अन्य ताराहरुझैं सूर्य पनि आफ्नो जीवनको अन्त्यतिर विशाल आकारमा परिणत भई त्यसको ज्वालाले पृथ्वीलाई पूर्ण रुपमा जलाउनेछ । यसको प्रभावले पृथ्वीको सतह नष्ट हुन पुग्नेछ ।

पृथ्वीको अस्तित्वका लागि अर्को ठुलो चुनौती भनेको यहाँका ज्वालामुखी विस्फोटहरु हुन् । पृथ्वीको भूपर्पटीमा हुने परिवर्तन तथा भित्री भागमा रहेको म्याग्माको चापका कारण ज्वालामुखी विस्फोट हुने गर्छ । साना–ठुला ज्वालामुखी विस्फोटहरु बेलाबेला भइरहन्छन्, तर ठुला विस्फोटहरुले पृथ्वीको भूगोलमा ठुलो परिवर्तन ल्याउन सक्छन् । यस्ता घटनाहरुले पृथ्वीको वातावरणलाई समेत प्रत्यक्ष रुपमा असर गर्छन् । विगतमा भएका ठुला ज्वालामुखी विस्फोटहरुले पृथ्वीको वातावरणलाई प्रदूषित पार्नुका साथै यहाँको तापक्रममा असर पु¥याएको इतिहास पाइन्छ । यस्ता घटनाहरुले पृथ्वीको जलवायु परिवर्तन गर्ने मात्र होइन, जीवनको अस्तित्वलाई समेत खतरामा पार्न सक्छ ।

अर्को महत्वपूर्ण चुनौती भनेको पृथ्वीको तापक्रम वृद्धिको समस्या हो । पृथ्वीमा विभिन्न कालखण्डमा हिमयुग आएको र गएको इतिहास पाइन्छ । तापक्रम घट्ने र बढ्ने क्रम निरन्तर रुपमा चलिरहेको भए पनि हाल देखिएको विश्वव्यापी तापक्रम वृद्धिको समस्या निकै गम्भीर बनिरहेको छ । वैज्ञानिकहरुका अनुसार, सन् १९०० को तुलनामा हालसम्म पृथ्वीको औसत तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भइसकेको छ । तापक्रम वृद्धिको यही दर निरन्तर जारी रह्यो भने सन् २१०० सम्ममा पृथ्वीको तापक्रम ३ डिग्रीसम्म वृद्धि हुन सक्छ । यदि तापक्रम यति धेरै बढ्यो भने अरबौं मानिसको जीवन कष्टकर बन्नेछ । उच्च तापमानका कारण केही भूभागहरु मरुभूमिमा परिणत हुन सक्ने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् ।

यदि पृथ्वीको तापक्रम ३ डिग्री सेल्सियसले वृद्धि भयो भने भारत तथा एसियाका अन्य भूभागहरु ‘सहारा’ मरुभूमिको रुप लिन सक्छन् । यो अवस्थाले लाखौं मानिसलाई विस्थापित गर्न सक्छ । यस्तै, यदि तापक्रम वृद्धिको यो क्रम रोकिएन भने आगामी २०० वर्षभित्र पृथ्वी शुक्र ग्रहझैं तातो भएर बसोबासयोग्य नहुने अवस्था आउन सक्छ । तापक्रम वृद्धिको प्रमुख कारण भनेको मानवजनित क्रियाकलापहरु नै हुन् ।

औद्योगिक युग प्रारम्भ भएपछि पृथ्वीको वातावरणमा कार्बनडाइअक्साइड तथा अन्य हरितगृह ग्यासहरुको मात्रा तीव्र रुपमा वृद्धि भइरहेको छ । विशेष गरी, जीवाश्म इन्धनको अत्यधिक प्रयोग तथा औद्योगिक क्रियाकलापहरुले वातावरणमा कार्बन उत्सर्जनलाई बढाएको छ । पछिल्लो ७० वर्षको अवधिमा मात्र कार्बन उत्सर्जन सात गुणाले वृद्धि भएको वैज्ञानिक अनुसन्धानहरुले देखाएका छन् । यस्तो अवस्थाले पृथ्वीको तापक्रमलाई थप वृद्धि गराउँदै वातावरणीय सन्तुलन खलबल्याउने सम्भावना छ ।

जलवायु परिवर्तन तथा तापक्रम वृद्धिले पृथ्वीको पारिस्थितिक प्रणालीमा ठुलो प्रभाव पार्नेछ । समुद्रको सतह बढ्ने, ध्रुवीय हिउँ पग्लने, बाढी पहिरो तथा चक्रवात जस्ता प्राकृतिक प्रकोपहरु बढ्ने खतरा रहन्छ । तापक्रम वृद्धिका कारण समुद्री सतहमा भारी परिवर्तन आउन सक्छ, जसले तटीय क्षेत्रहरुमा बसोबास गर्ने लाखौं मानिसलाई विस्थापित गर्न सक्छ । आजको समयमा पृथ्वीलाई बचाउन र तापक्रम वृद्धिको दर नियन्त्रण गर्न वातावरण संरक्षण अत्यावश्यक बनेको छ । यदि मानवले वातावरण जोगाउने उपायहरु अवलम्बन गरेन भने पृथ्वीको भविष्य अन्धकारमय बन्न सक्छ । यसकारण, वातावरणीय सन्तुलन कायम राख्नका लागि वैज्ञानिकहरु तथा वातावरणविद्हरुले हरितगृह ग्यासहरुको उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने तथा वन संरक्षण जस्ता उपायहरु अपनाउन सुझाव दिएका छन् ।