Goraksha

National Daily

महाशिवरात्री पर्वको महिमा

एकराज शर्मा अधिकारी

फाल्गुण कृष्ण चतुर्दशीको रात्रीलाई शिवरात्री भनिन्छ । यसै दिन शिव स्वरुप ज्योतिर्लिंग प्रकट भएको हो भनेर शिव पुराणमा उल्लेख गरिएको छ । शिवलिंग नै पशुपतिनाथ हुनुहुन्छ । संसारका सबै प्राणी जन्मदा पशुतुल्या नै हुन्छन् । ज्ञान हुँदैन ।

मायाको बन्धनमा बाँधिएका हुन्छन् । बासनाको बन्धनमा बाँधिएका हुन्छन् । त्यसैले नरकका यात्री बनेका हुन्छन् । पशुपति भनेको शिव हुनुहुन्छ । शिवका पनि नाथ पशुपतिनाथ हुनुहुन्छ । शिवलिंग पशुपतिनाथको प्रतिक हो । त्यो निर्गुण छ, निरञ्जन छ, निराकार छ, मन वाणी चित्त र इन्द्रीयदेखि अगोचर छ । देख्न सकिँदैन । पशुपतिनाथ सम्पूर्ण ॐ कार परिवारको एकताको प्रतिक हो ।

पशुपतिनाथ शिवको कसैसँग भेदभाव छैन । जिवात्मा र परमात्मामा भेद नभए झै पशुपति र पशुपतिनाथमा भेद छैन । जिवात्मा, मायामा, बासनामा बाधेका छन् भने माथि नै उल्लेख गरिएको छ । शिव सर्वतन्त्र स्वतन्त्र हुनुहुन्छ, सर्व शक्तिमान हुनुहुन्छ, सर्वग्य हुनुहुन्छ, अन्तरयामी हुनुहुन्छ, सबैको कामना पूरा गरिदिनुहुन्छ । परमात्माको प्रतिकको रुपमा शिवलिंगलाई मान्दछौँ । शिवरात्री पर्वमा शिवलिंगमा जलधारा गर्दछौ । शिवले जल र बेलपत्र मन पराउनुहुन्छ । लिंग भनेको चिन्ह हो । कुनै मानिसले लिंगको अर्थ नजानेर मानिसलाई भ्रममा पारिरहेका छन् । लिंगको पूजा गर्नु हुँदैन भनेर सर्वसाधरण मानिसलाई पथभ्रष्ट गराउने प्रयास गरेका छन् ।

त्यसैले यो कुरा बुझ्नु पर्छ । शिवरात्रीका दिन व्रत बसेर श्रद्धा र भक्तिका साथ शिवको पूजा आराधना गर्दै नाच, गान गर्छन् । यो हाम्रो सनातन परम्परा हो । शिवरात्री अलोकिक ज्योतिर्लिंग प्रकट भएको दिन हो । यो पशुपतिनाथको निराकार रुप हो । शिवलिंगमा ब्रमा, विष्णु, महेश्वर रहनु भएको छ र शक्तिरुपा पार्वती पनि रहनुभएको छ । मूल भागमा ब्रमा, माझमा विष्णु, सिरो भागमा महेश्वर र जलहरिमा महादेवी महा माया पार्वती रहनुभएको छ । महा प्रलयको बेला सृष्टिको आदिमा सत्असत् केही पनि थिएन केवल निर्गुण निराकार ब्रम मात्र थियो । त्यही परमात्मा तत्वबाट ज्योतिर्लिंग उत्पन्न भएको हो । ज्योतिर्लिंगको अधिष्ठान शिवतत्व हो ।

शिवतत्व निर्गुण र निराकार छ । त्यो निराकार तत्व हो । तत्वको कसरी ध्यान गर्ने भन्ने प्रश्न खडा हुन सक्छ । जसको चित्त संसारिक बासनामा फसेको हुन्छ त्यसले साकार स्वरुपको ध्यान गर्नुपर्छ । उपासना गर्नुपर्छ, पूजा गर्नुपर्छ, बन्दना गर्नुपर्छ । गणेश, सूर्य, देवी, शिव, विष्णु ईश्वरका साकार रुप हुन् । जसको चित्त शान्त छ, संसारिक बासना ज्ञानले डढिसकेको छ । आत्मालाई जानिसकेको छ । त्यो आत्मामा रमाएर बस्न सक्छ । त्यस्तो उच्च कोटीका भक्तहरुले कसैको ध्यान गर्नु पर्दैन । आत्माको ध्यान गर्नुपर्छ ।

आत्मा भनेको आफू हो । शरीर होइन । जिवात्मा र परमात्मा एकै हो । भगवान् शिवलाई सधै ध्यान मग्न भएको देखेर एकदिन भगवती पार्वतीले भन्नुभयो– तपाईले कसको ध्यान गर्नुहुन्छ ? सबैले तपाईको ध्यान गर्छन् तपाईभन्दा ठुलो कोही छैन भन्दा शिवले भन्नुभयो– मेरा इष्टदेव भगवान् राम हुनुहुन्छ । म रामको ध्यान गर्छु भनेर पार्वतीलाई उत्तर दिनुभएको थियो । भगवान् रामलाई पनि सधै ध्यान गरेको देखेर सिताले पनि पार्वतीले जस्तै रामलाई सोध्नुभयो । रामले उत्तर दिनुभयो मेरा इष्टदेवता देवाधिदेव शिव हुनुहुन्छ भन्नुभएको थियो । यसबाट बुझिन्छ ।

शिव र राममा भिन्नता छैन । व्यवहारिक रुपमा भिन्नता छ पारमार्थिक रुपमा भिन्नता छैन । नेपाल पवित्र देश हो । नेपालमा पशुपतिनाथ शिवका हजारौँ शिवलिंग छन् । यस देशमा भगवान् शिव विराजमान हुनुहुन्छ । यो नेपाल तपोभूमि हो, ज्ञान भूमि हो । यही देशमा बसेर कयौँ ऋषिमुनिहरुले ज्ञान पाएर मोक्ष भएका कयौँ उदाहरण छन् । भगवान् पशुपतिको ज्योतिर्लिंग हो, ज्योतिर्लिंग आदि र अन्त्य ब्रमा र विष्णुले पनि पत्ता लगाउन सकेका थिएनन् । उनको महिमा पत्ता लगाउन सामान्य मानिसले कसरी सक्ला ? यो शिवपुराणमा वर्णन गरेको छ ।

वैज्ञानिकहरुले पनि शक्तिको रुपमा शिवलाई मान्दछन् । शिवको शक्ति नभए एउटा पात पनि हलिँदैन । शिव प्रकाश स्वरुप हुनुहुन्छ । अरु सबै शिवबाट प्रकाशित छन् । शिव स्वत शिद्द हुनुहुन्छ । शिव नै सबैको आत्मा हो । आत्मालाई जान्न कुनै साधनको आवश्यकता पर्दैन । पारमार्थिक रुपमा ब्रम ध्येय हो । व्यवहारिक रुपमा राष्ट्रलाई ध्येय मान्नुपर्छ । विश्वका मानवलाई दाजुभाइ ठान्नुपर्छ । व्यापक दृष्टिकोण राख्नुपर्छ । राष्ट्र र राष्ट्रियता जोगाउनु पर्छ । व्यक्तिगत स्वार्थको चिन्तन त जसले पनि गर्छ । मन, बचन, कर्मले राष्ट्रको चिन्तन गर्नसके देश उज्यालो हुनेछ । देशको समुन्नती र प्रगति हुन्छ । हरेक वर्ष मनाइने शिवरात्री पर्वले सबै नेपालीलाई शुभचिन्तन गर्ने प्रेरणा मिलोस् भनी आसुतोष शिवसँग प्राथना गरौँ । यही शिवरात्री पर्वको महिमा हो । शिवको माहात्मा पढेर, बुझेर चिन्तन गरेर शिवको उपदेशलाई आत्मसाथ गरौँ ।