तुलसीपुर खानेपानीको निर्वाचनको सरगर्मी
बालाराम खड्का
तुलसीपुर, १७ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनको मिति नजिकिएसँगै तुलसीपुरमा चुनावी सरगर्मी बढेको छ । तुलसीपुर खानेपानीको निर्वाचनको मिति सार्वजनिकसँगै चुनावको माहोल तातिएको हो ।
खानेपानीको निर्वाचन चैत २ गते तोकिएको छ भने फागुन २१ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । केही दिनदेखि व्यक्तिगत तथा सामूहिक भेटघाटन तथा छलफल सुरु भएको छ । राजनीतिक दलहरू पनि कसलाई उम्मेदवार बनाउने भनेर छलफलमा जुटेका छन् ।
मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, छलफलमा जुटेका छन् । अन्य साना दल पनि नेतृत्व छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन् । गत निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा होमिएका दल अहिले भने एकल प्रतिस्पर्धामा नेतृत्व छनोटका लागि छलफल चलाएका छन् । पछि कुन दल र कुन व्यक्तिबिच तालमेल हुने भन्ने भने सबै पर्ख र हेरको अवस्थामा छन् ।
निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले भने अध्यक्षको उम्मेदवार सार्वजनिक गरिसकेको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा नेकपा माओवादी केन्द्रले सीताराम शर्मा आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पार्टीको शुक्रवार बसेको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस अघि उपाध्यक्ष समेत रहेका शर्माले आपूmलाई पार्टीले सर्वसम्मत अध्यक्षको उम्मेदवारका लागि निर्णय भएको बताए । उनले तुलसीपुर खानेपानीमा सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्षसम्म रही महत्वपूर्ण काम गरेको भन्दै अध्यक्षमा पनि आफूलाई सबैले विश्वास र सहयोग गर्ने दाबी गरे ।
हालसम्म तुलसीपुर खानेपानीको नेतृत्वको लागि औपचारिक रूपमा नेकपा माओवादी केन्द्रले मात्र अध्यक्षमा उम्मेदवार टुङ्गो लगाएको हो । अन्य दलहरूले छलफललाई अगाडि बढाएका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध व्यक्तिहरूको चर्चापरिचर्चा भने केही दिनदेखि सुरु भएको छ । अध्यक्षका लागि सबैभन्दा बढी कांग्रेसमा आकाङ्क्षी धेरै छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले कांग्रेसमा उम्मेदवारका लागि छलफल अगाडि बढेको बताए । उनले नेपाली कांग्रेस तुलसीपुर नगर समिति, प्रदेश समितिसँग छलफल गरी उम्मेदवार टुङ्गो लगाउने बताए । ‘खानेपानीको नेतृत्वका लागि विभिन्न व्यक्ति आकाङ्क्षी हुनुहुन्छ कसलाई अगाडि सार्ने भन्ने विषयमा हामी छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने छौँ’, खड्काले भने । उनले अब एक÷दुई दिनमै उम्मेदवार टुङ्गो लगाउने बताए ।
स्रोतका अनुसार अहिलेका अध्यक्ष यमकान्त भण्डारी दोस्रो कार्यकालका लागि दोहरिने गरी तयारीका साथै कांग्रेसका नेताहरूसँग भेटघाट तथा लविङ गर्दै आएका छन् । उनले खानेपानीका विभिन्न योजना अगाडि बढिरहेको समयमा त्यसलाई पूरा गर्न एकपटक आफूले पुनः नेतृत्व गर्ने अवसर दिनुपर्ने दाबी गदै आएका छन् ।
अघिल्लो निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएर झिनो मतले पराजित यातायात व्यवसायी तथा कांग्रेस नेता पवनराज बुढाथोकी पनि नेतृत्वको दौडमा छन् । उनले यसअघि नै आफू पनि अध्यक्षको आकाङ्क्षी रहेको अभिव्यक्ति दिएका छन् । यसैगरी कोषाध्यक्ष भोला थापा पनि नेतृत्वको दाबीमा छन् । उनी पनि अध्यक्षको आकाङ्क्षी छन् । यसैगरी नेपाली कांग्रेसबाट खानेपानीको अध्यक्षमा मदन धिताल, सोभाखर सापकोटा, नारायण शर्मा, यमुना शाह पनि अध्यक्षको आकाङ्क्षी रहेको स्रोतले बताएको छ ।
नेकपा एमालेले उम्मेदवारका लागि छलफल सुरु गरेको जनाएको छ । नेकपा एमाले तुलसीपुर नगर कमिटीका सचिव जितबहादुर खड्काले फागुन १८ गतेसम्म आफूहरूले पार्टीबाट उम्मेदवार टुङ्गो लगाउने बताए । उनले नेकपा एमालेको तर्फबाट अहिलेका खानेपानी सचिव शेवकराम भण्डारी, पूर्वसचिव मनोज लामिछाने र उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामप्रसाद चालिसे अध्यक्षमा दाबी र उनीहरू आकाङ्क्षी भएको बताए । उनले आफ्नो पार्टीलाई अध्यक्ष दिए अन्य दलसँग गठबन्धन हुने अन्यथा हुन नसक्ने बताए ।
‘हाम्रो पहिलो दाबी अध्यक्षको रहेको छ, यदि अध्यक्ष दिएमा हाम्रो अन्य दलसँग सहकार्य हुन सक्छ’, खड्काले भने । यसैगरी रिपोट्र्स क्लब दाङ शाखाका अध्यक्ष पत्रकार शरद रेग्मीले आफू कोषाध्यक्षमा निर्वाचन लड्र्ने घोषणा गरिसकेका छन् । उनले कांग्रेसबाट कोषाध्यक्ष पदका लागि आफू चुनाव लड्र्ने बताए । ‘म टिकट दिए पनि नदिए पनि कोषाध्यक्षमा लड्र्ने आकाङ्क्षी हुँ, म निर्वाचनको तयारी गरिरहेको छु’, उनले भने ।
निर्वाचनमा अन्य आकाङ्क्षी पनि छन् । अन्य पदका लागि आफ्नो पक्षमा दल व्यक्ति र सामूहिक लविङ गरिरहेका छन् । हाल तुलसीपुर खानेपानी संस्थामा कुल ११ हजार छ सय बढी उपभोक्ता छन् । तुलसीपुर खानेपानीमा अब आउने निर्वाचनमा कुन दल र को–को उम्मेदवार बन्छन् र कसले नेतृत्वमा बाजी मार्ला भन्ने चर्चा अहिले बजारमा चलिरहेको छ ।
