सहकारीमैत्री वनभोज कार्यक्रम
गोरक्ष समाचारदाता
दाङ, १७ फागुन । दाङका सहकारी अगुवाले सहकारीको नीति, विधि र प्रविधिमा रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ दाङको आयोजनामा शुक्रवार बाह्रकुने दहमा भएको सहकारीमैत्री वनभोज कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष बिमल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले पछिल्लो समय केही सहकारीले रकम अपचलन गरेकै कारण समग्र सहकारी संस्था आलोचित हुन पुगेको बताएका थिए । सरकारले सहकारीसम्बन्धी ल्याएको अध्यादेशले विभिन्न समस्या निम्त्याएको भन्दै सहभागीले सहकारीमा भएका समस्या सबैको साझा समस्या भएको भन्दै समाधानका लागि एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवर्धन शाखा प्रमुख प्रेम केसी, जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष बिमल अधिकारी, राष्ट्रिय सहकारी बैंक लिमिटेड घोराही शाखा प्रमुख प्रदीप अर्याल, जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष माधव खनाल, नेफस्कुन फिल्ड कार्यालयका प्रमुख विष्णु जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका उपाध्यक्ष भगवती शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष गिरिराज अधिकारीले गरेका थिए । कार्यक्रममा जिल्लामा रहेका सहकारी संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।
