४३ औँ राष्ट्रिय मगर एकता दिवस
गोरक्ष समाचारदाता
दाङ, १६ फागुन । मगर समुदायको भाषा, कला, संस्कृति र भेषभुषासँगै आर्थिक रूपमा समृद्ध बनाउनसके मात्र देशले समृद्धि प्राप्त गर्ने वक्ताले जोड दिएका छन् । ४३ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा बोल्ने वक्ताले मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।
‘मगरात सभ्यता दस्तावेजीकरण गर्दै, लखन संस्कृति सङ्ग्रहालय बनाऔँ, साङ्गठनिक रूपमा ४३औँ स्थापना दिवस सफल पारौँ’ भन्ने नारासहित भएको कार्यक्रममा बोल्ने वक्ताले आफ्नो कला, संस्कृति, भाषा र भेषभूषाको संरक्षण गर्दै गर्व गर्न सक्नुपर्ने बताएका थिए । नेपाल मगर संघ केन्द्रीय निवर्तमान अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोका मगरले मगर समुदायको मुद्दामा समग्र मगर एक ठाउँमा उभिनुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि रोका मगरले मगरहरूले इतिहासमा समाज र राष्ट्र हितका पक्षमा योगदान दिएको भन्दै समुदायको हितका पक्षमा अब उभिने बेला आएको बताए ।
‘हाम्रा पुर्खाले समाज र राष्ट्रहितको पक्षमा काम गरे । जसले देशका लागि योगदान गरेका छन्’, कार्यक्रममा रोकाले भने, ‘उनीहरूको सन्तान हुनुमा, मगर हुनुमा गर्व गर्नुस् । हामी कला, संस्कृति, भेषभूषामा धनी छौँ । यो कुरा अहिलेको पुस्ताले नयाँ पुस्तालाई बुझाउनु पर्छ । भाषा आउँदैन भने सिक्न जरुरी छ ।’ उनले मगर समुदायको सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक क्षेत्रमा राज्यले गरेको व्यवहार र समुदायले गरिरहेको प्रयासको विषयमा समीक्षा गर्दै अघि बढ्नुपर्ने समय आएको बताए । मगर संघ स्थापनापछि मगर समुदाय सङ्गठित हुँदै गएको, शैक्षिक चेतना बढेको, आर्थिक क्षेत्रमा क्रियाशील हुन थालेका भन्दै अब यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बेला आएको भन्दै नयाँ पुस्तामा मगर समुदायको भाषा, कला, संस्कृति बुझाउन र अरू समुदायको अस्तित्व पनि स्वीकार गरेर अघि बढ्न सक्नुपर्ने बताए ।
२०३८ साल फागुन १५ गते हेमबहादुर पुनको नेतृत्वमा मगर संघ स्थापना हुनु नै मगर समुदायको एकताको दिनका रूपमा सबैले लिनुपर्ने भन्दै उनले भने, ‘इतिहासको कालखण्डमा मगरको इतिहास लेख्नेको हात काट्ने, बोल्नेको जिब्रो काट्ने, अधिकार माग्नेलाई मृत्युदण्ड दिने काम भयो । दमन र विभेदका कारण मगर जातिले आत्मसम्मान पाउन सकेनन् । गुमेको अधिकार फिर्ता ल्याउन वनभोजका नाममा सङ्गठित हुने काम भयो । मगर समुदायले राज्यसँग दावा बोलेको दिन आजको दिन हो ।’
उनले राजनीतिभन्दा माथि उठेर समुदायको हितको पक्षमा लाग्नुपर्ने बताए । नेपाल मगर संघ दाङका कार्यवाहक अध्यक्ष मुक्त बुढाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य यमुना मगरले मगर समुदायको भाषा, कला, संस्कृति उजागर गर्ने अवसरका रूपमा मगर संघको कार्यक्रमलाई लिएको बताइन् । उनले मगर समुदायबाट नीति निर्माण तहमा पुगेकाहरूबाट पहल भइरहेको भन्दै अब तीन तहका सरकारलाई मगर समुदायको उत्थानका लागि पहल गर्न जोड दिनुपर्ने बताइन् । उनले प्रदेश सरकारबाट मगर र थारू समुदायको भाषालाई कार्यान्वयन गर्ने प्रयास भइरहेको पनि जानकारी गराइन् । मगर समुदायको सवलीकरण गर्न भूमिकामा रहेको भन्दै वर्तमान सरकारले यसमा चासो लिइरहेको बताइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले मगर समुदायको पहिचानसँगै समृद्धि र सशक्तीकरणमा पनि ध्यान दिन मगर समुदायबिच एकता पहिलो आवश्यकता रहेको बताएका थिए । लोकतन्त्रमा सबैको सम्मान गर्ने वातावरण संविधानले दिएको भन्दै सहभागी वक्ताले एकले अर्काको कला, सस्कृति, भाषा, धर्मको सम्मान गरेर अघि बढन जरुरी रहेको बताएका थिए ।कार्यक्रममा नेपाल मगर संघका उपाध्यक्ष दरजित रोका, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सविन प्रियासन, नेपाल मगर संघ दाङका संस्थापक सहसचिव लुमाकान्त कवर मगर, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वली, मगर संघका पूर्वअध्यक्ष जितबहादुर घर्ती मगर, नेपाल मगर संघ शान्तिनगर गाउँपालिका अध्यक्ष खामबहादुर बुढामगरलगायतले बोलेका थिए ।
उपाध्यक्ष जयप्रकाश घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव नरेन्द्र बुढा र सदस्य कमल कवँर मगरले गरेका थिए । कार्यक्रम गर्नुअघि विभिन्न पालिकाबाट सहभागी भएका मगर समुदायले भेषभूषा र बाजागाजासहित बजार परिक्रमा गरी मगर संघको परिसरमा पुगेका थिए । थापना दिवसका अवसरमा मौलिक नृत्य प्रस्तुतसँगै लखन कप फुटबल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । यसैगरी प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।