शिवलाई जानौँ, सत्कर्म गरौँ ।

नारायणप्रसाद श्रेष्ठ

आज महाशिवरात्री, हिन्दु धर्माबलम्वीले बढी श्रद्धा र विश्वासका साथ मनाइने पर्व, यस अवसरमा सम्पूर्ण हिन्दु धर्ममा आस्था राख्ने प्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । परमपिता परमात्मा शिव बाबाले सबैको इच्छा र आकाङ्छा पूरा गरुन् । यस पर्वले सबैलाई सत्मार्गमा लाग्न प्रेरणा जगाओस् शुभकामना । धार्मिक सहिस्णुता बोकेका प्रत्येक धर्मका धर्मपिताले विविध नाम र विधिको माध्यम शिवको महिमाबारे व्याख्या गरेको पाइन्छ ।

कर्मको सार्थकताले प्राप्त हुने उपलब्धी र जीवनलाई गतिशिल बनाउन अनेक उपायहरु अबलम्बन गर्न सुझाएको पाइन्छ । उनीहरुको विचार र मतलाई विश्लेषन गर्ने हो भने ईश्वर न्यम एक रहेछ र यो सर्व शक्तिमान र सर्वोच्च रहेछ भन्ने बुझिन्छ । अहिले परमपिता परमात्मा शिवलाई विभिन्न नाम र रुपबाट पुकारिएको पाइन्छ । हे ईश्वर, अल्हा, ओ गड, मलाई मुक्ति धाममा लैजाउ भनेर परम पिता परमात्मा शिवसँग दिनहुँ प्रार्थना गरिरहेका पाइन्छ । शिवको महिमा र सत्यबारे अनेक उदाहरण दिँदै उनको शक्ति र क्षमताबारे विश्लेषण गरेको देखिन्छ । रोग, भोग, शोक रहित, अजन्मा र सबैको कल्याणकारीको रुपमा शिवलाई पहिचान गराउन खोजिरहेका पनि पाइन्छ । वास्तवमा शिवको परिचय के हो ? उहाँले हामीलाई कसरी रक्षा गरिरहनु भएको छ यो गम्भीर विषय छ । अब लागौ यसको महिमा र विश्लेषणतर्फ ।

मानिस मुक्ति तथा पूर्ण शान्तिको इच्छा राख्दछ । हे ईश्वर ! हे अल्ला ! ओ गड ! मलाई शान्तिपूर्वक त्यो बासस्थानमा लैजाउ जहाँ परम आनन्द प्राप्त हुन्छ भनी परमपिता परमात्मा शिवसँग पुकार गरिरहेको पाइन्छ । उहाँ को हुनुहुन्छ ? नचिनेर पनि अन्तरमनबाट उहाँप्रति श्रद्धाभक्ति प्रकट गरिरहेको स्थिति छ । चैतन्य ज्योतिविन्दु परमपिता परमात्मा सदा शिव जो आदि र अन्तका पथ प्रदर्शक र गुरु पनि हुनुहुन्छ । उहाँलाई हामी कसैले जान्दैनौ पनि तर पनि हामीले हाम्रो अन्तस्करणबाट उहाँको सम्झना र पुकार गरिरहेका छौँ । जब अन्तरमनको सत्यभित्र रहेको आत्मसत्यको पहिचान गर्न सक्दैनौ आफूले आफैलाई चिन्दैनौ तबसम्म परमात्मा जान्न सकिन्न ।

अहिले मानिसले जीवनको उत्तरार्ध र अन्तिम घडीमा ईश्वरको नामस्मरण गर्न प्रेरणा दिन्छौँ, हे राम, हे शिव, हे कृष्ण आदि नाम पुकार्न र सम्झन प्रेरित गर्दछौ पनि वास्तवमा यस्तो किन ? यो निकै गम्भीर विषय छ । हामीले अन्तिम घडीमा भन्न लगाउनुको रहस्य के हो ? हामी किन अप्ठेरो अवस्थामा मात्र भगवान्लाई सम्झन्छौ । यसको गहिरिएर बुझ्ने हो भने बाह्य आवरणमा जे जस्तो आचरण र व्यवहार भए पनि अन्तरमनको सत्यले सिकाएको छ, हामीलाई विश्वास छ, एउटै सर्वशक्तिमान ईश्वर हाम्रो सहाय छन् भनेर, उनले नै हामीलाई पार लगाउन सक्छन् । यही विश्वास र भरोसाको कारण ईश्वरलाई पुकार्छौ तर विडम्बना मान्नु पर्छ उनै ईश्वरको पहिचान हामीसँग छैन ।

वास्तवमा ईश्वर अन्तरमनको त्यो सत्य हो जो निराकार निरन्जन भएर रहेका हुन्छन् । अहिले हामी सबैले परमात्मालाई हे पिता, दुखहर्ता, सुखकर्ता, प्रभु भगवान्, इशु अल्हा आदि सम्बन्ध सूचक शब्दले पुकार्छौ । भगवान् ईश्वर एउटै छ पनि भन्दै पनि गएका छौ । जातीय र धार्मिक सद्भाव खलबलिने गरी एक अर्काप्रति वैरभाव पनि उत्पन्न गराउने गर्दैछौ । वास्तवमा यो हाम्रो सोच र चिन्तनमा देखा परेको अनास्था हो । के हिन्दु, मुस्लिम, इशाईका भगवान् अलग हो र ? यो हुन सक्ने कुरै होइन । किनकि हामीलाई यस धर्तीमा ल्याउने लैजाने त एउटै भगवान् हुन् । जसरी लौकिक पिता जसलाई विभिन्न शब्दले पुकारिन्छ बुबा, पिता, बाबु, ड्याड, ड्याडी, फादर त्यसरी नै हाम्रो असली रक्षक पिता परमात्मा शिवलाई पुकार्ने नाम पनि अलग छन् ।

तसर्थ लौकिक पिता जसले दुःख पीडा, खुसीमा साथ र सहयोग दिइरहन्छन् त्यसरी नै निराकार जो शब्द, ध्वनीमा रही प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरिरहनु भएको छ, उहाँ देवताको पनि देव, पिताको पनि पिता परम पिता शिव बाबा हुनुहुन्छ यो सत्य बुझ्न जरुरी छ । प्रकृति र प्रकृतिमा रहेका दृश्य अदृश्य जति पनि यो भू–धरातलमा रहेका छन्, सृष्टिचक्रमा प्रवेश गरेका छन् ती सबै ईश्वरीय रचनाभित्र प्रदर्शीत भएका हुन् । अहिले हामीले हाम्रो सही र स्पष्ट गन्तव्य र शिव शक्तिको महिमा नबुझेर हामीले हाम्रो संस्कारलाई गलत दिशामा उन्मुख गराइरहेका छौँ । खान हुने नहुने चिजबस्तु ग्रहण गरिरहेका छौ । जथाभावी विचार प्रदर्शन गरिरहेका छौ वास्तवमा यो हाम्रो भ्रम हो । किनकि भगवान् नचिन्नेले संस्कारलाई पनि जानेको हुँदैन यो सत्य हो ।

मानिस भगवान्को दर्शनको लागि अहिले विभिन्न स्थान विशेषमा भट्किरहेको पाइन्छ । अन्तरमनको सत्यभित्र रहेको ढोका नखोली भगवान् खोजिरहेका पनि छौ । वास्तवमा जो म हुँ, यस धर्तीमा छु र मेरो आँखाले जे देखिरहेको छ त्यो सत्य होइन । किनकि चर्मदृष्टिको आँखाले देखेको सत्य भनेको भ्रम मात्र हो । हाम्रो बिलासी आँखाले केवल बिलासीलाई देखेको हुन्छ । किनकी उ लोभ, मोह, अहंकार र आशक्तिदेखि टाढा रहन सकेको छैन । तसर्थ यो सत्यलाई बुझी जो अजन्मा छ, जो सर्वोच्च छ, त्रीकालदर्शी छ, सर्वधर्म मान्ने, परम पवित्र भएर प्रकट हुने सामर्थ राख्दछ, त्यो निराकार शिव जो ज्योति विन्दुको रुपमा हुनुहुन्छ उहाँको महिमा बुझ्न सक्नुपर्दछ ।

निराकारको मतलव आन्तरिक आकारदेखि पर र शिवको अर्थ कल्याणकारी जसलाई सत्यम शिवम सुन्दरम भनी पुकारिन्छ त्यही शिव बाबाको असली पहिचान हो । शरीरधारी मनुष्य आत्मा जसको आत्मामा भगवान्को बास, मिलन हुन्छ त्यो केवल पुरुषार्थी महान आत्मा हो । जसलाई पुण्य आत्मा, धर्मात्मा, देवात्मा र महात्मा भनी चिनिन्छ, नाम अनेक भएर पनि एक छ त्यो शिव हो । किनकि परमात्मा एक छ । दिव्य आत्मा धेरै हुनसक्छ तर सत्य एउटै हुन्छ । पञ्चतत्वभित्र रहेको अग्नि, जल, वायु, पृथ्वी, आकाश, यो परमेश्वर होइन । यो प्रकृति, परमेश्वरको रचना हो । आत्मा परमात्माको वंश हो । पानी पानीसँग मिल्न सक्छ तर परमपिता परमात्मा शिव एक छन् । यिनी अजन्मा र निराकार छन् । हिन्दु सभ्यताका अनुयायीहरुले ठाउँ–ठाउँमा परमपिता शिवको मन्दिर राखेको पाइन्छ ।

ॐ नमः शिवायको मन्त्र उच्चारण गर्दै शिवको महिमा गुण र ज्ञानका कुराहरु गरेको पाइन्छ । शिवलाई रामकृष्ण आदि देवताहरुभन्दा पनि उच्च अर्थात् परम पुज्य मानेर पूजा गरेको पनि पाइन्छ । यस्तै हिन्दु सभ्यताभन्दा बाहिर रहेका अन्य धर्मावलम्बीहरुले पनि कुनै न कुनै रुपमा शिवलाई मान्दै आएको पाइन्छ । राजा विक्रमादित्यले स्थापना गरेको सोमनाथ मन्दिर, त्यसपछिका विश्वनाथ, अमरनाथ, पशुपतिनाथमा शिवको स्मरण स्वरुप शिवको चिन्ह शिवलिंग राखेको पाइन्छ । गोपेश्वर र रामेश्वर मन्दिर, जहाँ रामले लंका आक्रमण गर्नको लागि आराधना गर्नुभएको थियो, त्यहाँ पनि शिवको चिन्न पाइन्छ । शिव, सम्पूर्ण देवदेवता सबैका पूज्य हुनुहुन्छ । गौतमवुद्ध, शंकर, महादेव र महावीरले पनि यसै शिवको प्रतिक स्वरुप शिवलिंगलाई पुजेको पाइन्छ ।

मुसलमानको मुख्य तीर्थस्थल मक्कामा पनि एक किसिमको यस्तै प्रकारको शिला राखेको र सबैले यसैलाई प्रेमले अंकमाल र चुम्वन गरेको पाइन्छ । इब्राहिम तथा मुहम्मदद्वारा स्थापित संगेअसवत पनि भन्ने गरेको पाइन्छ । उनीहरुको धर्ममा प्रतिमा पूजाको मान्यता नभए पनि यो आकारको शिला पत्थरको स्थापना गरिएको पाइन्छ । रोमन क्याथोलिक इसाईहरु पनि यसै आकारको प्रतिभालाई पुज्दछन् । सिख धर्मका स्थापक नानकले पनि निराकार ज्योति मान्दछन् । यहुदीहरुले जेहोबा भनी पुकार्दछन् । जापानमा, बौद्ध धर्मका अनुयायीहरुले ३ फिट अग्लो स्ट्याण्ड माथि यसै किसिमको प्रतिमालाई राखी मनलाई एकाग्र बनाउँछन् ।

यसरी सबै मानव आत्माको परमपिता परमात्माको स्मरण चिन्ह यत्रतत्र भएको पाइन्छ । नयम ष्क ष्निजत वा ष्निजत ष्क नयम भनेर ईश्वरलाई उज्यालोको प्रतिक स्वरुप शिवको महिमा गरेको पाइन्छ । तसर्थ शिवरात्रीको महिमालाई बुझेर अन्धकारलाई हटाएर उज्यालो बनाउने शक्तिको स्रोत शिवको महिमा बुझी आफूलाई भक्तिपूर्वक समर्पण गरौँ । शिव, देवताका पनि देव परमात्मा शिव सबैका पुज्य हुनुहुन्छ । तसर्थ यही कुरालाई बुझेर आफू र आफ्नो परिवेशलाई असल कर्मतिर लगाइ सच्चाइको अनुभूतिसँगै शिव प्रकाश हो, उर्जा हो, ज्योतिपुन्ज हो, ज्योतिर्लिंग आनन्द स्वरुप हो भन्ने बुझी आफूलाइ समर्पण गरौँ । आजको दिनले यही सन्देश दिन खोजेको छ । अस्तु ।