महाकुम्भ : आध्यात्मिक ऊर्जा, धार्मिक आस्था र संस्कृतिको सङ्गम

वंशीकुमार शर्मा

वैदिक सनातनीहरुको महान मेला महाकुम्भ भारतको उत्तरप्रदेश प्रयागराजमा चलिरहेको छ । तीर्थहरुको अधिपति प्रयागमा १४४ वर्षमा लागेको मेलामा करोडौँ सनातनीहरुले स्नान गरेका छन् । ४५ दिनसम्म लाग्ने मेलामा ४५ करोडभन्दा बढिले स्नान गरेका छन् । वृहस्पति (ग्रह) वृष राशिमा र सूर्य मकर राशीमा परेपछि कुम्भमेला लाग्दछ । तर, यसपटक सूर्य, चन्द्र एकै राशिमा परेको, वृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बिचमा कुम्भ सङ्क्रान्ति परेकोले महाकुम्भ योग परेकोले यसैलाई महाकुम्भ भनिएको छ ।

आगामी १४४ वर्ष पछाडि यस्तो योग पर्ने ज्योतिषहरुले भनेका छन् । धर्मशास्त्रमा लेखिए अनुसार कुम्भ जम्मा १२ स्थानमा हुने जस्मा ४ स्थान पृथ्वीमा र ८ स्थान स्वर्गमा देवताहरुले मनाउने भनिए पनि अहिले पृथ्वीका ५ स्थानमा कुम्भ मेला लागिरहेका छन् । भारतका चार स्थान र नेपालको एक स्थानमा कुम्भ मेला लाग्दछ । ती ५ स्थानमध्ये भारतका ४ ठाउँमा प्रत्येक ३–३ वर्षको अन्तरालमा लाग्दछ भने १ कुम्भ स्थल नेपालमा पर्दछ । ती स्थानहरु इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश) नासीक (महाराष्ट्र) हरिद्वार (उत्तराखण्ड) चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) कुम्भ मेला एक स्थानमा प्रत्येक १२ वर्षमा लाग्ने गर्दछ । हिन्हु धर्मका सबै ग्रन्थहरुमा कुम्भ मेलाको वर्णन गरिएको पाइन्छ ।

धर्म ग्रन्थकाअनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरुबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ । कुम्भ मेला वैदिक सनातनीहरुको गहिरो धार्मिक परम्परा र आस्थाको प्रतिक हो । जसले मानिसहरुलाई शुद्धता, मोक्ष, र आत्मशुद्धिको मार्गतर्फ प्रेरित गर्छ । यो विश्वकै सबैभन्दा ठुलो धार्मिक तथा आध्यात्मिक मेला मानिन्छ । महाकुम्भको इतिहास पुरानो छ । धार्मिक ग्रन्थहरुका अनुसार सत्ययुगमा पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । त्यसपछि शंकराचार्यले सुरुवात गरेका हुन् भन्ने उल्लेख गरिएको छ । कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो । कुम्भमेलासमुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा

(कुम्भ) का लागि देवता र दानवहरुबिच युद्ध भएको पौराणिक प्रसंगसँग जोडिएको छ । समुद्र मन्थनको समयमा देवता र दानवहरु अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृत घडा लिएर भागिदिए, त्यसपछि ती देवता र दानवहरु पनि कलश लिन जयन्तको पछि लागे ।

यस समयमा देवता र राक्षसहरुबिच भयानक युद्ध भयो । जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ । अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको धार्मिक ग्रन्थहरुमा लेखिएको छ । उक्त युद्ध १२ देव वर्षसम्म चलेको थियो र प्रत्येक देव वर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ । कुम्भमेला भारतका चार स्थानमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ । दुईटा कुम्भमेलाको बिचमा अर्धकुम्भ मेला पनि आयोजना गरिन्छ ।

महाकुम्भ मेला हिन्दु धर्मावलम्बीहरुका लागि एक प्रमुख धार्मिक उत्सव हो । यो मेला प्रत्येक १२ वर्षमा एकपटक आयोजना गरिन्छ र हिन्दु धर्मशास्त्र अनुसार चार पवित्र स्थलहरु (हरिद्वार, प्रयागराज
(इलाहाबाद), उज्जैन, र नासिकमा पालैपालो मनाइन्छ । हिन्दु ग्रन्थहरु अनुसार, समुद्र मन्थनको क्रममा अमृत कलशबाट चार थोपा यी चार स्थानहरुमा खसेका थिए । त्यसैले यी स्थानहरुलाई अत्यन्तै पवित्र मानिन्छ । अमृत घडा नेपालको चतरामा खसेको भनेर नेपालमा पनि कुम्भ मेला लाग्ने गरेको छ । कुम्भ मेलामाशाही स्नान (प्रमुख दिनहरुमा साधु सन्तहरुको अगुवाइमा विशाल जुलुस निकालिन्छ र तीर्थयात्रीहरुले पवित्र स्नान गर्छन् ।

धार्मिक प्रवचन र सत्संग विश्वभरका प्रसिद्ध गुरुहरुले प्रवचन दिन्छन्।अखाडा जुलुस विभिन्न साधु सन्तका अखाडाहरु आ–आफ्नो झाँकीसहित मेलामा सहभागी हुन्छन् । योग र ध्यान मेलाको अवसरमा योग, ध्यान, तथा आध्यात्मिक गतिविधिहरुको आयोजना गरिन्छ । महाकुम्भ केवल धार्मिक मात्रै नभई सांस्कृतिक रुपमा पनि महत्वपूर्ण छ । यस अवसरमा विश्वभरका लाखौं वैदिक सनातनीहरु तीर्थयात्री, साधु सन्त, धार्मिक गुरु, तथा पर्यटकहरु मेलामा सहभागी हुन्छन् । यसको प्रभाव सामाजिक मेलमिलाप, धार्मिक सहिष्णुता, र आध्यात्मिक चेतनामा पर्छ ।

अहिले भारतको उत्तर प्रदेशस्थित प्रयागराजकोगंगा, जमुना र अदृष्य सरस्वती नदीको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला चलिरहेको छ । प्रयागराजमा जारी महाकुम्भ मेलामा भक्तजनहरुको अत्यधिक उपस्थिति रहेको छ । मेलाको आकर्षणका त्रिवेणी संगममा गंगा, यमुना र अदृश्य सरस्वती नदीको संगम स्थलमा स्नान गर्न करोडौँ सनातनी भक्तजनहरु उपस्थित भएका छन् । १४४ वर्षमा एकपटक लाग्ने यो दुर्लभ महाकुम्भमा अहिलेसम्म ४५ करोडभन्दा बढी श्रद्धालुहरुले पवित्र स्नान गरिसकेका छन् । त्रिवेणी संगम क्षेत्रमा ब्यानर, पोस्टर तथा झिलिमिली बत्तीहरु सजाइएको छ । मेलास्थलमा तीर्थालुहरुका लागि सुविधा सम्पन्न अस्थायी टेन्ट हाउसहरु निर्माण गरिएका छन् ।

मेलामा वास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर, तथा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन् । ६ हजार संख्या सहित सरकारी तथा निजी अस्पतालहरु तयारी अवस्थामा छन् । एयर एम्बुलेन्स, सडक एम्बुलेन्स तथा हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने व्यवस्था गरिएको छ । भक्तजनहरुको सहज स्नानका लागि विभिन्न घाटहरु निर्माण गरिएका छन् भने मोटरबोट तथा डुंगाहरुको उचित व्यवस्था गरिएको छ । महाकुम्भ मेलामा विश्वभरबाट आएका भक्तजनहरुको उल्लेखनीय सहभागिता देखिन्छ, जसले यस मेलालाई विश्वकै सबैभन्दा ठूलो धार्मिक तथा आध्यात्मिक मेलाको रुपमा स्थापित गरेको छ । भक्तजनहरुको उपस्थितिले यो महाकुम्भ मेलाले विश्वमा हुने सबै जमघटलाई पनि उछिनेको छ ।