स्थानीयस्तरमै सेनिटाइजर उत्पादन

बालाराम खड्का

तुलसीपुर, १८ बैशाख । बजारमा सेनिटाइजरको अभाव भएको समयमा यहाँका युवाहरुले भने स्थानीयस्तरमै सेनिटाइजर उत्पादन गर्न शुरु गरेका छन् । कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट बच्न सावुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्नेको संख्यामा वृद्धि भएसँगै बजारमा अहिले सेनिटाइजर अभाव कायमै छ । त्यसका साथै मूल्य पनि धेरै रहेको छ । कोभिड–१९ को महामारीको न्यूनीकरणका लागि तुलसीपुरमा रहेका विभिन्न सामाजिक संस्थामा संलग्न युवाले सेनिटाइजर उत्पादन शुरु गरेका हुन् । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा युएसएआइडीको आर्थिक सहयोगमा कोभिड–१९ विरुद्ध प्रतिकार्यका लागि साझेदारहरुबीच सेनिटाइजर उत्पादन तालिम लिएसँगै तुलसीपुर क्षेत्रमा रहेका जेसीज, रोट्रयाक, निजी अस्पताल, महिला उद्यमीले संयुक्तरुपमा सेनिटाइजर उत्पादन गर्न शुरु गरेको कार्यक्रमका टिम लिडर तथा संघका सचिव विनिल केसीले बताए । यस क्षेत्रका विभिन्न ५० जना स्वयंसेवीहरुलाई तालिम दिएको र उनीहरुले पहिलोपटक १ हजार २ सय ५० लिटर सेनिटाइजर उत्पादन गर्नेगरी उत्पादन शुरु गरेको बताएको छ । डव्लूएचओको मापदण्डअनुसार उत्पादन गरेको सेनिटाइजर स्थानीय सरकारको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाभित्रका १९ वटा वडाका स्वास्थ्य संस्थाहरुलाई पहिलो चरणमा निःशुल्क वितरण गरिने तुलसीपुर उद्योग वाणिज्य संघमा अध्यक्ष बीरु रावतले जानकारी दिएका छन् ।
त्यस्तै आवश्यकता अनुसार सेनिटाइजर उत्पादन कार्यलाई निरन्तरता दिने पनि उनको भनाइ छ । ‘युएसएआइडीको सहयोग र स्थानीय पालिकाको प्राविधिक सहयोगमा हामीहरुले यो पाइलट योजना शुरु गरेका हौ, विपद् व्यवस्थापनको क्षेत्रमा अन्य कार्यक्रमहरु पनि हामीहरुले ल्याउने छौं’, उनले भने । फार्मेसी अधिकृत प्रविन तिमिल्सिना र तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक विमल केसीले दुई दिनसम्म सेनिटाइजर उत्पादन सम्बन्धी तालिम दिएसँगै उत्पादन शुरु गरिएको हो । सेनिटाइजरमा ८० प्रतिशत अल्कोहल र अन्य केमिकलसँगै स्थानीय घ्यूकुमारी, पुदिना सुगन्धका लागि प्रयोग गरिएको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिए । उनले बजारमा आएका सेनिटाइजरहरुको विषयमा प्रश्न उठेको समयमा यहाँ उत्पादन भएको सेनिटाइजर भने मापदण्डमा निर्माण गरिएकाले उपयोगी भएको दाबी गरे ।
सेनिटाइजर उत्पादन तालिममा सहभागी युवाहरुलाई कोरोना भाइरस जोखिम न्यूनीकरणमा अपनाउनुपर्ने सावधानी, आपतकालीन अवस्थामा हुनसक्ने जोखिम र सावधानीका विषयमा समेत प्रशिक्षण गराइएको प्रशिक्षक केसीले जानकारी दिएका छन् । सेनिटाइजर उत्पादनसँगै अभावलाई कमी गर्नुका साथै स्थानीयस्तरमा उत्पादन गरेको सेनिटाइजर प्रभावकारी हुने बताइएको छ । यस कार्यमा तुलसीपुर उद्योग वाणिज्य संघले पनि केही रकम लगानी गरेको छ भने स्थानीय पालिकाले प्राविधिक सहयोग गर्दै आएका छन् ।