दाङ, १८ बैशाख । बंगलाचुलीमा गाउँपालिकाको क्वारेन्टाइनमा बसेको ¥यापिड डाइग्लोष्टिक टेष्ट (आरडी टी) परीक्षणमा समस्या भएको छ । आरडीटी परीक्षणको लागि किट प्राप्त गर्न नसकेको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । बिहीवार ५ जनाको आरडीटी परीक्षण गर्नुपर्ने भए पनि स्वास्थ्य शाखासँग ३ वटा मात्र रहेको स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले बताए । पालिकाले सञ्चालन गरेका क्वारेन्टाइनमा १२ जना बसेका छन् ।
‘क्वारेन्टाइन बसेकामध्ये ५ जनाको समय पूरा भएको छ । उनीहरुको आरडीटी परीक्षण गर्न सकिएको छैन’, उनले भने । आरडीटीको लागि जिल्ला प्रशासन र जनस्वास्थ्य कार्यालयमा माग गरे पनि प्राप्त गर्न नसकेको गाउँपालिकाले जनाएको छ । कोरोना भए वा नभएको भनेर पत्ता लगाउन आरडीटी परीक्षण गर्ने गरिएको छ । यसअघि पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ८ जना घर फर्किसकेका छन् । पालिकाले झुलेडाँडामा २० बेड र हाँसीपुरको हंशपुर माविमा १० बेड गरेर ३० बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । पालिकाले हालसम्म ९ सय ४० परिवारलाई राहत वितरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए । ‘९ सय ४० परिवारलाई राहत वितरण गरिसकेका छौं’, बिहीवार गाउँपालिका पुगेको जिल्ला समन्वय समितिको टोलीसँग भने– ‘अझै २ सय ८५ परिवारलाई राहत वितरण गर्न बाँकी छ ।’ पालिकाले गरेको राहत वितरण, क्वारेन्टाइनको अवस्था र विकास निर्माणको बारेमा जिल्ला समन्वय समितिले बिहीवार अनुगमन गरेको थियो । समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको अनुगमन टोलीमा प्रदेश सांसद अमरबहादुर डाँगी, समन्वय समितिका सदस्यहरु जक्तबहादुर बस्नेत, खिमबहादुर घर्ती, समन्वय अधिकारी सावित्रा पुन थापालगायतको सहभागिता थियो । टोलीले गाउँपालिकाले झुलेडाँडाको नमुना वस्तीमा सञ्चालनमा ल्याएको क्वारेन्टाइनको समेत अुनगमन गरको थियो । पालिकाले हालसम्म ४३ प्रतिशत बजेट खर्च भएको जनाएको छ । पालिकाले चालु आव ०७६÷०७७ मा ४७ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु आवमा विनियोजन गरको अधिकास योजना सम्झौता भइसकेको तर लकडाउनको कारण काम प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताए ।