calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

नेकपालाई आग्रह : लोकतान्त्रिक संस्कृतिको जगमा निकास खोज

सत्तारुढ दल भित्रको किचलो चरम उत्कर्षमा पुगेको छ । यसले नेकपा भित्र ध्रुविकरण ल्याएको छ र दुबै पक्ष आफूलाई माथी परेर अर्को पक्षलाई निकम्मा सावित गर्न उद्दत छन् । षड्यन्त्रकै साथमा अझै पनि तोड्ने, फोड्ने, लोभ लालच देखाउने प्रबृत्ति त्यहाँ भित्र प्रदर्शित भएको छ । बुधबार बसेको सचिवालयको बहुप्रतिक्षित बैठकपछि बाहिर आएको समाचार अनुसार संसद सदस्य नै नभएका नेता बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव बर्तमान प्रधानमन्त्रीले गरेका छन् । त्यस्तै तेस्रो अध्यक्षका रुपमा माधब नेपालको नाम पनि प्रस्ताव गरिएको छ । यी दुबै कुराहरु वर्तमान विवादको समाधानका लागि गरिएका प्रयत्नहरु होलान्, तर यी यस्ता प्रस्ताव हुन् जस्ले राजनीतिलाई आदर्शका रुपमा बझ्ने गर्छ र राजनीतिलाई सम्मानित क्षेत्रका रुपमा स्थापित भएको हेर्न चाहन्छ, यस्का लागि अकल्पनीय र अस्वीकार्य प्रस्ताब मान्दछ ।

नेपाली राजनीतिले धेरै पटक गलत अभ्यास दोहो¥याएको छ । पार्टी भित्रको विवादका कारण सिंगो राजनीतिक क्षेत्रलाई धमिल्याउने र मुलुकलाई नै अन्यौलताको भूमरीमा फसाई राख्ने खेलहरुमा देशमा अस्तित्वमा रहेका र नरहेका सबै दलहरु कुनै न कुनै समयमा सहभागी छन् । निश्चित कुनै दल बिशेषलाई मात्र यो खराव अभ्यासका लागि दोष दिएर पुग्दैन । अधिकांस नेतृत्व पनि यो खेलमा डुबेको छ । त्यसकारण अहिले नेकपाको नेतृत्वका सन्दर्भमा गरिएको टिप्पणी उसको आलोचना मात्र हैन, नेपाली राजीतिमा देखिदै आएका यी प्रबृत्ति बिरुद्धको खबरदारी पनि हो । नेताको भागबण्डाले राजनीतिमा सुद्धिकरण हैन, समया थप्छ भन्ने अनुभव नेपाली राजनीतिसंग पटक पटक जोडिएको छ । यो अनुभवका आधारमा भन्नुपर्दा अहिले नेकपालाई पदको बाँडफाँडमा आफू भित्रको समस्याको समाधान नखोज्न सुझाव दिनु सबै भन्दा श्रेयष्कर हुने छ । पदहरु बिभाजन गरेर भन्दा निश्चित पद्दतिका आधारमा समस्याको समाधान खोज्ने संस्कृतिको विकास भयो भने जस्तो सुकै समस्या आइपर्दा पनि त्यसको समाधान खोज्दा नेतृत्व र पार्टी दुबैलाई क्षती नहुने अबस्था सुनिश्चित गर्न सकिन्छ । संसदीय दल, पार्टीका अन्य संरचनाहरुमा प्रशस्त छलफल गर्न दिने र नेपालको संबिधानको मर्म र गतिशीलतालाई महसुस गर्दै ती छलफलहरुका आधारमा निश्कर्ष निकाल्ने हो भने समाधान टाढाको बिषय हुने छैन । यसले नेतृत्वमा प्रतिशोधको भावना भन्दा पनि सच्चिदै अगाडि बढ्ने लोकतान्त्रिक संस्कारको मात्रा बढी देखिदै जाने छ । नेकपाले यो बिभाजनलार्इृ यसरी नै समाधान गर्ने बाटो पकड्यो भने नेपाली राजनीतिवाट एउटा खराव संस्कृतिलाई बिस्थापित गर्ने एउटा महत्वपूर्ण प्रयास हुने छ ।

स्पष्ट र सुबिधाजनक बहुमतका साथ सरकार चलेको छ । दुई तिहाई नै संसदमा प्रदर्शन गर्न परे पनि एजेण्डाका आधारमा गर्न सकिने अबस्थामा सरकार छ । यो अबस्थामा पनि स्थिरता कायम गर्न नसक्ने हो भने नेपाली नेतृत्वको क्षमतामाथी गंभिर प्रश्नवाचक चिन्ह लगाउनु पर्ने हुन्छ । किनभने यो अबस्था पहिलो पटक मात्र उपस्थित भएको होइन । लोकतान्त्रिक पद्दतिको आफ्नो बिशिष्टता छ । त्यो पद्दतिले सधै एउटा बिशेष संस्कृतिको अपेक्षा गरिहेको हुन्छ । तर, नेतृत्वले त्यस अनुकुलको संस्कृति निर्वाह गर्नका लागि राजनीति भित्र अपराधिकरण र भ्रष्टिकरणलाई पूर्ण रुपमा अस्वीकार गर्नुपर्ने हुन्छ । अहिले पनि यो प्रबृत्तिलाई अस्वीकार गरेर लोकतान्त्रिक संस्कृतिको अनुसरण गर्ने बाटोमा हिड्ने हो भन नेकपाका लागि त्यो संजिवनी हुने छ र नेपालको राजनीतिले नयाँ अनुभव हासिल गर्न पनि सक्ने छ ।