गोरक्ष समाचारदाता
दाङ, ११ फागुन । रोटरी क्लब अफ दाङको आयोजनामा घोराही उपमहानगरपालिका माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लव दाङद्वारा आयोजित विष्णुप्रसाद शर्मा घिमिरे स्मृति रोटरी हाजिरीजवाफ प्रतियोगिता २०२५ पद्मोदय नमुना माध्यामिक विद्यालय भरतपुरमा आइतवार सम्पन्न भएको छ ।
कक्षा ९ र १० का विद्यार्थीका लागि आयोजना गरिएको प्रतियोगितामा गुरुकुल एकेडेमीका सुवेक्षा पाण्डे, आर्यन घर्ती र सोहम खनालको समूह प्रथम भएको थियो । यसैगरी प्रतियोगितामा मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलका सविता चौधरी, विकास जिएम र दिपेश डाँगीको समूह द्वितीय र जनज्योति विद्यामन्दिरका हेमन्त न्यौपाने, शक्तिम सुवेदी र निरुता खनालको समूह तृतीय भएको थियो ।
क्लवका अध्यक्ष प्रदिप सुवेदीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका वडा नं। १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको प्र्रतियोगितामा सामुदायिक र संस्थागत गरी १२ वटा विद्यालय सहभागी थिए । छनौट चरणबाट ५ ओटा विद्यालय फाइनल चरणमा प्रवेश गरेका थिए । फाइनल चरणमा प्रवेश गरेका विद्यालय ज्ञानमाला एकेडेमी, जनज्योति विद्यामन्दिर, नेपाल पुलिस स्कुल, गुरुकुल एकेडेमी र मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलबिच प्रतिस्पर्धा गराइएको थियो ।
कार्यक्रममा शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्य, पद्मोदय नमुना माविका प्रधानाध्यापक लोकबहादुर बस्नेतलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा पुरस्कार स्थापनाकर्ता तीर्थराज सन्तोषीले आफ्ना स्वर्गीय पिता विष्णुप्रसाद शर्मा घिमिरेको सम्झनामा हरेक वर्ष फेब्रुअरी २३ तारिखमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी पुरस्कार वितरण गर्ने गरिएको बताए । उक्त कार्यक्रमको सहजीकरण रोटरी क्लब अफ दाङका रोशन दाहालले गरेका थिए ।