लक्ष्मण बिसी
बैतडी बैशाख १८ । चैत १३ गतेदेखि भारतको पिथौरागढस्थित धार्चुला र झुलाघाटका क्वारेन्टाइनमा रहेका दुई हजार पाँच सय ९५ जना नेपाली मजदूरको उद्धार गरिएको छ। क्वारेन्टाइन अवधि सकिए पनि नेपाल प्रवेको अनुमती नपाउँदा समस्यामा परेका उनीहरुलाई बिहीबार बिहानैदेखि प्रवेश अनुमती दिइएको थियो।
दार्चुलाका दुई वटा नाका र बैतडीका एक नाकाबाट गरी २५ सय बढिको उद्धार गरिएको हो। दत्तु र खंलगा नाका भएर एक हजार दुई सय ९६ जना दार्चुला भित्रिएका छन् । जसमा बैतडी, बझांङका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराईएको छ।
त्यहाँबाट नौँ सय २० जना नेपाल भित्रीएका छन् । दार्चुलालगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिईएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। उनले खलंगा नाका भएर तीन सय ७६ जना भित्रीएको बताए।
यस्तै बैतडीको झुलाघाट नाका भएर एक हजार दुई सय ९९ जना नेपाल भित्रीएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। उनले उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन सुरु गरिएको बताए।
उद्दार गरिएका सबैलाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने सहमति भएको स्थानीय प्रशासनले जनाएको छ। यता कैलाली र कञ्चनपुरको सीमा पारी रहेका नेपालीहरुले भने अझै प्रवेश अनुमती पाएका छैनन् ।