कविता : परीक्षण सफल भो बमको
(रोल्पामा बमबाट मरेका ४ जनाप्रती समर्पित)
विपुल पोख्रेल
तिम्रो सुन्दर भबिष्यको कल्पना गर्दै
हुर्काइदै गरेका पाठाहरु
अब चर्न जान सक्ने भएछन् ।
म बुझ्छु त्यो अबस्था
बुरुक्क बुरुक्क उफ्रदै
झाल र पात खान खोज्ने उमेरका
पाठाहरुसंगको मित्रता
पाठापाठीको मनोबिज्ञान थाहा छैन,
तर बाल मनोबिज्ञानले आफुलाई
त्यस्तै पाठा जस्तै चंचल बनाउन खोज्छ
अनी संगसंगै दौडाउन निर्देश गर्छ
बाख्रा चराउन कहाँ हो र गएको !
त्यो उमेरमा उनीहरुसंग
खेल्दाको मज्जा लिन पो गएको ।
काले, गोरे, लाम्काने, मुडुले
यस्तै यस्तै नाम थिए होलान
रोल्पाको त्रिबेणीमा उफ्रने बाख्राहरुको नाम
कहिले घाँस खुवायो,
कहिले उसैमाथी चड्यो
कान समातेर
मोटरसाइल चलाए झै भुरभुर…
आवाज निकाल्यो ।
मिलेसम्म फलफूल आफैलाई पनि खोज्यो,
रमाउनुसम्म रमायो ।
यस्तै रमाउदैं थिए होलान्
ति अबोध बालबालिकाहरु
मामाघर गएर साथीहरुसंग
गोठाला बन्दाको मज्जा कहाँ अरु हुन्छ र !
त्यही मजामा लिन थिए होला ती बालबालिकाहरु
घरमा बाख्रा चराए वापतको स्वावासीको आशा गर्दै
कहिले बाख्रा अगाडि कहिले आफू अगाडि
फर्कदै थिए होलान् ४ जना
जो, आफ्ना बाबा आमाका आँखाका
सुन्दर भबिष्य थिए
आशा थियो सायद,
त्यो विकट बस्तीको
दुःख हरण गर्ने मसीहा थिए उनीहरु
बाख्रा बेचेर उनीहरुलाई
राम्रो पढाउने
राम्रो बनाउने
स्वर्णिम कल्पना बुन्दै थिए होलान् बाबु आमा
बम पड्कियो
कुन बम हो ? थाहा छैन
आशंका त मनमा छ,
तर भन्न पनि भा’छैन
भक्कानीएर आफ्नै कर्मलाई सराप्ने
ग्वाला पठाएकोमा धिकार्ने
अनी पछुताउने सिवाय केही छैन हातमा ।
एक्लै बाख्रा उफ्रदा
छोरा संझेर रुदै दिन कट्ने छन् अब
भोकाएर बाख्रा कराउँदा
छोरी संझिएर भक्कानिदै मुटु दुख्ने छन् अब
त्यो बम
हो त्यो बम
कस्ले राख्यो होला ?
कस्ले फाल्यो होला ?
वा कस्ले लुकायो होला ?
कस्ले खोजिदेओस् अब ?
बम राख्ने खुशी होला
मार्नकै लागि बनाएको,
सफलता हात लाग्यो भन्दै
परीक्षण सफल भयो भन्दै
फेरि बमहरु बनाउन
उत्साहित होला… ।