गोरक्ष समाचारदाता
तुलसीपुर, ७ फागुन । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दाङमा पानीको सन्चिति बढाउने मुख्य विकल्प भनेको कृतिम जलाशय निर्माण रहेको बताएका छन् । पछिल्लो समयमा दाङ जिल्लाभरी करीव ५० वटा कृतिम जलासय निर्माण भइसक्दा यसले पानीको ठुलो समस्या टरेको पनि उनले बताए । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दशौँ साधारणसभा तथा छैठाँै अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पोख्रेलले कृतिम जलासय निर्माणलाई स्थानीय सरकारले प्रार्थमिकतामा राख्नुपर्ने पनि सुझाव दिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले बेलझुण्डी खानेपानीका उपभोक्ताले ग्वारखोलाको मुलको पानी पाएकोमा समितिका पदाधिकारी र सहलगानी आयोजनालाई पनि धन्यवाद दिए । ‘ग्वारखोलाको पानी पिउने पानीमा उपभोग भइरहदा खेतीयोग्य जमिन बाझै रहने प्रसंगको खण्डन गर्दै प्रमुख अतिथि पोख्रेलले सिँचाइभन्दा पनि पहिलो आवश्यकता पिउने पानी रहेको बताए । त्यसैगरी उनले ग्वारखोला हाइड्यामको प्रक्रियालाई सरकारले अघि बढाएको पनि दोहो¥याए ।
‘यही वर्ष ग्वारखोला हाइड्यामको डिपिआर तयार हुन्छ, त्यसपछि हामी प्रक्रियामै प्रवेश गर्ने छौँ’, पोख्रेलले भने । ग्वारखोलामा हाइड्याम निर्माण हुन सके यसले सिँचाइ, पिउने पानी तथा लघु जलविद्युत उत्पादन समेत हुन सक्ने बताए तर सरकार पछिल्ला केही वर्षयता स्रोतको अभावकाट गुज्रिरहेकाले सबै परिकल्पना एकै पटक पूरा हुन नसकेको पनि अभिव्यक्ति दिए । ‘कम्तिमा न्यूनतम पानी खपत गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउन सकिन्छ कि भनेर सरकारमा बहस सुरु भइसकेको पनि छ’, संस्थापक मुख्यमन्त्री पोख्रेलले भने । साथै उनले खानेपानी उपभोक्ता संस्थाहरूलाई सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर हटाउन पनि आफूले पहल गर्ने बताए ।
कार्यक्रममा विशिष्ठ अतिथि तथा खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले नेपालको संविधान २०७२ ले खानेपानीलाई मौलिक हकका रूपमा राखेको तर सरकारले भने यसमा भ्याट लगाउन समेत पछि नपरेको बताए । सहलगानी आयोजनालाई पनि उनले संविधानको मौलिक हक विपरितको रणनीति बताए । ‘सरकारले अरबौँ रूपैयाँको लगानीमा सडक निर्माण गरेको छ, त्यसमा जनताले लगानी गर्नुपरेको छैन, स्वास्थ्य र शिक्षामा त्यत्तिकै लगानी गरेको छ, त्यसमा पनि जनताले पैसा उठाउनु परेको छैन, तर खानेपानी आयोजनामा जनताले तीस प्रतिशत रकम उठाउनु पर्ने’ अध्यक्ष वलीले भने ।
उक्त अवसरमा तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डेले बेलझुण्डी खानेपानीको सहलगानी आयोजना पूरा गर्नका लागि स्थानीय सरकारले प्रशस्तै सहयोग गरेको बताए । ‘त्यो बेला तुलसीपुर उपमहानगरपालिका जमानि नबसिदिएको भए सायद यो आयोजना फिर्ता हुने थियो’, पाण्डेले भने । कार्यक्रममा तुलसीपुर उप महानगरपालिकाका प्रमुख टिकाराम खड्का, रोल्पाको रुण्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुन, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी, नेपाली कांग्रेसका प्रतिनिधि पदम वली, एमालेका कमानसिं खड्का, रास्वपाका शिवराज केसी, नेकपाका रुद्र सि, माओवादी केन्द्रका गिरिराज नेपालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा वेलझुण्डि खानेपानी सहलगानी आयोजनालाई मुल उपलव्ध गराउने रोल्पा रुम्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनलाई सम्मान गरिएको थियो । रोल्पा जिल्लाको रुम्टिगढि गाउँपालिका गार्पाबाट पानी ल्याउन सहमति प्रदान गरेपछि मात्रै बेलझुण्डी खानेपानी सहलगानी आयोजना सम्भव भएको हो । सहलगानी आयोजना निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्दा कम्तिमा ३२ करोड रूपैयाँ खर्च भएको थियो । यसमा करिब दश करोड रूपैयाँ उपभोक्ताहरूले उठाउनु पर्ने छ ।
यसैबिच बेलझुण्डी खानेपानी सहलगानी आयोजना संस्थालाई हस्तान्तरण गरिएको छ । खानेपानी तथा ढल निकाश विभाग सहलगानी आयोजना नेपालगञ्जका इन्जिनियरले बेलझुण्ढी खानेपानीका अध्यक्ष प्रदिप गौतमलाई आयोजना हस्तान्तरणको प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्जिनियर विक्रमबाबु केसीले गरेका थिए । संस्थाका सदस्य देवा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष गौतमले संस्थाको वार्षिक प्रतिवेदनसँगै सहलगानी आयोजनाका विभिन्न चरणका विषयमा जानकारी गराएका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष बसन्त थापाले प्रस्तुत गरेका थिए । साथै अधिवेशन आगामी १० गते हँुदै छ ।