जिद्धि गर्ने बानी र अहंकार छाडौँ

नारायणप्रसाद श्रेष्ठ

जीवनचक्रको इतिहासलार्ई हेर्ने हो भने यहाँ विविधतामा एकता कायम गरेर अघि बढेको पाइन्छ । मानवीय कर्म, व्यवहार र आचरणमा फरक भएर पनि मानिसको चाहाना एक अर्काबिच न्यानो सम्बन्ध कायम गरी सँगै बाच्ने सँगै कर्म गर्ने रहेको देखिन्छ । प्रकृति र पर्यावरणलार्ई संरक्षण गर्दै बाच्ने आधार पनि तयार गरिँदै गरेको पाइन्छ । जीवनमा देखा परेका विविध समस्याको लागि एक अर्काको मन जितेर हुन्छ वा सुखदुःखको साथी बनेर हुन्छ वा सेवा गरेर हुन्छ, समाधान गरिँदै गरेको पाइन्छ ।

स्वभावमा सरलता, व्यवहारमा नम्रता तथा दृष्टिमा समभाव कायम राखी जीवनलाई सहज बनाइएको पनि पाइन्छ । यति हुँदा हुँदै पनि दृष्टिदोसका कारण मानिसमा अहंकार, घमण्ड र जिद्धि स्वभाव प्रचुर मात्रामा बढ्दै गरेको पाइन्छ । हठवादी चिन्तन, मैले जे गरे त्यो सबै ठिक गरे, म सबै जान्ने, म नै विद्वान भनी मानिसले आफूलाई प्रदर्शन गरिरहेको पनि देखिन्छ । वास्तवमा जिद्धि र हठवादी चिन्तन बढ्नु भनेको आफूले आफैलाई अधोगती उन्मुख गराउनु हो । आचरण र व्यवहारमा अरु सामु गिर्नु हो । तसर्थ समयको गतिशिलतालार्ई बुझी अहंकार र जिद्धि स्वभावलाई हटाइ जे हुन्छ राम्रो हुन्छ, जे भइरहेको छ राम्रैको लागि भइरहेको हुन्छ भनी आफूले निर्वाह गर्नु पर्ने जिम्मेवारी इमानदारी र लगनशिल भई निर्वाह गर्नु पर्दछ । अहंकार र घमण्डले मानिसलार्ई पतन गराउछ यो सत्य स्वीकार गर्नु पर्दछ ।

वर्तमान समयलाई हेर्ने हो भने अहिले मानवीय स्वभाव हठवादी र घमण्डतर्फ अझै मौलाउँदै गरेको पाइन्छ । अहंपनले मानिसको आचरण र व्यवहार स्वार्थ केन्द्रित भइरहेको अवस्था छ । वर्तमान एकातिर नयाँ पुस्ताको लागि अनुशासित र मर्यादित जीवन पद्धति खोज्दै छ भने अर्कोतर्फ मानिसको चिन्तन स्वार्थ र अहंकारतर्फ दौडिरहेको छ । मानव जीवनको उत्पत्तिसँगै विकसित हुँदै आएको हाम्रो आचरण र व्यवहार स्वार्थ केन्द्रित भई मै खाउ, मै लाउ, मै मोजमजा गरु भन्दै एकअर्काको अस्तित्व स्वीकार नगरिरहेको स्थिति छ । प्रवृित र आचरण एकाधिकारवादी चिन्तन उन्मुख छ । एकले अर्कालाई उछिन्दै भौतिक सुख र सम्पन्नता नै जीवनको उद्देश्य हो भनी अगाडि बढेको छ । कथनी र करणीमा भिन्नता छ । अहिले यो त्यो बहानामा आफ्नो स्वार्थ शिद्ध गर्ने ध्याउन्नमा सबै लागि परेको पाइन्छ । बालहठ झै स्वभावमा जिद्धिपन, व्यवहारमा स्वार्थ अहिलेको उपलब्धी भई रहेको छ ।

वास्तवमा यस्तो आचरण र व्यवहार देखिनु भनेको आफूले आफैलार्ई हराउनु हो । अहिलेको अवस्थालाई हेर्ने हो भने स्वार्थ केन्द्रित विचारले सबैलार्ई प्रभावित गरिरहेको छ । मानिसले एक अर्कालाई उकासी रहेका छन् । हठवादी चिन्तन र स्वार्थपरक कर्मले ल्याउने परिणाम दुःखद हुने र भावी पिढीलार्ई क्षति पुग्ने कुरा जान्दा जान्दै पनि मानिसले मानिसलार्ई यसैमा लाग्न उत्प्रेरित गरेको अवस्था छ । यसले एकातिर सामाजिक सहिश्णुता र आदर्शलार्ई चुनौती दिइरहेको छ भने अर्कोतर्फ बाल मनोविज्ञानमा नराम्रो असर परिरहेको छ । अहिले हठवादी चिन्तर र स्वार्थकेन्द्रित विचार यति अगाडि बढिसक्यो कि मानिसले मानिसलार्ई चिन्न छोडिसके । आफ्नो र बिरानोको भेदभाव बढ्यो । भविष्यमा आउने परिणामको ख्याल नगरी क्षणिक स्वार्थपूर्ति गर्ने र यो नै सबै हो भन्ने प्रवृित दुवो झै मौलाउँदै जानु वास्तवमा विडम्बना मान्नु पर्छ । हो !

योग्यताको परख गर्दा विचारमा स्वार्थ आउनु प्रगतिको सूचक मानिन्छ, कर्मको निरन्तरताभित्र आउने समस्यालार्ई तिर्ण बरावर मानी आफ्नो उद्देश्यलार्ई गतिशिल दिनु यो स्वाभाविक पनि मानिन्छ तर जे गर्दा पनि जिद्धि गर्नु स्वभावमा अहंकार देखाउनु बास्तवमा यो मानवीय आचरण होइन । के गर्दा के परिणाम आउँछ त्यसको ख्याल नगर्नु भनेको आफैलाई पतन उन्मुख गराउनु हो । तसर्थ मानवीय विवेक प्रयोग गर्दा बुद्धिरुपी भाडोमा अहंकार रुपी जिद्धि प्रवेश गर्न नदिने गरी सिर्जनाका पालुवालार्ई निस्वार्थ भाव जागृत हुने वातावरण बनाउनु पर्दछ । स्वभाव कोरा कागज समान हुन्छ । यसलाई समाजले जे जस्तो आचरण र व्यवहार सिकाउँदै जान्छ कोरा कागजमा जे जस्तो मसी राखेको कलमले जे जस्तो लेख्छ सिकाउँछ, त्यही उसको आचरणमा प्रदर्शन हुने हुँदा अहंकार घमण्ड अहंवादी चिन्तनरुपी विचारलाई यो मेरो कर्म र व्यवहारको शत्रु हो भनी आचरण र व्यवहारलाई परिस्कृत गर्नुपर्छ ।

जीवनको गति अनिश्चित छ । यो कति र कुन समयमा कसरी जाने हो कसैलाई थाहा छैन । यो न त कसैको बसमा नै छ । जन्म पछि मृत्यु सत्य छ । यो न त रोकेर, छेकेर छेकिन्छ न त यसको नियममा फेरबदल नै हुन्छ । यो प्राकृतिक सत्यको पनि सत्य हो । इतिहास बदलिन सक्ला तर यो सत्य अकाट्य छ । यसको जानकारी मानव सचेतनाले नगरेको पनि होइन तर पनि मनिसले मै खाउ मै लाउ मै मोज मजा गरु भनी भन्न छोड्दैन । के सबै प्राप्ती मात्र जीवन हो त ? जीवन छ त संसार छ भनी जीवनको सुन्दर पक्षलाई बिर्सदै जाने हो, लोभ र लालछमा आफ्ना विचार स्वार्थ केन्द्रित गर्दै जाने हो भने जीवनले कति सार्थकता पाउला ? त्यसैले आफूलाई मन पर्ने कुनै पनि कुरा प्राप्त गर्दा स्वार्थ रहित कर्मबाट पनि पाउन सकिने सत्य कदापी भुल्नु हुँदैन । किनकी समस्या जीवनको भोगाइमा आउने सत्य हो यसै सँगै यसको समाधानको उपाय पनि सँगै आउँछ भन्ने कुरा पनि सत्य हो यसलाई बुझ्न सक्नु पर्दछ ।

जीवनका हरेक क्षणमा अनगणित इच्छा र आकाङ्छा आउँछ यो पनि समस्या नै हो तर गम्भीर भएर चिन्तन गर्ने बानीको विकास गर्न सकियो भने यो सजिलै समाधान गर्न सकिन्छ । हिजोसम्म सजिलै समाधान गरेको र उपाय निकालिएको इतिहास साक्षी छदै छ । इच्छाशक्ति दृढ भए कुनै पनि समस्या सजिलै समाधान हुन्छ । जिद्धि स्वभाव भनेको अल्छी, लाक्षी र स्वार्थी प्रवृति हो । जसले कामभन्दा दामतिर बढी आकर्षण गर्दछ । जसको परिणाम मानिसको सही विचारलार्ई पनि गलततर्फ धकेल्छ । आफू मात्र योग्य छु भनी अहंकार गर्नु भनेको जिद्धिपन हो । मानिसको आचरण व्यवहार भनेको सत्य मार्गलार्ई अबलम्बन गर्नु हो । जीवनको उद्देश्य भनेको सेवा र सदभाव जगाउनु हो ।

बाच र बचाउ भन्दै मेहनत र पसिनाको प्रतिफल लिई आनन्दको सागरमा डुबुल्की मार्नु हो । त्यसैले जीवन र जगतको उद्देश्य बुझी आत्मा र परमात्माको सम्बन्धलाई बुझेर कर्ममा निस्वार्थ र व्यवहारमा लचिलोपन ल्याइ अहंकार र जिद्धि स्वभावलाई हटाउन सक्नुपर्दछ । हामी र हाम्रो आचरण हिजो जसरी अरुको भलाई खातिर प्रयोग भयो, सेवा र परिश्रमबाट प्राप्त हुने सफलताको रश ग्रहण गर्ने बानीको विकास भयो, सतचरित्रले चरित्रवान बन्न सिकायो, त्यसरी नै विश्वास भरोसा बढाउँदै ज्ञानचक्षु खोली शुक्लपक्षको चन्द्रमा झै शीतल र उज्यालो बनाँै । जिद्धि र अहंकार छोडौँ यो समयले खोजिरहेछ । अस्तु ।