प्रजातन्त्र दिवसको अवसरमा नेविसंघद्वारा हाजिरीजवाफ प्रतियोगिता

गोरक्ष समाचारदाता
दाङ, ७ फागुन । ७४औँ प्रजातन्त्र दिवसको अवसरमा राप्ती गाउँपालिकास्तरीय प्लसटु कलेज अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ राप्तीको आयोजनामा भएको प्रतियोगितामा मावि मौरीघाट प्रथम भएको हो ।

प्रथम भएको मौरीघाटको समूहले नगद पाँच हजारसहित प्रमाणपत्र डायरी र कलम प्राप्त गरेको छ । प्रतियोगितामा सर्वोदय मावि सिसहनिया द्धितीय र आर्दश नमूना मावि लालमटिया तृतीय भएका छन् । विजेताले क्रमशः नगद चार हजार र तीन हजारसहित प्रमाणपत्र, डायरी र कलम प्राप्त गरेका छन् ।

नेपाल विद्यार्थी संघ राप्ती गाउँपालिका संयोजक खुमबहादुर चौधरीको सभापतित्व तथा नेपाली कांग्रेसका महासमिति सदस्य विलोचन चौधरीको प्रमुख आतिथ्यता तथा महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति मनोज डिसीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेविसंघका लमही नगरपालिका संयोजक विवेक घर्तीमगर, एरावती आर्दश इकाई सभापति भुवन भट्टराईलगायतकाले भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण नेविसंघका जिल्ला सदस्य दिपेश डिसीले गरेका थिए । प्रतियोगितामा गाउँपालिकामा रहेका पाँचवटा विद्यालय तथा कलेजको सहभागिता रहेको थियो ।