घोराही, १८ बैशाख । घोराही उपमहानगरपालिकाले लकडाउनका कारण छाक बस्ने अबस्थामा पुगेका श्रमिकहरुलाई रोजगार दिने भएको छ । उपमहानगरले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दैनिक छाक टार्न समस्या परेका श्रमिक वर्गलाई रोजगारी दिने र दैनिक ज्याला नगद नै उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरको ७९ औँ कार्यपालिका बैठकले लकडाउन लम्बिदै जाँदा श्रमिकहरु मारमा परेको र छाक बस्ने अबस्थामा पुगेको भन्दै भौतिक दुरी कायम गर्दै काम गर्ने र दैनिक ५ सय १७ रुपैयाँ ज्याला दिने निर्णय गरेको हो ।
लकडाउनकाक क्रममा नगरभित्रका करिब ३ हजार घर परिवारलाई अहिले खाद्यान्न राहत स्वरुप वितरण गरिएको र लकडाउन लम्बिदै जाँदा छाक टार्नै विकल्पको रुपमा रोजगारीको सिर्जना गरिएको नगर प्रमुख नरुलाल चौधरी जानकारी दिएका छन ।
चालु आर्थिक बर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वीकृत आयोजनाहरु मध्ये प्रत्येक वडामा न्युनतम एक आयोजना पर्ने गरी स्वीकृत आयोजना मध्यबाटै प्राथमिकता अनुसारका आयोजना छनौट गरी निकासा भएको बजेटकै सीमा भित्र रही आयोजना संचालन गर्ने उपमहानगरले निर्णय गरेको हो ।
चालु आर्थिक बर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ६१ लाख ३० हजार रुपैयाँ बजेट आएको छ । राहत वितरणले धान्न नसक्ने देखिए पछि कोरोना संक्रमणबाट बच्न भौतिक दुरी कायम गर्दै काम दिने र दैनिक ज्याला दिने निर्णय भएको उपमहानगरको भनाई छ ।