calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

लखन कप फुटबलमा मौडीचौर रोल्पा विजयी

गोरक्ष समाचारदाता
दाङ, ३ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा आयोजित फुटबल प्रतियोगिता–२०८१ मा माडीचौर फुटबल क्लब रोल्पाले विजयी सुरुवात गरेको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शुक्रवारदेखि घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा सुरु भएको खुल्ला नकआउट प्रतियोगितामा सल्यान फुटबल क्लबलाई ६–२ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा माडीचौर एफसीका प्रतीक घर्ती मगर प्लेयर अफ द म्याच भए । प्रतियोगिताको उद्घाटन नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष गंगा थापा मगरले गरेका थिए । प्रतियोगिता अन्तर्गत शनिवार युनाइटेड एफसी लालमटिया र युएफसीबिच दिउँसो खेल हुने प्रतियोगिता संयोजक इराक घर्तीले जानकारी दिएका छन् । दाङसहित सल्यान, रोल्पाका गरी १८ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा १५ वटा खेल हुने प्रतियोगिता संयोजक घर्तीले बताए ।

फागुन १० गते फाइनल खेल हुने गरी खेल तालिका सार्वजनिक गरिएको प्रतियोगिता सहसंयोजक अशोक घर्तीले बताए । शहीद थापा मगरको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भन्दै आयोजक नेपाल मगर संघले खेलकुदको विकाससँगै शहीदको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमलाई ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

राज्यले सम्मानमा ध्यान नदिएको गुनासो

यसैबिच नेपालका प्रथम सहिद लखन थापा मगरलाई सम्मान गर्न राज्यले ध्यान नदिएको मगर समुदायका अगुवाहरूले गुनासो गरेका छन् । प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृति दिवसको अवसर पारेर नेपाल मगर संघ घोराही नगर समितिले शुक्रवार घोराहीमा आयोजना गरेको कार्यक्रमका सहभागी मगर अगुवाहरूले देशका लागि बलिदानी दिएर सहदात प्राप्त गरेका प्रथम शहीदलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् ।

मगर संघ घोराहीका अध्यक्ष वेदबहादुर बुढाको अध्यक्षता तथा नेपाल मगर संघको केन्द्रीय सहअध्यक्ष गंगा थापा मगरको प्रमुख आतिथ्यतामा घोराही १४ लखन थापा पार्कमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले राज्यले सच्चा शहीदको सम्मानमा कञ्जुस्याइँ गर्न नहुने कुरामा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सहअध्यक्ष गंगाले राज्यले लखन थापा मगरलाई प्रथम शहीद मात्रै घोषणा गरे पनि स्मृतिमा सम्मानका कार्यक्रम नगर्दा अपमान हुने अवस्था सिर्जना भएको भएको बताइन् ।

घोराहीमा तत्कालीन त्रिभुवन पार्कमा लखन थापा नामाकरण गरेर मगर समुदायका अगुवाहरूको सक्रियतामा अहिले शालिक निर्माण गरिएको भन्दै यसले शहीदहरूको सम्मान भएको बताइन् । उनले प्रथम शहीदको सम्मानमा सरकारले नै कार्यक्रम गर्नुपर्नेमा ध्यान नदिएकोप्रति गुनासो गरिन् । मगर भाषा, कला, संस्कृति संरक्षणमा समुदाय जाग्नुपर्ने बेला आएको भन्दै भाषा, कला, संस्कृति संरक्षणमा राज्यले विभेद गर्दा जोखिममा परेकोले यसमा सबै गम्भीर हुन आवश्यक रहेको बताइन् । नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दरजित रोकाले शहीद सबैको साझा सम्पत्ति भएकाले लखन थापालाई सबैले सम्मान गर्न आवश्यक रहेको बताए ।

नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सावित्रा राना मगरले मगर समुदाय कला, संस्कृति र परम्पराको धनी समुदाय भएकाले यसको संरक्षण र विकासका लागि एकता आवश्यक रहेको बताएका थिए । उनले लखन थापाले नेपालको इतिहासमा वीरता कायम गरेको भन्दै यसले मगर समुदायको शिर ठाडो बनेको बताएका थिए ।

कार्यक्रममा घोराही–१४ का वडाध्यक्ष भानसिंह बुढा, नेपाल मगर संघ केन्द्रीय अनुसन्धान विभाग सदस्य कर्णबहादुर बुढा मगर, नेपाल मगर संघ केन्द्रीय सदस्य शारदा पुन मगर, नेपाल मगर संघ घोराही नगर शिक्षा सदस्य कमला देउजा पुन, नेपाल मगर संघ लुम्बिनी प्रदेश अनुशासन विभाग आयोग सदस्य खलुप्रसाद पुन, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य कैलाश रोका मगर, नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति अध्यक्ष मुक्त बुढा मगर, उपाध्यक्ष प्रेम बुढा मगरलगायतले बोलेका थिए ।

लखन पार्कमा रहेको लखन थापा मगरको शालिकमा प्रमुख अतिथिसहित उपस्थित विभिन्न व्यक्तित्वले माल्यार्पण गर्दै सम्मान प्रकट गरेका थिए । कार्यक्रममा मगर समुदायको विभिन्न कला, संस्कृति प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण गणेशप्रताप पुनले गरेका थिए ।