नेविसंघ घोराहीको अधिवेशन, संयोजकमा विष्ट

गोरक्ष समाचारदाता
दाङ, ३ फागुन । नेपाल विद्यार्थी संघ घोराही उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार घोराही स्थित नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा भएको अधिवेशनले घोराही नगर संयोजकमा विजय विष्ट र सहसंयोजकमा मञ्जु पुनलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेस घोराही नगर समितिका सभापति तिलक रावतको प्रमुख आतिथ्यता एवम् नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी र आकाश भण्डारीको विशिष्ट आतिथ्यतामा भएको नगर अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले विद्यार्थी हकअधिकार संरक्षणसँगै संगठन विस्तारको काममा नेविसंघले महत्वपूर्ण काम गर्दै आएको बताएका थिए । नगर अधिवेशनको उद्घाटन कार्यक्रममा विद्यार्थी नेता गणेश विश्वकर्मा, लेखनाथ बुढाथोकी, मनोज डिसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल विद्यार्थी संघ जिल्ला सदस्य अर्जुन भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सदस्य दीपेश डिसीले धन्यावाद मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण गुरुप्रसाद गौतमले गरेका थिए । नेपाल विद्यार्थी संघले जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका, बबई गाउँपलिका, दंगीशरण गाउँपालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ भने तीन पालिकामा फागुन महिनाभित्र गरिसक्ने जिल्ला अध्यक्ष पोख्रेलले जानकारी दिएका छन् ।