चौथो अल्फा तेक्वान्दो च्याम्पियनसिप सुरु
गोरक्ष समाचारदाता
दाङ, ३ फागुन । घोराहीमा ‘चौथो अल्फा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८१’ सुरु भएको छ । खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी पहिचान गर्ने उद्देश्यले अल्फा तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा चौथो अल्फा दाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप शुक्रवारदेखि रतनपुरमा सुरु भएको हो ।
जिल्लास्तरीय च्याम्पियनसिपको उद्घाटन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि नियमित रूपमा खेलकुदका गतिविधि हुन आवश्यक रहेको बताए । खेलकुदका गतिविधि बढ्दा खेलप्रति आकर्षण बढ्दै जाने भन्दै कार्यक्रमका प्रमुख अतिथि गौतमले खेलकुद क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि संघसँगै प्रदेश र स्थानीय सरकारले लगानी गर्नुपर्ने बताएका थिए ।
अल्फा तेक्वान्दो डोजाङका अध्यक्ष पदक केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तीरणदाज गौतमको प्रमुख आतिथ्यता एवम् नेपाल तोक्वान्दो संघका उपाध्यक्ष हेमन्त डाँगी, लुम्बिनी तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वक्ताले खेलकुद क्षेत्रको विकाससँगै खेलाडीको क्षमता विकासमा च्याम्पियनसिपले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताले जिल्लामा खेलकुदका प्रतियोगिता भए पनि इन्डोर खेलका लागि स्तरीय कभर्डहल नहुँदा समस्या भएको बताएका थिए । कभर्डहल निर्माणका लागि स्थानीयसँगै प्रदेश सरकारलाई पटक–पटक आग्रह गरे पनि बेवास्ता गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगर, जिल्ला खेलकुद विकास समितिकाका कार्यालय प्रमुख राकेश परियार, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । च्याम्पियनसिपमा जिल्लाका २० डोजाङका चार सय बढी खेलाडीको सहभागिता रहेको अल्फा तेक्वान्दो डोजाङकी प्रमुख प्रशिक्षक सुनिता विष्टले जानकारी दिएकी छिन् । डोजाङ प्रमुख विष्टका अनुसार च्याम्पियनसिपमा महिला र पुरुष खेलाडीले २१ केजीदेखि ६० केजीसम्म तौल समूहका खेलाडी प्रतिस्पर्धा गर्दैछन् । जस अन्तर्गत पुरुष र महिला खेलाडीले २१–२३ केजी, २४–२७ केजी, २८–३२ केजी, ३३–३६ केजी, ३७–३९ केजी, ४०–४३ केजी, ४४–४७ केजी, ४८–५१ केजी, ५२–५५ केजी, ५६–५९ र ६० केजिभन्दा माथि तौल समूहका महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपमा प्रथम हुने डोजाङले नगद ३० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी जित्नेछ भने उपविजेताले नगद १५ हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । उद्घाटन कार्यक्रममा खेलाडीले डेमोसँगै नृत्य समेत प्रस्तुत गरेका थिए । च्याम्पियनसिप शनिवारसम्म चल्नेछ । डोजाङका सिनियर खेलाडी दामु शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रकृति पुन र अर्नव चौवेले गरेका थिए ।