संसर्ग नै बन्धनको कारण हो

एकराज शर्मा अधिकारी
यो विशाल संसारको बिच चित्त हो । चित्त बहिर्मुख भए संसार देखिन्छ । चित्त अन्तर्मुख भए संसार देखिँदैन । यो संसार चित्तमा बसेको छ । माटोबाट घैटो खडा भए झै प्राणबाट चित्त खडा हुन्छ । चित्त चनचल भए संसार देखिन्छ । संसार दुःखको कारण हो । त्यसैले ज्ञानी महात्माहरुले योगको माध्यमद्वारा चित्तलाई चैतन्य स्वरुपमा राखेर सुखको अनुभव गर्दछन् । चित्तले संसारलाई सत्य देख्छ । चित्तबाट बासना खडा हुन्छ, जब बासना बलियो हुन्छ, तब चित्तले आफ्नो स्वरुपलाई बिर्सन्छ ।
आफ्नो स्वरुप हो चैतन्य । जस्तो मद्यपानबाट मातिएपछि एउटा चिजलाई अर्को चिज देख्छ । त्यसैगरी चित्तले आफ्नो स्वरुपलाई भुल्छ र संसारलाई प्यारो मान्छ । चित्तमा मन पनि छ, बासना पनि छ । बासना नास भए मन पनि नास हुन्छ । त्यसैले तत्व ज्ञान बासना नास, मनोनास एकैचोटी गर्नुपर्छ । आफू को हुँ भनी चिन्नको लागि मनलाई जित्ने उपाय गर्नुपर्छ । मनलाई जित्न सत्सँग र सत्शास्त्रको अभ्यास गर्नुपर्छ । अहिले मानिसमा यो बानी छुटेको छ । त्यसैले संसारिक मानिसमा बासना बढेको छ ।
चित्त चनचल छ । चित्त खडा भएको हुनाले यो दुःखको चिज हो भन्ने थाहा हुँदा हुँदै पनि संसारमा आशक्त छौँ । यो अज्ञानको कारण हो । तीर्थ, व्रत, दान, तपस्या, देउताको पूजा गरेर पनि मनलाई जित्न सकेका छैनौँ । मनलाई नजित्दासम्म सुखी हुन सकिँदैन । आफूलाई नचिन्दासम्म स्वर्ग नरकमा घुमिरहनुपर्छ । शरीरमा काम, क्रोध, लोभ, मोह आदिव्याधि आइरहन्छन् । यो म को हुँ, यो जगत के हो, यो कसरी उत्पन्न भयो, कसरी हराउँछ भन्ने कुरा बुझ्ने कोशिस गर्नुपर्दछ । ज्ञानीको मन समान हुन्छ, यो सृष्टिलाई सुधार्नु पर्दैन । दृष्टिलाई सुधार्नु पर्छ । जस्तो दृष्टि हुन्छ, त्यस्तै सृष्टि हुन्छ । मनलाई शुद्ध राख्नुपर्छ ।
अभिमानरहित भएर कर्म गर्नुपर्छ । संसर्गदेखि टाढा रहनुपर्छ । संसर्ग भनेको संग्रह हो । संग्रह भनेको सम्बन्ध हो । संसर्गले संसार बनाउँछ । जति–जति संसारमा सम्बन्ध जोड्यो, त्यति–त्यति संसार बलियो हुन्छ । जति–जति संसार बलियो भयो, उति–उति ईश्वर टाढा हुन्छ । आनन्द प्राप्त गर्नको लागि संसारिक सम्बन्धदेखि अलग रहनुपर्छ । एउटा घरमा दुईभाइ थिए । जेठाले भने संसारमा बसे । संसारिक बन्धनले बाँध्छ । संसारसँग सम्बन्ध हुन्छ । ईश्वरसँग सम्बन्ध टुट्छ । त्यसैले म त एकान्तमा बसेर आत्मा ज्ञान गर्छु । ईश्वरको भजन गर्छु भनी आफ्नो सम्पत्ति भाइलाई दिएर एउटा धोति मात्र लगाई हातमा गीताको पुस्तक लिएर जंगलतिर हिड्न लागेछन् ।
त्यो देखेर भाइले भने– के गरेको दाइ, यो हातमा के लिएको ? दाजुले भने– गीताको पुस्तक लिएको हो । यो वनमा बसेर पढ्न सजिलो होला भनेर लिएको हो । भाइले भने– यो के संग्रह भएन र ? भन्दा दाजुले भने यो धार्मिक ग्रन्थ हो । धर्मको पुस्तक हो । वेद र उपनिसदको सार हो भनेर भाइको कुरा नसुनेर जंगलको बाटो लागेछन् । जंगलमा गएर एउटा गुफामा बस्न थालेछन् । एकदिन एउटा गाई चराउने गोठालाले देखेर गाउँमा गई भनेछन्– एउटा ठुला महात्मा हाम्रो जंगलमा बसेर गीताको व्याख्या गर्छन् । मानिसहरु पनि सुन्न आउँछन् । उनले गीताको महिमा बताउँदा रहेछन् । उनलाई ठुला विद्धान सम्झेर गाउँलेहरु कोसेली लिएर आउँदा रहेछन् । उनी पूजा आजामा बस्थे ।
कोसेलीको गन्धले त्यो गुफामा एउटा मुसो पसेछ । त्यो मुसोले त्यो ल्याएको कोसेली खाएर दुःख दिन थालेछ । त्यतिमात्र होइन त्यो मुसाले त्यो महात्माको गीताको पुस्तक पनि खाइदिएछ । एउटा भक्तले ती महात्माको दुःख देखेर एउटा बिरालो ल्याइदिएछन् । बिरालोलाई खान दिन एउटा भक्तलाई दुध पनि ल्याइदिन भनेछन् । भक्तले दिनदिनै दुध ल्याइदिन्थे । अर्को भक्तले भने– यस्तो दुःख किन गर्नुहुन्छ । एउटा गाई ल्याएर बानिदिए त भैगो । यसरी अर्को भक्तले गाई ल्याएर बानिदिएछन् ।
गाईलाई पाल्ने कोही भएन र अर्को भक्तले गाई पाल्ने एउटी महिला ल्याइदिए सजिलो हुन्थ्यो भनी गाउँबाट एउटा महिला ल्याएर राखिदिएछन् । केही समयपछि त्यही महिला गर्भवती भइछिन् । एकदिन भाइले दाजुको के हालखबर छ वनमा हेर्न जानु प¥यो भनेर गुफामा गएछन् । त्यहाँ जाँदा नजिकैको खोलामा कपडा धुन लागेको देखेछन् । के गरेको दाजु भनी सोधे । उनले भने– छोराको दिसा धुदैछु भने । त्यसपछि पश्चाताप गरेर उनले भने– भाइ तिमीले भनेको कुरा सत्य रहेछ ।
आखिर गीता पुस्तकको संसर्गले गर्दा म फेरि संसारमा फसे । राम्रो होस् या नराम्रो होस् संसर्गका सम्बन्धले मानिस बन्धनमा पर्ने रहेछ भन्ने कुरा थाहा भयो । संसारिक बन्धनबाट मुक्त हुन ज्यादै कठिन हुँदो रहेछ । मनलाई जित्न सजिलो छैन । बासना नास गर्न सजिलो छैन । चित्तलाई अधिन राख्न सजिलो छैन । जितेन्द्रीय भएर बस्न सजिलो छैन । सबै प्राणीलाई संसर्गले दुःख दिने रहेछ । इन्द्रीयहरुले सुख मात्रै खोज्छन् । विषयतिर दौड्न खोज्छन् । विषयलाई त्याग गर्न नसक्दासम्म शान्ति पाउन सकिने रहेनछ । वनमा गएर पनि विषयलाई छोड्न सकिँदैन भने मन्दिरमा गएर पाठ पूजा गरेर पनि विषयलाई छोड्न सकिँदैन भने पाठ पूजा गरेर मन्दिरमा गएर के लाभ भयो र त्यसैले आफूलाई नचिन्दासम्म कसैले आनन्द प्राप्त गर्न सक्ने रहेनछन् ।