घोराहीमा महोत्सवको तयारी अन्तिम चरणमा
हिमाल महरा
दाङ, १ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि सञ्चालन हुने छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ को प्रचारप्रसार तीव्र पारिएको छ । महोत्सव नजिकिँदै गर्दा घोराही बजारसहित दाङका विभिन्न मुख्य स्थानहरूमा ब्यानर टाँस्ने, माइकिङ गर्ने तथा प्रचार सामग्री वितरण गर्ने कार्य भइरहेको प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले जानकारी दिए। साथै, विभिन्न सञ्चार माध्यममार्फत पनि प्रचार अभियान सञ्चालन भइरहेको उनले बताए ।
घोराही उपमहानगरपालिका–१४, झिँगौरामा आयोजना हुने महोत्सवका लागि स्टल व्यवस्थापनसँगै जरपली, फिस टनेल, पिङ, बाल उद्यानलगायत संरचनाहरूको निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब ९० प्रतिशत स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ । स्टल व्यवस्थापन समितिका संयोजक विकास वलीका अनुसार, तीमध्ये उद्योग, कृषि तथा पर्यटनसम्बन्धी ४० वटा स्टल बुकिङ भएका छन् ।
महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई १ सय रुपैयाँ तथा परिचयपत्र भएका विद्यार्थीलाई ८० रुपैयाँ टिकट दर तोकिएको टकट व्यवस्थापन उपसमितिका संयोजक माधव खनालले जानकारी दिए। संयोजक खनाल अनुसार ज्येष्ठ नागरिक, अपांग र अशक्तलाई शुल्क निःशुल्क रहेको बताए । महोत्सवमा चार सय बढी स्टलहरु राखिने भएको आयोजक दाङ जिल्ला उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सवमा लुम्बिनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बिजेता टिमले ५१ हजार, द्वितीय हुने टिमले ३५ हजार, तृतीय हुने टिमले २५ हजार र सान्त्वना हुने टिमले १५ हजार रुपैयासहित प्रमाणपत्र प्राप्त गर्ने भएको दोहारी संयोजक राजेन्द्र दाहालले जानकारी दिएका छन् ।