अख्तियारमा चार सय बढी उजुरी

गोरक्ष समाचारदाता
दाङ, १ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा छ महिनाको अवधिमा चार सय ५० बढी उजुरी परेका छन् । दाङ, बाँके, बर्दिया र रोल्पा गरेर चार जिल्ला हेर्ने गरी नेपालगन्जमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा छ महिनामा चार सय ७२ वटा अनियमितताका उजुरी परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी झलक केसीले दिएका छन् । उनका अनुसार कार्यालयले हेर्ने चार जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म अनियमितताका ४ सय ७२ वटा उजुरी परेकोमा २ सय ९५ वटा फस्र्योट भएको र एक सय ७७ उजुरी फस्र्योट हुन बाँकी रहेका छन् ।
उनका अनुसार आयोगमा परेका जिल्लागत उजुरीको संख्याको आधारमा दाङका सबैभन्दा धेरै एक सय ७५, बाँकेका एक सय ७४, बर्दियाका ६३ र रोल्पाका ६० वटा उजुरी रहेका छन् । सम्पर्क कार्यालय नेपालगन्जको कार्य क्षेत्रमा रहेका ३६ वटा स्थानीय तहमध्ये सबैभन्दा बटी तुलसीपुर दाङका २३ वटा उजुरी परेका छन् भने नेपालगन्जका २१, बाँके कोहलपुरका २० र बर्दिया बढैयाताल गाउँपालिकाका १५ उजुरी परेका छन् । अख्तियार अनुसन्धान आयोगमा परेका उजुरीमध्ये अधिकांश उजुरी स्थानीय तहमा बेथिति भएको भनि परेको जनाउँदै सूचना अधिकारी केसीले उजुरीमा विभिन्न प्रकारका अनियमितता सम्वन्धी रहेका छन् ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार सो कार्यालयमा परेका उजुरीमा अधिकांश उजुरी बजेट निर्माणदेखि खर्च गर्दासम्म गरिएको अनियमितता, आफ्नो स्वार्थ पूरा गराउन बजेट तयार पार्ने गरिएको, खरिद ऐनविपरीत कार्य गरेको, पाठ्यपुस्तक र दिवा खाजामा अनियमितता गरिएको र उपभोक्ता समितिबाट नगराउने काम पनि गराइएको र घुस लिइएको जस्ता उजुरी रहेका छन् । एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फस्र्योट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा बर्सेनि उजुरीको सङ्ख्या थपिँदै जाने गरेको पाइएको छ । अख्तियारमा परेका अधिकांश उजुरीमा अनियमितता पुष्टि हुने गरेको समेत आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयले जनाएको छ ।