calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

स्थानीय उत्पादनको प्रवर्धन र पर्यटन विकासका लागि महोत्सव : अध्यक्ष जोशी [अन्तर्वार्ता]

घोराहीमा सञ्चालन हुन थालेको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि १८ गतेसम्म घोराही उपमहानगरपालिका–१४ झिँगौरामा हुन थालेको छैठौ कृषि, पर्यटन तथा व्यापार महोत्सव हुन थालेको छ । कृषि, पर्यटन तथा व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुन थालेको महोत्सवले स्थानीय कृषि तथा लद्यु उद्यमबाट उत्पादन सामग्रीको बजार प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा महोत्सव मूलआयोजक समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीसँग गोरक्षकर्मी लीलाधर वलीले गरिएको कुराकानीको सारसंक्षेप ।

 महोत्सवको तयारी कहाँ पुग्यो ?

 महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव हुने स्थान घोराही उपमहानगरपालिका–१४ झिँगौरामा तारबार गरेर स्टल निर्माण, पिङ, बाल उद्यान निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेको छ । यो पटक महोत्सवमा जिल्लामा पहिलो पटक अन्डरवाटर फिस टनेल र जलपरि ल्याउँदै छौँ । सामग्री आएर त्यो पनि निर्माणको काम भइरहेको छ, समग्रमा भन्नु पर्दा अहिले ८०÷८५ प्रतिशत काम सकिएको छ, बाँकी काम फागुनको १ गतेसम्म सकिन्छ र २ गते महोत्सव उद्घाटन भएर सञ्चालन हुने छ ।

 छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवको मुख्य उद्देश्य के हो ?

 दाङको व्यापार व्यवसायलाई चलायमान बनाउँदै औद्योगिक क्षेत्र निर्माणको बाँकी कार्यलाई पूरा गर्ने हो । कोरोना सङ्क्रमणका क्रममा ओरालो लागेको व्यवसाय राम्रोसँग अझै तंग्रन सकेको छैन । व्यापार व्यवसायलाई चलाएमान बनाउँदै औद्योगिक क्षेत्र स्थापनाका लागि अहिले जग्गा प्राप्तिका लागि काम भइरहेको छ । फाइल वन मन्त्रालयमा पुगेको छ । जग्गा प्राप्तिपछि पूर्वाधार निर्माण गरेर व्यवसाय सञ्चालनको अवस्था बनाउन सकियो भने दाङको उद्योग व्यवसाय माथि उठ्न सक्छ भन्ने लागेको छ ।

त्यससँगै दाङमा नाप तौल कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता छ, कोइलावास नाकालाई पूर्णरूपमा खुलाउनु पर्ने छ । यी काम गर्नका लागि आर्थिक श्रोत जुटाउन आवश्यक छ । त्यससँगै स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा लद्युउद्यम र पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने महोत्सवको मुख्य उद्देश्य हो ।

 अघिल्ला वर्षभन्दा यो पटकको महोत्सवमा दर्शकले के फरक पाउँछन् ?

 दाङ उद्योग वाणिज्य संघले अहिले छैठाँै पटक महोत्सव आयोजना गर्न थालेको छ । त्यही भएर हामीले अहिले ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव’ भनेका छौँ । महोत्सव व्यापार, मनोरञ्जनसँगै पर्यटन, कला, संस्कृतिसँग पनि जोडिन्छ । त्यसैले हामीले विगत वर्ष जस्तै महोत्सवमा व्यापारिक स्टल राख्ने, कलाकार ल्याएर मनोरञ्जनसँगै पर्यटन र कृषिसँग सम्बन्ध्ीित उत्पादनलाई प्राथमिकता दिएका छौँ ।स्थानीय उत्पादनलाई गत वर्षमाभन्दा अहिले बढी प्राथमिकता दिनुपर्छ भनेर कृषि र लघुउद्यमका सामग्रीका सामग्री ल्याउनका छुट्टै समिति बनाएर खोजी गर्ने काम गरिरहेका छौँ । विभिन्न ठाउँबाट किसान सम्पर्कमा आइरहनुभएको छ ।

जिल्लाका दशवटै स्थानीय तहलाई सम्पर्क गरेर पालिकामा भएका कृषि र उद्यमशिलता सम्बन्धित सामग्री उपलब्ध गराउन भनेका छौँ । ती सामग्रीलाई महोत्वसमा निःशुल्क रूपमा स्टल प्रदान गरेर राख्ने व्यवस्था गरेका छौँ । साथै मनोरञ्जनका लागि स्थानीयस्तरमा रहेका प्रतिभावान कलाकारदेखि राष्ट्रियस्तरमा रहेका कलाकार ल्याउने छौँ । साथै पिङ, बाल उद्यानका सामग्री, जिल्लामा पहिलो पटक अन्डरवाटर फिस टनेल र जलपरि पनि ल्याउँदै छौँ । जलपरि सोको माध्यमबाट दाङको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । कृत्रिम तालमा जलपरि शैलीमा पौडी खेल्ने र नृत्य गर्ने विशेष कार्यक्रम महोत्सवको प्रमुख आकर्षण हुनेछ । साथै, दर्शकले जलपरिसँग फोटो खिच्दै नयाँ ढंगले महोत्सवमा मनोरञ्जन लिने छन् ।

 महोत्सवले कृषि, पर्यटन र व्यापार प्रवद्र्धनमा कसरी योगदान पु¥याउन सक्छ ?

 मैले अघि पनि भने, महोत्सव व्यापारिक उत्सव हो । उत्सवमा धेरै ठाउँमा व्यापारिक हिसावले वा किनमेलनसँगै अवलोकन गर्नका लागि धेरै मानिस आउनुहुन्छ । दाङमा उत्पादन भएका तर बाहिर आउन नसकेका कृषि, हस्तकला, लद्युउद्यमसँग सम्बन्धित सामग्री भए महोत्सवका माध्यमबाट बिक्रीसँगै प्रचारप्रसार हुने विश्वास छ । विगतमा घोराही मै भएका महोत्सवले विश्वकै होचो व्यक्तिका रूपमा खगेन्द्र थापामगरलाई विश्वभरी चिनाउनका साथै दाङको बर्दिया भालेलाई चर्चामा ल्याउने काम गरेको थियो ।

दाङमा अल्लो धागोबाट उत्पादन भएका कपडाको प्रचारप्रसारमा सहयोग पु¥याउने काम गरेको छ । अहिले पनि दाङमा पनि तिल्की चामल, कात्तिके महलगायतका स्थानीय उत्पादन चर्चित छन् । यी सामग्रीलाई दाङको ब्राण्डका रूपमा विकास गर्ने हाम्रो योजना छ । त्यससँगै जिल्लामा भएका पर्यटकीय सम्भावना बोकेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्न सहयोग गर्नेछ । साथै विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत गर्ने तयारीमा छौँ । कृषि, हस्तकला र उद्यमशिलतालगायतका सामग्रीहरु निशुल्क रुपमा ल्याउनका लागि कृषि ज्ञान केन्द्र, सम्वन्धित स्थानीय तहसँग समन्वय भइरहेको छ ।

 आर्थिक रूपमा व्यापार व्यवसाय घाटामा भइरहेको अवस्थामा चलाएमान बनाउन महोत्सवले कस्तो भूमिका खेल्न सक्छ ?

महोत्सवको अवसर पारेर हामीले भारतको तुलसीपुरबाट समेत उद्योग व्यवसायीलाई निमन्त्रणा गरेका छौँ, उनीहरू आएर महोत्सवलाई हेर्ने दाङका धार्मिक तथा पर्यटकीयमा आउने वातावरण बनाउन स हो, कोरोना सङ्क्रमणका क्रममा थला परेको व्यवसाय अझै उठ्न सकेको छैन । घोराही बजारको मुख्य न्यूरोड मै अहिले पनि सटर खाली लेखिएका सूचना देख्न सकिन्छ । पछिल्लो समय व्यवसाय गर्ने वातावरण छैन भन्दै धेरै युवा विदेशिँदा त्यसको असर व्यापार व्यवसायमा परेको छ । ओरालो लागेको व्यवसायलाई माथि उठाउनका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको छ । अहिलेको महोत्सवले त्यसमा पनि थोरै भए पनि योगदान गर्ने अपेक्षा गरेका छाँै ।के पक्कै पनि व्यापार व्यवसायलाई सहयोग पुग्ने छ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

 महोत्सवमा स्थानीय तथा बाह्य व्यवसायीको सहभागिता कस्तो रहने छ ?

 महोत्सवमा सकेसम्म हामीले स्थानीय कृषि उत्पादन, हस्तकला र लघुउद्यमका सामग्रीलाई प्राथमिकता दिएका छौँ । त्यससँगै विभिन्न जातजातिसँग सम्बन्धित कला संस्कृति, विभिन्न जातिसँग सम्बन्धित खाना, भेषभुषालगायतका सामाग्रीलाई स्टलका रूपमा राख्ने छाँै । त्यससँगै महोत्सवमा स्टल राख्न चाहने स्थानीय व्यवसायीलाई पनि प्राथमिकता दिएका छौँ । त्यसपछि मात्र बाहिरबाट आउने व्यवसायीलाई महोत्सवमा स्टल दिएका छाँै । यस हिसाबलेभन्दा महोत्समा सकेसम्म स्थानीय उत्पादन र व्यवसायिका सामग्रीलाई स्थान दिँदै छौँ ।

 किसान, व्यवसायी र उद्यमीका लागि महोत्सव कसरी अवसर हुन सक्छ ?

 हो, हामीले ख्याल गर्नु पर्ने महत्वपूर्ण कुरा यही हो । महोत्सव भन्ने वित्तिकै बाहिरबाट व्यवसायी आउने र व्यापार गरेर लैजाने र स्थानीय व्यवसायीलाई असर गर्ने भन्ने मात्र छ । पक्कै पनि केही न केही त असर गर्छ नै तर महोत्सवलाई उपलब्धीमूलक बनाउन पनि ध्यान दिनुपर्छ । कृषि, हस्तकला, उद्यमशिलता, जडिबुटीका सामग्रीलाई स्टलमा राखेर प्रचारप्रसार, बिक्री वितरणसँगै महोत्सवको मञ्च नजिकै डिजिटल बोर्ड स्थापना गरेर सबैलाई देखाउने गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाउँदै छौँ । यसरी महोत्सवमा ल्याउँदा पक्कै पनि राम्रो, गुणस्तरीय, आकर्षण सामग्री भए त्यसको बिक्री वितरणसँगै प्रचारप्रसारमा सहयोग पुग्ने छ ।

विगतका महोत्सवले अल्लो धागोबाट बन्ने कपडालाई जसरी आज राष्ट्रियसँगै विश्व बजारमा पु¥याएको छ । त्यसैगरी अन्य जिल्लाका उत्पादनलाई पनि बाहिर ल्याउन सहयोग खेल्ने छ भन्ने हाम्रो अपेक्षा छ । जिल्लाका महत्वपूर्ण सबै पर्यटकीयस्थलको प्रचारप्रसारसँगै महोत्सव स्थलमै स्टल राखेर व्यवसायिक सचेतनाको काम हुने छ । त्यसका लागि आन्तरिक राजश्व कार्यालय, घरेलु उद्योग कार्यालयलगायतसँग कुरा भएको छ ।

 महोत्सवले जिल्लाको अर्थतन्त्रमा कस्तो प्रभाव पर्न सक्छ ?

 खासगरी महोत्सवको मुख्य उद्देश्य भनेकै जिल्लाको अर्थतन्त्रलाई चलाएमान बनाउने हो । व्यापार व्यवसायलाई माथि उठाउनका लागि हो । स्थानीय उत्पादनको प्रवद्र्धन र प्रचारप्रसारका लागि हो । त्यसका लागि बस्तुगत उपसमितिसँगै छिमेकि उद्योग वाणिज्य संघ पनि छलफल र सहकार्य गर्दै आएका छौँ । ओरालो लागेको अर्थतन्त्रलाई माथि उठाउनका लागि निजीबाट तीनै तहका सरकारसँग छलफलसँगै छिमेकि देश भारतका व्यवसायीसँग समेत छलफल गर्दै आएका छाँै ।

महोत्सवमा स्थानीयस्तरमा रहेका कलाकारदेखि राष्ट्रियस्तरमा चर्चा कमाउन सफल कलाकारलाई ल्याएर मनोरञ्जनसँगै व्यवसाय पनि हुने भएकाले आर्थिक अवस्थालाई चलायमान बनाउन सहयोग खेल्ने छ भन्ने विश्वास रहेको छ ।

 उद्योग वाणिज्य संघले विगतका वर्षमा पनि महोत्सव गर्ने गर्दै आएको छ, त्यी महोत्सवले जिल्लाको व्यापारिक तथा आर्थिक क्षेत्रमा के कति योगदान गरेका छन् ?

 हो, उद्योग वाणिज्य संघले विगत केही वर्षदेखि जिल्लामा महोत्सव सञ्चालन गर्दै आएको छ । जिल्लाको व्यापार व्यवसायलाई माथि उठाउनदेखि विकास निर्माण र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । साथै घोराहीबाट स्वर्गद्वारी जोड्ने सडकको ट्रयाक निर्माण, बहुउद्देश्यीय सभागृह, औद्योगिक क्षेत्र घोषणालगायत सामाजिक क्षेत्रमा काम गरेको छ ।

 महोत्सवका क्रममा हुन सक्ने विपद्बाट व्यवसायीलाई बचाउन के–कस्तो सुरक्षा अपनाउनु भएको छ ?

 महोत्सवमा आउने व्यवसायीको सुरक्षाका लागि बिमाको व्यवस्था गर्दैछाँै । त्यसका लागि व्यवसायीले ल्याएको सामग्रीको लगत ल्याउने र त्यसबाफत केही शुल्क व्यवसायीबाट लिने र बाँकी उद्योग वाणिज्य संघले हालेर बिमाको व्यवस्था गर्नेछौँ । त्यससँगै सुरक्षा गार्ड, स्वयसेवकसँगै सिसी क्यामेराको व्यवस्था गरेका छौँ । व्यवसायिक सुरक्षाका लागि महोत्सवमा ३५ देखि ४० वटा सिसी क्यामेरा राख्दै छौँ । सुरक्षा गार्डका लागि पूर्व प्रहरी तथा नेपाली सेनाबाट रिटाएर भएका व्यक्तिलाई जिम्मा दिएका छौँ ।

 अन्त्यमा थप केही भन्नु छ ?

 अहिले हामी महोत्सवको अन्तिम तयारीमा जुटेका छाँै । छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव, हाम्रा लागि उत्सव हो । उत्सवमा सहभागीताका लागि सम्पूर्ण जनतालाई यही मिडियाका माध्यम आग्रह गर्न चाहान्छु । स्थानीयस्तरमा राम्रो उत्पादन र बजारको सम्भावना भएको तर हाम्रो नजर नपुगेका कृषिसम्बन्धी उत्पादन, हस्तकलाका सामग्री, जडिबुटीलगायतका सामग्री भए सम्पर्कमा आउन समेत अनुरोध गर्दछु । साथै महोत्सवको तयारीसँगै उद्योग वाणिज्य संघका गतिविधिका बारेमा कुरा राख्ने अवसर दिनुभएकोमा धेरै–धेरै धन्यवाद ज्ञापन गर्दछु ।