calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

महोत्सवमा पहिलो पटक जलपरी प्रदर्शन र ‘अन्डरवाटर फिस टनेल’

दाङ,२८ माघ । दाङको घोराहीमा हुन थालेको ‘छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा पहिलो पटक जलपरी प्रदर्शन र ‘अन्डरवाटर फिस टनेल’ हुने भएको छ ।

फागुन २ गतेदेखि १८ गतेसम्म घोराहीमा आयोजना हुन लागेको ‘छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा नेपालमै पहिलो पटक जलपरी प्रदर्शन तथा दाङमै पहिलो पटक अन्डरवाटर फिस टनेल प्रस्तुत गरिने भएको छ।

महोत्सवका संयोजक बसन्त जोशीका अनुसार, नेपालकै पहिलो जलपरी शोको माध्यमबाट दाङको पर्यटन प्रवर्द्धन हुने विश्वास गरिएको छ। कृत्रिम तालमा जलपरी शैलीमा पौडी खेल्ने र नृत्य गर्ने विशेष कार्यक्रम महोत्सवको प्रमुख आकर्षण हुनेछ। साथै, दर्शकहरूले जलपरीहरूसँग फोटो खिच्ने अवसर पनि पाउने समेत संयोजक जोशीले बताउनु भयो ।

यसैगरी दाङमै पहिलो पटक ‘अन्डरवाटर फिस टनेल’ को व्यवस्था मिलाइएको छ, जहाँ आगन्तुकहरूले टनेलभित्र गएर विभिन्न प्रकारका माछाहरू नजिकबाट हेर्न सक्नेछन्। महोत्सवका सहसंयोजक नरेश कुमार श्रेष्ठका अनुसार, विभिन्न रंग र आकारका समुद्री माछाहरू प्रदर्शन गरिनेछन्, जसले विदेशी अनुभव दिनेछ।

महोत्सवको तयारी तीव्र रूपमा भइरहेको आयोजक समितिले जनाएको छ। पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रम नेपालकै अनौठो महोत्सव हुने अपेक्षा गरिएको छ।