‘मरुभूमीकरणबाट जोगिन मुहान संरक्षण’

घोराही खानेपानीको २४औँ साधारणसभा
अमरराज आचार्य
दाङ, २७ माघ ।जिल्लालाई मरभूमीकरण हुनबाट बचाउन पानीको मुहान संरक्षण गरिनुपर्ने सरोकारवालाले बताएका छन् । शनिवार घोराहीमा सम्पन्न घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २४औँ साधारणसभामा बोल्ने वक्ताले उत्तरी भेगमा जलाशय निर्माण गरेर पानी रिर्चाज हुने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
पानीको स्रोतको रूपमा रहेको चुनढुङ्गा उत्खनन् तथा नदीजन्य पदार्थको उत्खनन् गर्नाले पछिल्लो समयमा पानीको मुहान सुक्दै गएको चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै भरतपुर खानेपानी संस्थाका अध्यक्ष शंकर गौतमले खानेपानी क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताएका थिए । तीनवटै तहको सरकारबाट खानेपानी संस्थाहरू उपेक्षामा परेको उनले बताए । गैरनाफामूलक सेवा गर्ने उद्देश्यले स्थापना भएका खानेपानी संस्थाहरूलाई राज्यले २५ प्रतिशत कर लिने गरेको भन्दै उनले भने, ‘सेवामूलक संस्थाबाट राज्यले व्यवसायी कर लिएजस्तै गरी कर लिन्छ, विद्युत महसुल समेत उद्योगी सरह नै तिर्न लगाउँछ ।’
राज्यले नागरिकलाई स्वस्थ र स्वच्छ खानेपानी वितरणमा सहयोग गर्नुको साटो उल्टो समस्यामा पार्ने गरेको उनले बताएका थिए । यसैगरी चौघेरा खानेपानी संस्थाका अध्यक्ष हरि सुवेदीले जिल्लामा चुनढुङ्गाको अत्यधिक उत्खनन्ले गर्दा पहडा नै रित्तिने अवस्थामा पुगेको बताएका थिए ।
उनले पहाडै रित्तिने गरी चुनढुङ्गा उत्खनन् गरेकैले पानीको मुहान सक्दै गएको बताएका थिए । ‘डोजरले पहाड हल्लाउँदा पानीका मुहान हराउँदै गएका छन्’, सुवेदीले भने । यस्तो अवस्था आउँदा समेत राज्यको ध्यान पुग्न नसकेको उनको भनाइ छ ।
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले नागरिकलाई स्वच्छ खानेपानी पु¥याउने राज्यको दायित्व रहेको बताएका थिए । राज्यले आप्mनो दायित्व पूरा गर्न नसकेको भन्दै त्यसमा खानेपानी संस्थाहरूले सहयोग गरेको उनको भनाइ थियो । यसरी राज्यलाई सहयोग गर्दा पनि राज्यले खानेपानी संस्थालाई सहयोग गर्नुको साटो उल्टो दुख दिने काम गरेको बताएका थिए ।
‘स्वच्छ खानेपानी उपभोग गर्न पाउने संविधानले दिएको मौलिक हक तथा नैसर्गिक अधिकार समेत राज्य सही ढङ्गले कार्यानवयन गर्न सकेको छैन्, उपभोक्ता संस्थाहरूले त्यसमा सहयोग गर्दा उल्टै दुःख दिन्छ’, वलीले भने ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौं सहलगानी आयोजनाका प्रमुख नारायणप्रसाद आचार्यले खानेपानीसम्बन्धी भएका ऐन निमावली अनुसार नै सरकार अगाडि बढ्ने बताए । ऐन निमावली प्रभावकारी भए खानेपानी क्षेत्रमा हुने दोहोरोपना हट्ने उनको भनाइ थियो । उपभोक्ता संस्थाहरूले भनेको जस्तो समस्या नभएको उनको दाबी थियो ।
उनले बबई लिफ्टिङको काम पूरा भए घोराहीमा खानेपानीको समस्या समाधानमा सहयोग पुग्ने बताएका थिए । उनले पानीको मुहान संरक्षणका लागि ग्वार खोलामा जलाशय निर्माण गर्न उपयुक्त हुने भन्दै त्यसमा सबैले आ–आप्mनो तर्फबाट पहल थाल्नुपर्ने बताएका थिए । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगन्जका प्रमुख अतुलेसकुमार कर्णले राज्यले नागरिकलाई खानेपानीको उपलब्धता गराउन एक घर एक धारो अभियान सञ्चालन गरेको बताएका थिए ।
यसको लागि राज्यसँगै खानेपानीका संस्थाहरूले सहयोग समेत गर्दै आएको बताएका थिए । जनसङ्ख्या वृद्धि भएसँगै खानेपानीको माग बढेकाले पछिल्लो समयमा केही समस्या देखिन गएको उनको धारणा थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षता तथा खानेपानी ढल विकास आयोजनाका प्रमुख नारायणप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । नेपाली कांग्रेसका भुपबहादुर डाँगी, नेकापा एमालेका विवेक आचार्य, नेकपा माओवादी पार्टी दाङका सचिव विश्व आचार्य, नेकपा समाजवादी दाङका गुरुप्रसाद महरा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय क्रान्तिकारी पार्टीका लालध्वज पुन, खानेपानी सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष ताराबहादुर डाँगी, सल्लाहकार हरिप्रसाद पाण्डेय, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ शाखाका सचिव जेएन सागर, सर्रा खानेपानी संस्थाका अध्यक्ष रमेश जिसी, उपभोक्ता केशव दीपक न्यौपानेलगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष ध्रुव केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका बरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव श्रेष्ठले गरेका थिए । कार्यक्रममा नियमित रूपमा सबैभन्दा बढी महसुल तिर्ने प्रकाश नेपाली र नियमित रूपमा सबैभन्दा कम महसुल बुझाउने मंगली पुनलाई सम्मान गरिएको थियो । यसैगरी संस्थाका कर्मचारी विकास चौधरी र नवीन श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो ।
।