calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

बाटोमा हिड्दा सुरक्षित हुनु मात्र सुरक्षा होइन : डिआइजी कार्की

गोरक्ष समाचारदाता
तुलसीपुर, २७ माघ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले बाटोमा हिडिरहेको मानिस सुरक्षित हुनु मात्र सुरक्षा नभएको बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले सुरक्षाभित्र अन्य धेरै कुराहरू जोडिएको भन्दै नागरिकको जिउ धनको सुरक्षालाई मात्र प्राथमिकतामा परे पनि समग्र सुरक्षाभित्र अन्य अन्योन्याश्रित सम्बन्धहरू रहेको बताए ।

कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य वातावरण सबैमा सुरक्षित भइयो भने मात्र समग्रमा सुरक्षा भएको भन्न सकिने उनको भनाइ थियो । ‘सुरक्षाभित्र कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य सबै कुराको अन्योन्याश्रित सम्बन्ध हुन्छ, यो सबै राम्रो भयो भने सुरक्षा पनि राम्रो हुन्छ’, लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीले भने ।

उनले एउटा बच्चा गर्भमा हुँदा उपयुक्त पोषण सुरक्षा पाए मातृ सुरक्षा पाउने भन्दै त्यसबाट बच्चा मात्र नभएर आमा पनि स्वस्थ हुने बताए । शिक्षा राम्रो भयो भने व्यक्ति ठगिनबाट बच्चनुका साथै अशिक्षाले अन्य कुराहरू नहुने भन्दै शिक्षा सुरक्षा पनि त्यत्तिकै आवश्यक पर्ने बताए । प्रमुख कार्कीले मानिस स्वास्थ भयो भने सबै कुरा राम्रो हुने बताए ।

सबै क्षेत्रमा ‘पुलिसले के गरेको छ र ?’ भन्ने प्रवृत्ति बढेको भन्दै सबैले आ–आफ्नो कर्तव्य र दायित्व वहन गर्न आवश्यक रहेको डिआइजी कार्कीले बताए । ‘अहिले कहीँकतै बिजुलीको तार लत्रियो, रुख ढल्यो, स्कुलमा शिक्षकले पढाएन भने, सडकमा अअनियत्रित तरिकाले गाडी चलाईो भने पुलिसले के हेरेको छ भने कुरा आउँछ’, कार्कीले भने ।

उनले आफूहरू बर्दी लगाएको पुलिस भए पनि बर्दी नलागएका पुलिस जनता भएको बताए । ‘व्यापारी व्यापारी जस्तो बन्नुस्, पुलिस पुलिस जस्तो, पत्रकार पत्रकार जस्तो बन्नुस्, व्यापारी पुलिस बन्यो र पुलिस व्यापारी बन्यो भने के होला ?’, उनले भने ।

आफू लुम्बिनी प्रदेशको नेतृत्व सम्हाले पनि धेरै सुधारका काम सुरु गरेको बताए । प्रमुख कार्कीले आफ्नो संगठनमा सुधारदेखि राजस्व सङ्कलन, फैसला कार्यान्वय, अपराध अनुसन्धानदेखि राज्यलाई आर्थिक रूपमा सबल बनाउन लागेको बताए ।

‘अहिले आर्थिक क्षेत्र सङ्कटमा गुज्रिएको छ, यसलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा सबै लाग्नु पर्छ, उद्योग, व्यापार, पर्यटनदेखि अन्य क्षेत्रको विकासमा हामीले पनि सहयोग गरिरहेका छौँ’, प्रमुख कार्कीले भने । उनले लुम्विनी प्रदेश पर्यकटकीय रूपमा सवल भएको बताए ।
उनले यसका लागि पर्यटकलाई कसरी सहज गराउन सकिन्छ भनेर आफूहरूले पर्यटक भित्रिने नाकामा मात्र जाँच गर्ने व्यवस्था मिलाएको बताए । ‘बाहिरी लगानी भित्राउन सकिन्छ, उद्योग व्यापार कसरी बढाउन सकिन्छ, पर्यटक कसरी धेरै समय प्रदेशमा राख्न सकिन्छ भन्नेमा सवै लाग्नुपर्छ’, उनले भने ।

नेपालबाट निर्यात थोरै र आयात धेरै हुने देखिएको भन्दै ‘स्वदेशी वन स्वदेशी भन’ भन्ने कुरामा लाग्नु पर्ने बताए । ‘मैले हाम्रो संगठनभित्र फुलगुच्छा मालादेखि खादा समेत कहीँ कतै नलगाउनु, नल्याउनु भनेको छु, त्यसैले आफ्नै बारीमा फुलेको फूलले स्वागत गरी रहनुभएको छ’, कार्कीले भने ।

उनले नेपालमा अर्बौको फूल, खादा, मालालगायत अन्य वस्तुहरू भित्रिने भन्दै अन्य अनुत्पादक खर्च घटाउनमा सबैलाई लाग्न आग्रह गरे । ‘नेपालमा अहिले लाखौँका खुर्सानी भित्रिने गरेको छ, बाँदरले क्षति नगर्ने खुर्सानीसमेत बाँझो जमिनका लगाउन सक्छाँ,ै बाँदर धपाउन रकम माग गर्नुभन्दा खुसानी फलाउनतर्फ लाग्नुपर्छ’, उनले भने । कार्कीले समग्र शान्ति सुरक्षा व्यावसायिक सुरक्षालगायतका प्रहरीले गर्नुपर्ने काम कर्तव्य आफ्नो संगठनले गर्ने भन्दै सबैेको साथ सहयोग आफूहरूलाई आवश्यक पर्ने भन्दै सहकार्य गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गर्न लागेको सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर अभियानको विषयमा संघका अध्यक्ष बिनिल केसीले डिआइजी कार्कीलाई जानकारी गराएका थिए । केसीले नबिल बैंकको सहयोग तथा प्रहरीको साझेदारीमा सुरक्षा सतर्कताका लागि आकस्मिक सेवा सम्पर्क नम्बरसहितको स्टिकर विभिन्न स्थानमा टाङ्ने तयारी गरेको बताए । सो अवसरमा सो स्टिकर सार्वजनिक समेत गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजाललगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण प्रेस संयोजक शरद रेग्मीले गरेका थिए ।