calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

पार्टीलाई विपन्न वर्गसँग जोड्न आवश्यक : नेता दहित

गोरक्ष समाचारदाता
दाङ, २६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले पार्टी संगठनलाई बलियो बनाउन पार्टीलाई विपन्न वर्गसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस दाङको आयोजना तथा विपन्न उत्थान समन् वय विभागको सहकार्यमा घोराहीमा भएको विपन्न वर्गको पहिचान, उत्थान र विकासका लागि सरोकारवालसँग नीति निर्माण र योजना प्राथमिकतासम्बन्धी सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य दहितले विपन्न वर्गलाई समेट्दै अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।

विपन्न वर्गको हकअधिकारका लागि नेपाली कांग्रेसले स्थापनाकालदेखि नै लड्दै आए पनि पछिल्लो समय विभाग नै गठन गरेर विशेष रूपमा लागेको बताए । विपन्न वर्गको पहिचान, उत्थान र विकासका लागि नीति निर्माण र योजना बनाएर कांग्रेस अघि बढ्न थालेको भन्दै विपन्न वर्ग समन् वय विभागका प्रमुख समेत रहेका केन्द्रीय सदस्य दहितले भने, ‘विपन्न वर्गको अधिकार र आर्थिक रूपमा सम्पन्न बनाउने गरी नीति र योजना निर्माणको काममा लागेका छौँ ।’ उनले विपन्न वर्गको जीवनस्तर उकास्न पार्टीले ठोस कार्यक्रम ल्याउने बताए ।

विपन्न वर्गको आर्थिक र सामाजिक विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यक रहेको भन्दै केन्द्रीय सदस्य दहितले देश भरबाट सुझाव सङ्कलन गर्नका लागि कांग्रेस लागेको बताए । सुदूरपश्चिमबाट सुरु भएको सुझाव सङ्कलनको काम अहिले दाङमा भइरहेको भन्दै सातै प्रदेशसहित काठमाडौंमा विपन्नवर्गका रूपमा रहेका दलित, श्रमिक, मजदुर, कमैया, मुक्त कमलरीलगायत सबैसँग सुझाव सङ्कलन गरेर शिक्षा, स्वास्थ्यमा पहुँच वृद्धिसँगै रोजगारसँग जोड्ने कार्यक्रमका लागि पार्टीलाई सुझाव बुझाउने बताए ।

कार्यक्रमका सहभागीले विपन्न वर्गको उत्थानका लागि निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्थासँगै स्वरोजगारमूलक कार्यक्रमहरू ल्याउन आवश्यक रहेको वक्ताले जोड दिएका थिए । वास्तविक विपन्न वर्गको पहिचानसँगै अघि बढाउन निःशुल्क रूपमा शिक्षा, स्वास्थ्य र रोजगारमूलक कार्यक्रम ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन् । वास्तविक रूपमा गरिखाने वर्गलाई अघि बढाउन शिक्षाको पहुँचमा ल्याउन आवश्यक रहेको भन्दै नेपाली कांग्रेस महासमिति सदस्य बिमला योगीले त्यसका लागि अभिभावकलाई सिप र बालबालिकालाई शिक्षामा जोडनुपर्ने बताइन् ।

‘सचेतनाको अभावका कारण विपन्न समुदायमा सानै उमेरमा विवाह गर्ने र त्यसले महिलाको स्वास्थ्यसँगै आर्थिक रूपमा परिवारमा बोझ थप्ने काम गरेको छ’, कार्यक्रममा योगीले भनिन्, ‘विपन्न वर्गलाई माथि उठाउन सचेतनासँगै आयआर्जनमा जोड्न सिपको आवश्यक छ, कांग्रेसले यसतर्फ ध्यान दिनु आवश्यक छ ।’ उनले विपन्न दलित, बादी, गन्धर्व, कुसुन्डालगायतका विभिन्न जातजाति र वर्गलाई माथि उठाउने गरी लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा मुक्त कमलरी आशा चौधरीले सरकारले कमलरी मुक्तिको घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै कांग्रेसले मुक्त कमलरीलाई निःशुल्क रूपमा उच्च शिक्षा, स्वास्थ्यको व्यवस्थासँगै रोजगारीमा जोड्ने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् । अहिले पनि धेरै कमलरीले मुक्त कमलरी परिचयपत्र प्राप्त गर्न नसक्दा राज्यले दिने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै चौधरीले भनिन्, ‘सरकारले कमलरी मुक्तिको घोषणा त ग¥यो तर सबै कमलरीलाई परिचयपत्र दिन सकेको छैन ।

परिचयपत्र नपाउँदा कतिपय कमलरीले राज्यले प्रदान गर्ने सेवा पाउन सक्नुभएको छैन, यसतर्फ ध्यान दिनुहोला ?’ उनले उच्च शिक्षासँग अध्ययनको व्यवस्थासँगै आयआर्जनका लागि रोजगारीमा जोड्ने गरी कार्यक्रम बनाउन आग्रह गरेकी थिइन् । आर्थिक रूपमा विपन्न वर्गलाई साथ लिनका लागि कांग्रेसले उनीहरूका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै रोजगारमूलक कार्यक्रम ल्याउनका लागि पहल गर्नुपर्ने बताए । विपन्न वर्गका समस्या बुझेर समस्या समाधानका लागि पहलसँगै उनीहरूलाई सिपमूलक कार्यमा जोड्न सके पार्टी संगठन निर्माणमा सहयोग पुग्ने बताए । कांग्रेसका जिल्ला सदस्य प्रदीप मजगैयाँले विपन्न वर्गको सही रूपमा पहिचानसँगै क्षमतावान् व्यक्तिलाई अघि बढ्नका लागि कांग्रेसले अवसर सिर्जना गर्ने गरी अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले देशमा राजनीतिक परिवर्तनसँगै कमैया, कमलरी मुक्तिको घोषणालगायतका महत्वपूर्ण काम गर्दै आएको भन्दै अब विपन्न वर्गको उत्थानका लागि सीपमूलक कार्यक्रमका माध्यमबाट रोजगारमा जोड्नुपर्ने बताएका थिए । साथै भूमिहीन, सुकुम्बासीलगायत वर्गीय रूपमा पछाडि परेका समुदायलाई सही रूपमा पहिचान गरेर माथि उठाउने गरी कार्यक्रम ल्याउन सके त्यसले पार्टीको संगठन निर्माणमा सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सचिव टेकबहादुर वली, सुशीला पौडेल, श्रीराम दहित, सुन्दर चौधरी, कृष्ण चौधरी, चन्द्रप्रसाद चौधरी, डिके जोशीलगायतले सुझाव व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, संविधान सभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेय, प्रदेश सदस्य पुष्पा श्रेष्ठ, जानका केसी, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति मोहनलाल वली, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्कालगायतको सहभागिता रहेको थियो । जिल्ला उपसभापति गिरिराज सुवेदीले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुनकुमार योगीले गरेका थिए ।