युवराज शर्मा
पहिलेको रामपुर गाविसमा पर्ने चाक्लिघाट एउटा गाउँ हो । अहिले यो गाउँ घोराही उपमहानगरपालिका वडा नं.मा पर्छ । पहिलेको रामपुर गाविस घोराही उपमहानगरपालिका भएपछि रामपुर गाविसलाई वडा नं. १ र २ मा विभाजन भएको छ । उपमहानगरपालिकामा मेयर नरुलाल चौधरी र वडा अध्यक्षमा केशव आचार्य भएकोले उहाँहरुको पहिलो कार्यकालमा स्थापना भएको चाक्लिघाट गौशाला हो । त्यस समयमा गाईहरु घरमा पाल्ने र दुध दिन छोडेपछि घरबाट लखेट्ने चलन बढ्दै गयो । यसरी लखेटिएका गाईहरुले घोराही बजार क्षेत्रमा जम्मा भए ।
यातायातको आवागमनमा ट्राफिक समस्या भयो । यसलाई समाधान गर्न मेयर नरुलाल चौधरीले चाक्लिघाटमा गौशालाको व्यवस्था गरेर गौमाताहरुलाई आश्रयस्थल बनाई दिएको भन्छन् गौशालालमा काम गर्ने मानबहादुर वली । उनले गाईहरुको संख्या १५२ र २ वटा बाच्छाबाछी भएको सुनाए । पहिले मासिक रु १५००० पन्ध्र हजार तलब दिन्थे भने अहिले मासिक रु. १८००० अठार हजार उपमहानगरपालिकाबाट पाउने भएका वलीले सुनाएका थिए । अहिले काम गर्नेहरु समेत तीनजना छौ भन्थे वलीले २०८१ माघ ४ गते उक्त गौशाला हेर्न लेखक रझविराम पौडेल गएका थिए ।
प्रत्यक्षदर्शिका अनुसार गोठहरुको अवस्था जीर्ण भएको र नयाँ घर पनि अधुरो भएको व्यथा सुनाएका थिए । हाम्रो घुमफिरको उद्देश्यहरुमध्ये मालेको लेकमा घोराही उपमहानगरपालिकाले बनाएको टावर, कुँवा सिढीहरु र पार्कस्थल हेर्नु थियो भने चाक्लिघाटको गौशाला हेरेर घर फर्कने थियो । भ्यूटावरलाई हेर्दा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको लक्ष्यअनुसारभ्यूटावर बनाइएको पाइयो । गोरेटो र घोरेटो बाटो बन्न नसकेको ठाउँमा भ्यूटावर बनेको देख्दा घाँस काट्न गएका नारीहरु हाँस्छन् भन्थे रहेछ पनि ।
गौशालामा गाउँबाट गाई गोरु ल्याएर छोड्ने प्रचलन गाउँघरमा बढ्दो छ । त्यहाँ गाई गोरुको प्रवेश शुल्क रु १००० एकहजार रुपैयाँ रहेछ । सरसरी गौशाला हेर्दा त्यहाँ भत्के बिग्रेका टहराहरुलाई पक्कि घर बनाएर मर्मत सम्हार गर्नु पर्ने छ । बाँझो जमिन प्रशस्त छ । प्राङ्गारिक मल पनि पर्याप्त छ तर खेती गरिएको छैन । यदि उपमहानगरपालिकाले खेतीको व्यवस्था गरिदिने हो भने त्यहाँको खर्च बाँझो जग्गाबाट हुने थियो । यसतर्फ उपमहानगरपालिकाको ध्यान गएको पाइएन । चरिचरण क्षेत्र ठुलो छ । करिब १५००० गाई गोरुहरुको संरक्षण हुनसक्छ तर गौशाला भवन, चरिचरणको संरक्षण काम गर्नेमा कर्तव्य खाँचोे छ ।
अहिले भएका तीनजनाले मात्र सञ्चालन गर्न समस्या छ । गाई गोरुहरु घरमा नपाल्ने मानिसहरुको प्रवृति बढेको छ । घरमा भएका गाई गोरुहरुलाई गौशालामा बुझाउने र घरमा भएका वृद्धवृद्धाहलाई वृद्धाश्रम लग्ने चलन बढिरहेको मानव समाजले भविष्यको लेखाजोखा गर्न छोडेको स्वार्थी भावना बढेको समाज बन्दै छ । यसतर्फ स्थानीय सरकारको ध्यानले मात्र पुग्दैन । मानव समाज निर्माणका लागि राज्यको नीति हुनुपर्छ । त्यसका लागि प्रदेश र सङ्घीय सरकारको ध्यान जानुपर्छ । तबमात्र गौशाला र वृद्धाश्रमले महत्व राख्छन् ।
गाउँघरमा गाई गोरु पालेर खेतीपाती गर्ने किसानहरुले खेती गर्न छाडिसकेका छन् । प्राङ्गारिक मल खेतबारीमा हालेर खेती गर्ने चलन हटिसकेको छ । रासायनिक मलको अत्यधिक प्रयोग गर्ने चलन खेती गर्ने किसानहरुमा बढ्दै गएको अवस्था छ । सरकारका जनप्रतिनिधिहरुले पनि गाउँघरमा भन्छन्– आधुनिक खेती गर्नुपर्छ । रासायनिक मलको प्रयोग गर्नुपर्छ । हाइब्रेड बिउ लगाउनुपर्छ र धेरै उत्पादन बढाउनुपर्छ तर जनप्रतिनिधिहरुले खेती गर्दैनन् । किसानहरुलाई अर्ति उपदेश दिन्छन् र भन्छन्–गाई गोरुहरुलाई पाल्न कठिनाई भयो भने गौशाला पठाउनु पर्छ । यस्ता गौशालाहरु जिल्लाका ठाउँ–ठाउँमा छन् ।
मान्छे बुढो भयो र काम गर्न नसक्ने भएपछि वृद्धाश्रममा लगेर राखिदिने र गाई गोरुलाई पाल्नका लागि कठिनाई भएमा बजार लगेर नछाड्ने । यिनीहरुलाई नजिकको गौशालामा बुझाउनु पर्छ । मानिस मर्दा गहत प्रयोग गर्नुपरेका बजार गएर बोतलको गहत किन्नुपर्छ । जोसुकै जनावरको गहत किन नहोस् । यो पनि आधुनिक चलन हो । वर्तमान समय आधुनिकता अपनाउने समय हो भन्छन्– युवा वर्ग । गाई एउटा गौमाता हुन् । हिन्दुहरुका लागि गाई पवित्र हो तर हिन्दुहरुले गाई पाल्न चाहँदैनन् । उनीहरुले गाईको पूजा गर्ने गर्छन् । हृदयदेखि पूजा गर्दैनन् । देखावटी मात्र हो । वर्तमान समयमा गाउँलेहरुले गाउँघरमा गाई गोरु पाल्न छोडेका छन् । पैसा फेक्यो, टेक्टर बोलायो, जमिन जोतायो । काम सकियो । समय बित्यो । थोरै समयमा खेती गरियो भन्छन्– गाउँलेहरु ।
पैसा कमाउन इण्डियाका गल्लीहरुमा लेवर काम गर्न गयो । यो चलन गाउँघरमा बढ्दो छ । प्राङ्गारिक मल बनाउने चलन सकियो । रासायनिक मलको प्रयोग गर्ने चलन बढ्यो तर खेतबारीको माटो बिग्रेको ज्ञान छैन । परापूर्वदेखिको चलन हटाएर आधुनिक बन्नुपर्छ भनाई गाउँघरमा चर्चा छ । कति दुःखारी भएछन्– हाम्रा गाउँघरमा पालिने गाई गोरुहरु । उनीहरुलाई थन्काउन गौशाला पनि स्थानीय सरकारले बनाउनु परेको छ भने बुढाबुढीहरुलाई थन्काउन वृद्धाश्रम खोल्नु परेको छ ।
चाक्लिघाटको गौशलालाई व्यवस्थित बासस्थान, मलमुत्रको उचित उपयोग नगर्ने हो भने त्यहाँ भएका गाई गोरुहरु समस्यामा पर्ने छन् । उनीहरुलाई छहाराको व्यवस्था गर्नु पर्ने छ । समय–समयमा नुन खुवाउनुपर्छ । पाले बस्ने घर र सामग्रीहरु राख्ने घर चाहिएको छ । बिग्रे भत्केका गोठहरुको समयमा उपमहानगरपालिकाले व्यवस्था गरिदिनु पर्छ । गौशालाको नाम मात्र दिएर हुँदैन भन्छन्– स्थानीय बासीहरुले ।
गौशाला जान लमहीबाट ३ बजे छुट्ने सार्वजनिक बस छ । त्यो बस चाक्लिघाटको गौशाला नजिकै गाउँबाट मूलाबारीसम्म पुग्छ र बिहान ८ बजे मुलाबारीबाट फर्कन्छ । चाक्लिघाटको गौशाला नजिकै गाउँमा आइपुग्छ । सडक कच्ची छ । अर्जुन खोला र अर्को खोलामा पुलको खाँचो छ । सङ्घीय सरकारको ध्यान पुग्नुपर्छ । गाउँको विकासको लागि सडकको सुधार आवश्यक छ । दाङबाट जान बबई नदी पार गरेपछि उकालो चढ्नुपर्छ । यो पैदल मार्ग हो । मालेको लेकमा बिसौना छ । जहाँ भ्यूटावर पनि छ । करिब ४ घण्टाको पैदल यात्रा पछि चाक्लिघाटको गौशालामा पुगिन्छ ।
यो मार्ग जङ्गलको बाटो हो । जहाँ हिंस्रक जनावर पनि भेटिन्छन् । यस्तो ठाउँमा टावर बनाउँदा पानी, घुमफिरको महत्व हुनुपर्छ । अनावश्यक ठाउँमा टावरको महत्व हुँदैन । जस्तै मालेको भ्यूटावर एउटा उदाहरण भएको छ । गाउँबस्तीहरुमा हिड्ने सुधारिएको सडकहरु नभएको ठाउँमा भ्यूटावर बनाउनु खर्चको दुरपयोग गर्नु हो राम्रो व्यवस्थापन नगर्नु चाक्लिघाटको गौशाला पनि एउटा उदाहरण नबनोस् भनाई राख्दछु । उपमहानगरपालिकाको ध्यान जावस् ।