गोरक्ष समाचारदाता
दाङ, २५ माघ । नेपाली कांग्रेस प्रदेश सभा दाङ क्षेत्र नम्बर २ (ख) आयोजनामा वडास्तरीय अगुवा कार्यकर्ताका लागि एकदिने प्रशिक्षण कार्यक्रम तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा सम्पन्न भएको छ ।
अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले पार्टीलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए । पार्टीका नेता तथा कार्यकर्ता व्यक्तिगत चाहनाभन्दा माथि उठेर संगठन निर्माणमा लाग्न सके आगामी निर्वाचनमा कांग्रेस प्रमुख शक्ति बन्ने बताए । जनताको प्रतिनिधिका रूपमा आफू लुम्बिनी प्रदेश सरकारमा रहेकाले आफ्नो निर्वाचन क्षेत्रसँगै लुम्बिनी प्रदेशमा पर्यटन क्षेत्रको विकाससँगै यातायात क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको बताएका थिए ।
नेपाली कांग्रेस प्रदेश सभा दाङ क्षेत्र नं २ (ख) का सभापति अभियान बस्नेतको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा बोल्ने अन्य वक्ताले राजनीति गर्नेका लागि पद र सत्ताभन्दा जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका थिए । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (ख) प्रदेश सभा उपसभापति ज्ञानबहादुर केसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको उद्घाटनसत्रमा नेपाली कांग्रेस जिल्ला सदस्य पुष्पा डाँंगी, नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, कांग्रेस नेता गोविन्द मजगैयाँ, नेपाली कांग्रेस तुलसीपुर–१९ का सभापति पदम वली, नेपाली कांग्रेस २ (ख) का प्रशिक्षण संयोजक शरद समीपलगातयले मन्तव्य व्यक्त गरेका थिए ।
प्रशिक्षकमा नेपाली कांग्रेसका नेता तथा पूर्व लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरी र नेता गोविन्द न्यौपाने रहेका थिए । कार्यक्रमको सहजीकरण प्रदेश सभा सचिव तिलक केसीले गरेका थिए ।