किशोरीलाई प्रजनन् स्वास्थ्य र आत्मरक्षा शिक्षा

गोरक्ष समाचारदाता
दाङ, २५ माघ । बंगलाचुलीमा किशोरीहरूलाई प्रजनन् स्वास्थ्य र आत्मरक्षासम्बन्धी शिक्षा प्रदान गरिएको छ । बंगलाचुली गाउँपालिकाको सहयोग र समाज कल्याण केन्द्र नेपालको आयोजनामा शिक्षा प्रदान गरिएको हो । केन्द्रले बंगलाचुलीका आठवटा विद्यालयमा यस प्रकारको शिक्षा प्रदान गरेको हो ।

महेन्द्र माध्यमिक विद्यालय श्रीवारी, सुधा मावि झेल्नेटा, महेन्द्र मावि बोजपोखरा, आधारभूत विद्यालय मर्पेस, सरस्वती मावि जबरकोट, खड्ग मावि हाँसीपुर, डाँफे आधारभूत विद्यालय खमारी चिउरी डाँडा र मावि भेँडाबारी मुलाबारीका किशोरीलाई प्रजनन स्वास्थ्य र आत्मरक्षा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । प्रत्यक विद्यालयमा पुगेर सचेतना शिक्षा प्रदान गरिएको थियो ।

केन्द्रले माध्यमिक विद्यालयका कक्षा ८ देखि १२ सम्म र आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका किशोरीलाई यस प्रकारको शिक्षा प्रदान गरेको केन्द्रका अध्यक्ष निर्मला गौतमले जानकारी दिइन् । किशोरी अवस्थामा देखापर्ने शारीरिक परिवर्तनबारे जानकारी दिनुका साथै त्यसबेला आफूले गर्नुपर्ने कामको बारे जानकारी दिने, कसरी समाजमा सुरक्षित रहन सकिन्छ भन्नेबारे जानकारी दिने उद्देश्यले शिक्षा प्रदान गरिएको उनले बताइन् ।

आठ विद्यालयमा करिब पाँच सय किशोरीलाई यो शिक्षा प्रदान गरिएको केन्द्रका सचिव जानका केसीले जानकारी दिइन् । प्रशिक्षकमा यादव गिरी र जानका केसी रहेका थिए । कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन सुवास, उपाध्यक्ष भक्तबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, विद्यालयका प्रधानाध्यापक, केन्द्रका पादाधिकारीलगायतको सहभागिता रहेको थियो ।