दुर्घटनाका घाइतेलाई अस्पताल पु¥याउँदा …

गोरक्ष समाचारदाता
दाङ, २५ माघ । माघ २४ गते बिहान १० बजेर १५ मिनेट गएको थियो । घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तुलसीपुरबाट पोखरा जाँदै गरेको बस दुर्घटना भएको र घाइते २७ जना अस्पताल आउँदै गरेको खबर आयो ।

बिहान १० बजेर ३० मिनेट जाँदा दुई एम्बुलेन्स साइरन बजाउँदै प्रतिष्ठान पुगे । एम्बुलेन्सबाट घाइते झार्न अस्पतालका आकस्मिक कक्षमा मानिस नै थिएनन् । एकछिन्पछि ठुलो बस घाइते लिएर अस्पताल प्राङ्गणमा आइपुग्यो । दुर्घटनामा कसैको हात भाँचिएको, कसैका खुट्टा भाँचिएको, कसैको टाउको फुटेको थियो भने घाइते चिच्याइरहेका थिए । बल्लतल्ल अस्पतालका केही कर्मचारी आए र उपचार सुरु भयो तर सात घाइतेलाई कसैले खोजी नगरेका कारण बसभित्रै छटफटाइरहे, त्यो अस्पतालले थाहै पाएन ।

यो घटना वास्तविक नभई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विहीवार घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विपद्को समयमा अस्पतालले गर्ने उपचार कस्तो हुन्छ भन्नेबारे अस्पताललाई केही विषयमा मात्रै सूचना दिएर आयोजना गरेको वास्तविक कार्यक्रम थियो । घाइते बिरामी अस्पताल पुगेलगत्तै एक जनाको मृत्यु भयो । टाउकोमा रगत जमेको र अस्पतालमा न्युरो सर्जनको सेवा नभएकाले रिफर गर्न बिरामीका आफन्तले भने तर प्रतिष्ठानमा एम्बुलेन्स सेवा नै थिएन । बल्लतल्ल एउटा एम्बुलेन्स आयो तर अस्पतालमा एम्बुलेन्सको सिन्डीकेट भएका कारण दुई एम्बुलेन्स चालक नै बिरामी आफूले लग्न पाउनुपर्ने भन्दै आकस्मिक कक्ष अगाडि झगडा गर्न थाले ।

यी सबै कुराले घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवालाई गिज्याइरहेको थियो । कर्मचारीको आपसी समन्वयन हुँदा बिरामीले सास्ती खेपिरहेका थिए भने एक वार्डमा पठाउने घाइतेलाई अर्को वार्डमा जानुपर्ने बाध्यता थियो । दुर्घटनाको खबर पाएपछि अवस्था बुझ्न केही सञ्चारकर्मीका साथ अस्पताल पुगेका दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिज्ञासा राख्दा दुर्घटना कहाँ भएको ? कति जना घाइते छन् र घाइतेको अवस्था के छ ? भन्नेबारे अस्पतालका कसैले पनि जानकारी दिन सकेनन् । जसबाट सूचना तथ्याङ्क अद्यावधिकमा अस्पतालको कतिसम्म कमजोरी छ भन्ने कुरालाई देखाएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।

अस्पतालमा पर्याप्त कर्मचारी हुँदा पनि दुर्घटनाका घाइतेको उपचारमा नर्सिङ पढ्दै गरेका विद्यार्थीलाई प्रयोग गर्नुपरेको थियो । विपत्का समयमा अस्पतालले पु¥याउने स्वास्थ्य सेवाबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अभ्यासपछि आयोजना गरिएको समीक्षात्मक कार्यक्रममा अस्पतालका सहरजिस्ट्रार डा सुरेश रसाइलीले अस्पतालबाट कमीकमजोरी भएको र विपत्को समयमा उपचारका लागि प्रतिष्ठानले गर्नुपर्ने तयारीमा ध्यान दिने बताए । समयमै सूचना पाउँदा पनि प्रतिष्ठानको पक्षबाट गर्नुपर्ने तयारी नभएको, आपसी समन्वय नहुँदा उपचारमा घाइतेले सास्ती बेहोर्नु परेको जस्ता कमजोरी भएको स्वीकार गर्दै सहरजिस्ट्रार रसाइलीले भने, ‘आजको पूर्व अभ्यास कार्यक्रमले प्रतिष्ठानलाई विपत्को समयमा कसरी तयारी गर्नुपर्छ भन्ने विषयमा गम्भीर बन्न सिकाएको छ । यसतर्फ हामीले ध्यान दिने छौँ ।’

अस्पताल पुगेपछि उपचार सेवा पाउँछु र म बाँच्छु भन्ने मनोविज्ञानका साथ अस्पताल पुग्ने बिरामी अस्पतालमा हुने ढिलासुस्ती र लापरवाहीका कारण अकालमा मृत्युवरण गर्ने अवस्थाबारे अस्पताल जिम्मेवार बन्नुपर्ने सहभागीले बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जिल्लाको ठुलो अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कागजी रूपमा सेवा प्रवाह राम्रो भए पनि वास्तविकता फरक देखिएको बताए । हरेक खालका विपत्ति जुनकुनै समयमा हुनसक्ने भएकाले अस्पताल जस्तो संवेदनशील क्षेत्रले विपत्का समयमा गर्नुपर्ने अन्तिरक तयारीका सन्दर्भमा कमजोर रहेको भन्दै मन्त्रालयका प्रवक्ता बुढाथोकीले दुई हप्ताभित्र सुधार गर्न निर्देशन दिए ।

यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु गरेको प्रतिष्ठानलाई आफ्ना सेवालाई प्रभावकारी बनाउने अहिलेको मुख्य चुनौती बनेको छ । केही दिनपछि प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने र प्रतिष्ठानको सिनेट बैठक बस्ने कुरा छ । प्रतिष्ठानमा रहेका यस्ता कमीकमजोरीबारे कुरा उठ्लान कि नउठ्लान् ?