धर्म कर्ममा सुधार गर्न आवश्यक छ

एकराज शर्मा अधिकारी

पहिलेको युगमा धर्म प्रधान थियो । अहिले कर्म प्रधान भएको छ । पदिय जिम्मेवारीपूर्वक लोकहितका लागि गरिने कर्म सच्चा कर्म हो । आजकाल फलको कामना नगर्ने मानिस पाइँदैनन् । सबैले फलको आशा गरेर कर्म गर्छन् । मानिसको चित्त शुद्ध छैन । मन शुद्ध छैन । वुद्धि शुद्ध छैन । अहंकार बढेको छ । शास्त्रले कर्म नित्य गर्नुपर्छ भन्छ ।

दिनदिनै गरिने कर्म नै नित्य कर्म हो । हामी जे जति काम गर्छौ त्यो शुद्ध हुनुपर्छ । कुनै पनि काम गर्दा अरुलाई हानी नपुग्ने गरी कर्म गर्नुपर्छ । कर्म मन, बचन र शरीरद्वारा गरिन्छ । आजकाल मानिसले यज्ञ पनि गर्छन्, दान पनि गर्छन्, व्रत पनि गर्छन् तर गौढ रुपले गर्छन् । अहिले जातिपाति भेदभाव अन्त्य भएको छ भनेर शुद्रले पनि ब्राहमणको कर्म गर्न लागेका छन् । भक्ष अभक्षको विचार कसैले गर्दैन, ब्राहमणहरुले पनि वेदले बताएको कर्मलाई छाडेर अन्य वर्णको क्रममा लागेका छन् । त्यसैले मानिसमा शारीरिक शक्ति कम हुँदै गएको छ । बल बिर्य पराक्रम कम हुँदै गइरहेको छ । मानिसको बोलीमा सत्यता छैन ।

नजान्ने मानिसले पनि आफूलाई जान्ने मानिस ठान्दछन् । सुगन्धित पुष्पको सुगन्ध घट्दै गएको छ । रसिला फलहरु स्वादिष्ट हुन छाडेका छन् । ब्राहमणहरुले वेद बेच्न थालेका छन् । व्यापारीहरुले पनि कम नाप तौल गराएर सामान बेच्न थालेका छन् । धार्मिकहरु गरिब हुँदै गइरहेका छन् । पापीहरु उन्नती हँदै गइरहेको छ । धनको मदले मानिस अन्धा भएका छन् । सोह्र वर्षको उमेर नहुँदै मानिसको कपाल फुल्न थालेको छ । नारीहरुले पनि आफ्नो आचरण बिगार्न थालेका छन् । देह व्यापार गर्न थालेका छन् । आजकालको वैज्ञानिक उपकरणले यो कुरा छर्लंग पारेको छ । आफ्नो पति जिवित हुँदै नारीहरुले पर पुरुषहरुसँग वेविचार गर्न लाएको देखिन्छ ।

युग धर्मले वर्षा कम हुन थालेको छ । भोकमरी बढ्दै गएको छ । पण्डितहरुले पनि धर्मको जाल फैलाएर अर्कालाई ठगिरहेका छन् । कुनै ज्ञान दिँदैनन् । मानिसहरु वन शंकर भएका छन् । मानिसले कृषि प्रधान देशमा गाई भैँसी पाल्न छोडेका छन् । हाम्रो देश कृषि प्रधान देश हो । कृषिलाई प्राथमिकता दिनु पर्ने हो तर व्यापारलाई, नोकरीलाई प्राथमिकता दिएको छ । पशुपालन गर्नेलाई विवाह गर्दा छोरी नै पाइँदैनन् । झोलामा ल्याएर खानेलाई नारीहरुले पनि मन पराउँछन् । धेरै मानिस नास्तिक भएका छन् । सत्कर्म गर्ने मानिस किनारमा लागेका छन् । आत्म प्रशंसा गर्नेको समाजमा सम्मान हुन थालेको छ ।

पहिले नारीलाई मागेर विवाह गर्ने चलन थियो । आजकाल विवाह गर्दा माग्नु नै पर्दैन । आफूले रोजेर पति छान्दछन् । आजकाल जातिपाति हराएको छ । नजान्नेले पनि धर्मको व्याख्या गर्दै हिड्न थालेका छन् । भेषभुषाको अस्तित्व घटेको छ । सबैको भेषभुषा एउटै रहेको छ । यो युगको प्रभाव हो । यो रोकेर रोकिँदैन । युग अनुसार चल्नै पर्छ भनेर हामीले आफ्नो परिचय गुमाउँदै गइरहेका छौँ । धर्म र कर्मले नै हाम्रो रक्षा गर्छ भन्ने कुरा आमसिक रुपले भए पनि पालना गर्नसके हाम्रो अस्तित्व गुम्ने थिएन । हामीहरु दिनानुदिन असुरक्षित हुँदै गइरहेका छौँ । धर्म र कर्म युग अनुसार हुन्छ भनेर चुप लागेर बस्नु हुँदैन । मनलाई परिवर्तन गर्न सकिन्छ, कर्मलाई परिवर्तन गर्न सकिन्छ तर युगलाई परिवर्तन गर्न सकिँदैन । त्यसैले धर्म कर्ममा सुधार गर्न आवश्यक छ ।