सुरक्षित आप्रवासनसम्बन्धी कार्ययोजना

गोरक्ष समाचारदाता
दाङ, २४ माघ । लुम्बिनी प्रदेशमा सुरक्षित आप्रवासनसम्बन्धी कार्ययोजना बनाइएको छ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयले सुरक्षित आप्रवासनसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रदेशमा प्रभावकारी भएको निष्कर्ष निकाल्दै यसलाई थप अभिवृद्धि गर्ने गरी कार्ययोजना बनाइएको हो ।
प्रदेशमा सुरक्षित आप्रसान (सामी) कार्यक्रम सञ्चालन भइरहेको छ । बुधवार मन्त्रालयमा बसेको प्रदेश स्तरीय समन्वय समितिको बैठकले सामी परियोजनाले गरेका हालसम्मका कामको समीक्षा गर्दै यसलाई अझ अभिवृद्धि गर्ने निष्कर्ष निकालेको हो । यो परियोजना अन्तर्गत सुरक्षित वैदेशिक रोजगार, वैदेशिक रोजगारीका क्रममा हुने गरेका ठगीलगायतका विषयमा पैरवी हुँदै आएको छ ।
‘सुरक्षित आप्रवासनसम्बन्धी जनचेतना अति महत्वपूर्ण कार्य हो, अहिले सामी परियोजना अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीका लागि महत्वपूर्ण कदम चालिएको छ’, बैठकका अध्यक्ष तथा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘सुरक्षित वैदेशक रोजगारीका लागि तीनै तहका सरकारसँगै सबै सरोकारवालाको चिन्तन र सक्रियता आवश्यक छ ।’
बैठकले सुरक्षित आप्रवासनका लागि यो परियोजनालाई विस्तार गर्नेे निर्णय गरेको छ । साथै सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना कार्यक्रमलाई अझ बढावा दिने निर्णय बैठकले गरेको छ । बैठकमा सुरक्षा निकायका प्रतिनिधिले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि सबैको साझा सक्रियता आवश्यक रहेको बताएका थिए ।