सिद्धार्थ हस्पिटालिटीको २७औँ वार्षिकोत्सव

गोरक्ष समाचारदाता
देउखुरी, २४ माघ । लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले सिद्धार्थ होटेल ग्रीन लुम्बिनी प्रदेशकै गौरवको रूपमा रहेको बताएकी छन् । सिद्धार्थ हस्पिटालिटीको २७औँ वार्षिकोत्सवको अवसरमा बुधवार सिद्धार्थ होटल ग्रीन लुम्बिनीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख योगीले होटेल स्थापनाले लमहीमा आर्थिक आयलाई बढाउने काम गरेको बताइन् ।

ठुलो होटेलका रूपमा सञ्चालित होटेलले स्तरीय सेवासँगै रोजगारी प्रदान समेत गरेको बताइन् । उपप्रमुख योगीले स्तरीय सेवासँगै स्वास्थ्यमा ख्याल गर्नुपर्नेमा जोड दिएकी थिइन् । लमही नगरपालिकाका पूर्व नगर प्रमुख कुलबहादुर केसीले सिद्धार्थ होटल ग्रीन लुम्बिनी जस्ता सुविधा सम्पन्न होटलहरू अरू पनि लमही क्षेत्रमा आवश्यक रहेको बताए । लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले सिद्धार्थ होटलले स्तरीय सेवासँगै लमहीलाई आर्थिक रूपमा माथि उठाउने काम गरेको बताएका थिए ।

सिद्धार्थ हस्पिटालीटीको २७औँ वार्षिकोत्सवको अवसर पारेर सिद्धार्थ होटल ग्रीन लुम्बिनीले विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा लमही नगरपालिका–१ मा रहेको सिर्जनशील वृद्धवृद्धा आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई खाना खुवाउने तथा कपडा वितरण, ॐ शान्ति चोकदेखि वडा प्रहरी कार्यालय हुँदै बजार–देउपुर रोडसम्म सरसफाई गरिएको थियो । होटलमा कार्यरत कर्मचारी गोपाल विकलाई उत्कृष्ट काम गरेको भन्दै सिद्धार्थ होटलले प्रमाणपत्रले सम्मान गरेको थियो । होटल म्यानेजर वीरेन्द्र मुडवारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मनरुपा पाण्डेले गरेकी थिइन् ।