Goraksha

National Daily

एक हजार बढीको सहुलियतमा आँखा शल्यक्रिया

गोरक्ष समाचारदाता
तुलसीपुर, २३ माघ । दाङमा एक हजार बढी नागरिकको सहुलियतमा आँखाको शल्यक्रिया गरिएको छ । सिलोम सेन्टर कोरियाको आर्थिक सहुलियतमा एक हजार बढीले आँखाको मोतियाविन्दु तथा अन्य शल्यक्रिया सेवा पाएका छन् ।

नेपाल नेत्रज्योति संघ र सिलोम समेन्टर कोरियाबिच नेपालमा २०२४ मा भएको आँखा शल्यक्रियाको परियोजनाअन्तर्गत नौ सय ४९ जनाको मोतियाविन्दुको फेको प्रविधिबाट शल्यक्रिया र दुई सय ३० जना अन्य आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । सियोल सिटी कोरियाद्वारा प्रायोजित परियोजना सिलोम सेन्टर फर द ब्लाइन्ड दक्षिण कोरियाले नेपाल नेत्रज्योति संघअन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज, लमही आँखा अस्पतालमा लागु हुने गरी परियोजनालाई आर्थिक सहयोग गरेको प्रमुख प्रशासक डा.सम्शेर थापाले जानकारी दिएका छन् ।

परियोजना एक हजार बढीको सहुलियतमा आँखा शल्यक्रिया अन्तर्गत दुई सय ९८ जनालाई चश्मा र औषधीमा ५० प्रतिशत सहुलियत प्रदान गरिएको छ । अत्याधुनिक फेको प्रविधिमा सबैको पहुँच वृद्धिका लागि ५० प्रतिशत सिलोम सेन्टर र ५० प्रतिशत स्वयम् बिरामीको लगानीमा शल्यक्रिया गर्नुपर्ने बिरामीले लागत साझेदारीमा कार्यक्रम परियोजना सम्पन्न भएको प्रमुख प्रशासक डा. थापाले बताएका छन् ।
‘मोतियाविन्दु तथा अन्य सल्यक्रिया गर्नुपर्ने बिरामीले यो वर्ष ५० प्रतिशत छुटमा सेवा पाउनुभएको हो, यसले अत्याधुनिक प्रविधिमा सबैको पहँुच पुगेको छ’, प्रमुख प्रशासक डा. थापाले भने ।

परियोजना अन्तर्गत लमही आँखा अस्पतालबाट चार सय तीन जनाको फेको प्रविधिबाट मोतियाविन्दुको र ५९ जनाको अन्यको शल्यक्रिया भएको छ भने एक जनालाई औषधी चश्मा दिएको छ । त्यस्तै राप्ती आँखा अस्पतालमा चार सय ७७ जनाको मोतियाविन्दुको फेको प्रविधिबाट शल्यक्रिया भएको छ भने एक सय ३४ जना अन्यको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतमले जानकारी दिए ।

त्यस्तै छन्दकालेबाबु नारायणी आँखा अस्पतालबाट ६९ जनाको फेको प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया र ३७ जना अन्यको शल्यक्रिया भएकोहो भने दुई सय ९७ जनालाई चश्मा तथा औषधीका सहुलियत दिएको गौतमले बताए । मोतियाविन्दुसँग अन्य शल्यक्रिया अन्तर्गत अकुलोप्लास्टिक, रेटिना कर्निया र मासु पलाएका बिरामीले सहुलियतमा शल्यक्रिया सेवा पाएका हुन् । परियोजना अन्तर्गत आर्थिक अभावका कारण अत्याधुनिक सेवा लिन नसक्ने अवस्था भएका बिरामीलाई ठुलो मद्दत गरेको बताएको छ ।